कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

म्युजिक भिडियोको फस्टाउँदो बजार

दिनहुँ छ–सात वटा र बिदाका दिन पन्ध्र–बीस वटासम्म भिडियोको निर्माण 
मोडलहरूको पारिश्रमिक प्रतिभिडियो ३० हजारदेखि १ लाख ५० हजारसम्म 
महँगा मोडलहरूमा पल शाह, पुष्प खड्का र आँचल शर्मा
कान्तिपुर संवाददाता

काठमाडौँ — केही घण्टाको काम अनि एक लाख रुपैयाँ पारिश्रमिक । पुष्प खडका अहिलेका ती महँगा म्युजिक भिडियो मोडलमध्ये एक हुन्, जो प्रतिभिडियो लाखसम्म पारिश्रमिक बुझ्छन् ।

म्युजिक भिडियोको फस्टाउँदो बजार

६ वर्षअघि उनले पहिलो भिडियो खेल्दा ३ हजार रुपैयाँ लिएका थिए । शिव परियारको ‘पिलायो साथीले...’ मा देखिएपछि उनको माग बढ्यो, अनि भाउ स्वत: ।


फिल्मबाट थप ख्याति कमाएपछि पुष्पलाई लाखौं तिरेर भए पनि आफ्नो म्युजिक भिडियोमा राख्न चाहनेहरू जन्मिएका छन् । उनले चाहिँ जति पनि भिडियो खेल्न छोडेर छनोटमा ध्यान दिन थालेका छन् । ‘पहिले–पहिले महिनाका १६ वटासम्म भिडियोमा मोडलिङ गरेँ,’ तुलसी घिमिरेको ‘दर्पण छाया २’ फिल्ममार्फत ठूलो पर्दा प्रवेश गरेका उनले सुनाए, ‘अब छानेर महिनाको एकदुइटा मात्रै गर्न थालेको छु । फिल्मको कामले त्यो पनि भ्याउँदिनँ ।’ ।


म्युजिक भिडियोमा पुष्पझैं महँगा अर्का मोडल हुन्, पल शाह । उनी प्रतिभिडियो एक लाखभन्दा बढी पारिश्रमिक बुझ्छन् । पलसँगै देखिने आँचल शर्मा महिलातर्फकी महँगी म्युजिक भिडियो मोडल मानिन्छिन् ।


भिडियो निर्देशक गम्भीर विष्टका अनुसार मोडलहरूले न्यूनतम ३० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । ‘तर, अचेल आफैं लगानी गरेर मोडल बन्नेहरू धेरै छन्,’ उनले ठटयौलो शैलीमा भने, ‘सोखिन गायक, सोखिन मोडलले गर्दा हामीले चाहिँ प्रशस्त काम पाइरहेका छौं ।’

एलिशा राई, स्वस्तिमा खड्का, सुशान्त खत्री, प्रियंका कार्की, सृष्टि श्रेष्ठ, माला लिम्बू, ज्योत्स्ना योगी, निराजन प्रधान, आकाश श्रेष्ठ जस्ता कलाकारहरू म्युजिक भिडियो मोडलिङका चल्तीका नाम हुन् । उनीहरूमध्ये अधिकांश फिल्मतिर छन् । फिल्ममा लागेर मोडलिङ कम गरे पनि यो क्षेत्र चटक्कै छोड्न सकेका छैनन् ।


‘मैले फिल्मबाट करिअर सुरु गरेँ,’ आँचलले भनिन्, ‘मोडलिङमा अफर आयो । कलाकार भएपछि जुन माध्यमबाट पनि कला देखाउनु त हो भन्ठानेर भिडियो गर्न थालेकी हुँ ।’


दुई वर्षअघि जन्म राईको ‘यो सास...’ गीतबाट भिडियोमा डेब्यु गरेकी आँचल हालसम्म ३५ म्युजिक भिडियोमा देखिएकी छन् । पुष्पको चाहिँ झन्डै ४ सय म्युजिक भिडियोमा काम गरेको अनुभव छ । उनी पनि फिल्म र म्युजिक भिडियोलाई सानो–ठूलो भनेर भेदभाव गर्न चाहँदैनन् । कलाकारका रूपमा आफूले दुवै माध्यमको सम्मान गरेको उनले बताए ।


पुष्प खड्का र एलिशा राई


‘अचेल युटयुब लक्षित भिडियो बन्छन्,’ उनले भने, ‘भिडियोको भर पर्ने चलन पनि छ । तर, अडियो नै राम्रो नभए जतिसुकै भव्य भिडियो बनाए पनि त्यो चल्दैन ।’


आँचलले प्रतिभिडियो ७० हजार रुपैयाँसम्म लिने गरेकी छन् । स्वस्तिमा र प्रियंका पनि निकै माग भएका मोडेल हुन् । ‘पहिले–पहिले केकी अधिकारीलाई म्युजिक भिडियोकी क्विन भनिन्थ्यो,’ निर्देशक सुव्रत आचार्यले भने, ‘त्यो बेला रिमा विश्वकर्मा, वर्षा राउतहरू पनि चलेका थिए । पुरुषमा चाहिँ प्राय: गायक आफैंले अभिनय गर्ने गरेका छन् ।’


आँचल, माला, ज्योत्स्ना लगायत मोडलहरू ‘चुजी’ भइरहेका बेला एलिशा राईको व्यस्तता मौलाएको छ । उनी म्युजिक भिडियोमा सर्वाधिक देखिने मोडल हुन् ।


लोकेसन हेरी खर्च

गोदावरी, धुलिखेल, नगरकोटलगायत काठमाडौं आसपासमै म्युजिक भिडियोहरू खिच्ने गरिएको छ । टाढामा पोखरा, चितवन र दोलखाको कालिञ्चोक पुग्ने गरेको गम्भीरले जनाए । ‘कोही–कोहीचाहिँ भिडियोको प्याकेज लिएर मनाङ–मुस्ताङ पनि पुग्छन्,’ उनले भने, ‘त्यो बेला थुप्रै गीत लिइन्छ । एउटै भिडियोका लागि टाढा जानु खर्चिलो हुन्छ ।’


गम्भीरले पछिल्लो पटक अहिलेसम्मकै सर्वाधिक बजेटको भिडियो ‘ए मान्छे...’ मा कोरियोग्राफरका रूपमा गरेको बताए ।


सचिन रौनियारको उक्त गीतको भिडियोलाई १५ लाख रुपैयाँ खर्चिएको गम्भिरको भनाइ छ । यसको निर्देशन सुव्रतले नै गरेका हुन् । आचार्यले निर्देशन गरेको ‘मन मगन...’, ‘पिरिम नलाउने...’ जस्ता म्युजिक भिडियो राम्रो चले ।


फिल्ममा झैं सिंगल ट्रयाकहरू पनि डान्सिङ नम्बरका बन्ने गरेको निर्देशकहरू बताउँछन् । गजल र शास्त्रीय गाउनेले समेत डान्सिङ बिटका लोक–पप गीत निकाल्न थालेको गम्भीर बताउँछन् । यसले गर्दा डान्स समूहहरूले पनि रोजगारी पाइरहेको उनको भनाइ छ । कार्टुन्ज क्रु, भीमफेदी गाइज, वायल्ड रिपर्ज, द नेक्स्टजस्ता समूह म्युजिक भिडियोकै कारण स्थापित भएका छन् ।


फिल्मी गीतले बजार ओगटे पनि म्युजिक भिडियोको बजार नसुस्ताएको सुव्रतको भनाइ छ । फिल्म र म्युजिक भिडियोका आआफ्नै दर्शक हुने उनले बताए । गम्भीरका अनुसार अचेल दिनमा ६/७ वटा भिडियो बन्छन् । शनिबार त १५/२० वटासम्म सुटिङ हुने गर्छन् । ‘म आफैं पनि हप्तामा ४/५ वटा भिडियो निर्देशन गर्छु,’ उनले भने, ‘निर्देशक, कोरियोग्राफर, मोडल, प्राविधिक टोली सबैले राम्रो रोजगारी पाइरहेका छौँ ।’

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?