फिल्मकी मुख्य पात्र दुई वर्षकी मीरा

एजेन्सी

काठमाडौँ — बलिउडमा शुक्रबार यस्तो फिल्म रिलिज हुँदै छ, जसमा मुख्य कलाकार छिन् केवल दुई वर्षकी अबोध बालिका । धेरैलाई यसको ट्रेलरले नै सिरिङ्ग पारिसकेको छ । सत्य घटनामा आधारित भनिएको ‘पिहु’ ले भने दर्शकमा कस्तो छाप छोड्ने हो ? जान्न निर्देशक/लेखक विनोद काप्री व्यग्र छन् ।

फिल्मकी मुख्य पात्र दुई वर्षकी मीरा

तर यति बेला धेरैले काप्रीलाई सोध्ने प्रश्न हुन्छ– ‘दुई वर्षकी बच्चीलाई अभिनय गराउन गाह्रो भएन ?’ जवाफमा काप्रीले भनेका छन्, ‘जब मैले यो फिल्म बनाउनेबारे सोचें, सबैले मलाई फिल्मांकन गर्न असम्भव हुने डर देखाए ।


सम्भावित निर्माताहरू त दुई वर्षकी बच्चीलाई लिएर फिल्म बनाउनै नसकिने र बने पनि पटयारलाग्दो त्यो बन्ने भन्दै पन्छिन्थे । मैले यिनै कुरालाई दिमागमा राखेर स्क्रिप्ट लेख्दै गएँ । म आफैंलाई पनि लाग्थ्यो, मेरो अगाडि जटिलताको ठूलो पहाड छ । फिल्मभर एउटी बच्चीलाई लिएर दर्शकलाई बाँधिराख्नु चानचुने पक्कै हैन ।’


नेसनल अवार्ड विजेता काप्रीले ‘पिहु’ मा मीरा विश्वकर्मालाई खेलाएका छन् । फिल्मभरि लगभग मीरा मात्रै देखिनेछिन् । काप्रीले लामो समय लगाएर फिल्मको छायांकन सकेका थिए । ‘अरू फिल्मको सुटिङ दिनहुँ १२ घण्टा काम गरेर एक घण्टा खानपानका लागि ब्रेक हुन्छ । तर हामीले दिनमा एक घण्टा काम गथ्र्यौं भने बाँकी समय ब्रेक हुन्थ्यो ।’


काप्रीले मीरालाई छायांकन गर्दा केही टेक्निक अपनाएका थिए । ट्रेलर हेर्दा डरलाग्दो देखिने दृश्यलाई पनि उनले बच्ची खेल्दाखेल्दैको क्रममा खिचिएको सुनाए । भने, ‘फिल्मको सुन्दर पक्ष भनेको मुख्य अभिनेतालाई नै आफूले अभिनय गरिरहेकी छु भन्ने थाहा थिएन ।’


उनका अनुसार छायांकनका क्रममा सुरक्षाका उपाय अपनाइएको थियो भने सेटमा तीन–तीन क्यामेराले एकसाथ खिचिएको थियो । ‘किनभने हामीलाई कुनै पनि दृश्यको रि–टेक सम्भव छैन भन्ने थाहा थियो,’ काप्रीले भने ।


त्यसो त निर्देशक काप्री स्वयं पनि फिल्म फलोरमा जाँदासम्म पनि विश्वस्त थिएनन्, फिल्मको छायांकन सोचेअनुरुप सकिएला भनेर । उनले निर्मातालाई भनेका थिए, ‘चारपाँच दिन खिचेर हेरौं, चित्तबुझदो भएन भने हापिदिऔँला ।’ तर त्यसो गर्नुपरेन ।


काप्रीलाई मीराका अभिभावकले राम्रो सहयोग गरेछन् । छायांकनको हरक्षण अभिभावक भएर पनि काम गर्न सहज भएको निर्देशकले बताए । फिल्म एउटा घरमा एक्लै थुनिएकी दुई वर्षीया बच्चीले गर्ने व्यवहारमा आधारित छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?