१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाँसुरी संसार

सुनीता साखकर्मी

काठमाडौँ — कोही स्केलको नापअनुसार बाँसमा प्वाल पार्दै थिए त कोही प्वाल पारिसकेकोमा खाक्सी दल्दै । साँघुरो कोठामा एक बित्तादेखि झन्डै एक मिटरसम्मको बाँसुरी छरिएका थिए । खाक्सी लगाएर चिल्लो पारिएको बाँसुरीमा योगेन्द्र खड्का नाइलनको धागो बेर्नमै व्यस्त देखिन्थे । 

बाँसुरी संसार

काठमाडौंको काँडाघारी । हालैको भेटमा बाँसुरीवादक योगेन्द्र र उनका दुई साथीहरू टंकनाथ घिमिरे र अच्युत थापा मगर मिलेर बाँसुरी बनाइरहेका थिए ।


योगेन्द्रले बाँसुरी बनाउन थालेको १५ वर्ष बितिसकेको छ । ‘हामी स्केल अनुसारका बाँसुरी बनाउछौँ,’ थुप्रै बाँसुरीवादकका गुरु योगेन्द्रले भने, ‘स्केलअनुसार बाँसको लम्बाइ र प्वालबीचको दूरी फरकफरक बनाउनुपर्छ ।’ योगेन्द्रले बनाएका बाँसुरी नेपालका विभिन्न स्थानीय बाँसुरीवादकदेखि ब्यान्ड र अमेरिकासम्म निर्यात हुने गरेको छ ।


योगेन्द्र बाँसुरी बनाउने मात्रै नभई कुशल बाँसुरीवादक पनि हुन् । उनका अनुुसार बाँसुरी बजाउनलाई मात्रै नभई बनाउनेलाई पनि सुर, ताल र रागहरूको ज्ञान हुनुपर्छ । २०२७ मा झापा जुरोपानी ७ दुधाली गाउँमा जन्मिएका योगेन्द्रको बचपन बाँसुरीको धुनमै बित्यो । गोठालो जाँदा होस्, मन्दिरमा पूजा गर्न जाँदा होस् या रेडियो सुन्दा उनलाई त्यहाँ बज्ने बाँसुरीका धुनहरूले आकर्षित गर्‍थ्यो ।


बासको ठूलो घारी हुने भएकाले उनले आफैले चारवटा प्वाल भएको बाँसुरी आफैं बनाएर बजाएको अझै सम्झिन्छन् । पछि ठूलो भएपछि बजार जाँदा मात्रै उनलाई बाँसुरीमा छ वटा प्वाल हुन्छ भन्ने थाहा पाए । ‘बाँसको टुप्पो काटेर बाँसुरी बनाउँथ्यौं,’ उनले भने, ‘तर हामीलाई बाँसुरीको ‘स्केल’ थाहा थिएन । बजे पुग्थ्यो । गाउँमा बिहे, पूजा, मेला पर्व हुँदा पनि बजाउथ्यौँ ।’


त्यतिखेरका चर्चित गीत ‘मेरी फूलमाया के छ विचार..’, ‘चरीमा ज्यानले गुडैमा लायो..’, ‘साँघुरी वारि नि, साघुरी पारि नि..’, ‘फूलको थुँगा बहेर गयो..’, ‘वसन्त नै बस्न खोज्छ..’ लगायत गीतहरू दुरुस्तै बजाउन जानिसकेका थिए उनको समुहले । गाउँका अल्लारे युवा बटुलेर राति ११ बजे ‘माइतीघर’ फिल्म हेर्न गएको घटना सम्झिँदै उनले भने, ‘माइतीघर फिल्मको ‘वसन्त नै बस्न खोज्छ...’ गीतको बाँसुरीको धुन सुनेर बजाउन सिक्न त्यो फिल्म १५/२० पटक सम्म हेर्‍यौँ ।’ जहाँ गए पनि योगेन्द्र पछाडि कठालोमा बाँसुरी भिरेरै हिँड्थे ।


गोठालो जाँदा गाईवस्तु छोडिदिएर आफूभन्दा जान्ने बाँसुरी बजाउने भेटिए उनकै पछि लागेर बजाउने गर्थे योगेन्द्र । उनले झापाका रिठ्ठे दाइ (पलबहादुर विश्वकर्मा), जीवन दाहाल, रिन्टु सतारसित पनि बाँसुरी सिके ।


प्राथमिकतामा सिकाइ

अरूको घरमा रेडियो नेपाल वा अल इन्डिया रेडियोमा बजेका गीत बाँसुरीमा उतार्ने कोसिस जारी हुन्थ्यो उनको । रेडियो नेपालबाट प्रसारण हुने ‘चौतारी’ कार्यक्रमको लोकदोहोरी सुन्थे । २०४७ को अन्त्यतिर एसएलसी दिएपछि काठमाडौं आएर रेडियो नेपाल छिरे उनी ।


चौतारी कार्यक्रममा बाँसुरी बजाउने रामबहादुर जिम्बाको नाम सुनिरहेकाले उनले रेडियो नेपालमा शुरुमै जिम्बालाई भेटे । ‘उहाँलाई भेट्दा बाँसुरीको भगवान् नै भेटेको महसुस गरेँ,’ उनले भने, ‘उहाँले नै पहिलोपटक बाँसुरीमा पनि सारेगम हुने कुरा जानकारी दिनुभयो ।’ रामबहादुरले नै योगेन्द्रलाई बाँसुरी पनि किनिदिए । बाँसुरीवादक जेबी लामालाई पहिलोपल्ट उनले देखे तर बोल्न पाएनन् ।


त्यसपछि योगेन्द्रले धेरैलाई बाँसुरी सिकाउन गुहारे । तर कसैले उनलाई सिकाएनन् । एक दिन भोटाहिटीको रत्नपुस्तक भण्डारमा बाँसुरीसम्बन्धी किताब सोध्दै पुगे । बाँसुरीवादक अरविन्द धितालले उनलाई किताब दु्रत गतिमा मगाइदिन्छु भनेर आश्वासन दिए । एक हप्तापछि जाँदा ‘सात दिनका बाँसुरीवादन कोर्स’ हिन्दी पुस्तक उनले पाए ।


उनको गुरु त्यही किताब भयो । त्यसबाट उनले बाँसुरीको सारेगमदेखि १२ वटा नै स्वरबारे ज्ञान पाए । अलंकार, राग, नोटेसन सिके । केही महिनापछि रत्नपार्कमा बदम खाँदै गरेको जेबी लामालाई दोस्रोपटक भेटे । जेबीले नै उनलाई २०४९ मा साधना कला केन्द्रमा बाँसुरी कक्षामा भर्ना गर्न लगाए । ‘पहिलो दिन नै जेबी लामाले सारेगम कसलाई थाहा छ भनेर सोध्नुभयो । १५/२० जनाको कक्षामा मैले फिल्मी धुनहरू ८, १० वटा सुनाएँ,’ उनले भने, ‘त्यसपछि जेबी गुरुले म रेकर्डिङमा व्यस्त हुन्छु, तिमी सिकाउ भनेर जिम्मा दिनुभयो । सिक्न गएको, तर सिकाउनु पो पर्‍यो ।’


२०५१ तिर पशुपति डुल्दै गर्दा किरातेश्वर संगीत आश्रममा मनोज सिंह भेट्टाए । उनले मनोजलाई सिक्ने इच्छा जाहेर गरेपछि सिफलमा गुरु मदनदेव भट्ट कहाँ पुगे, शास्त्रीय राग सिके । तर उनको सिक्ने भोक मरेन । ‘अरू साथी बजाएर पैसा कमाउनतिर लागे,’ उनले भने, ‘म चाहिँ कमाउन भन्दा पनि सिक्नतिरै लागे ।’ त्यसपछि उनी फेरि साथीहरू जीवन आले र रमण महर्जनसित कलानिधि इन्दिरा महाविद्यालयमा मोहनप्रसाद जोशीसित सिक्न पुगे ।


गन्धर्व संगीत विद्यालय, भारत बम्बईका पण्डित हरिप्रसाद चौरसियादेखि दादर स्टेसनमा पण्डित रोनु मजुमदारसित पनि उनी गुरु थाप्न पुगे । योगेन्द्रका अनुुसार प्रविधिको विकासले गर्दा अहिले गुरु खोज्दै भांैतारिनु नपर्ने अवस्था आइसकेको छ । युटयुबमा हेरेरै पनि सिक्न सकिन्छ । भर्खर इन्टरनेट नेपालमा आएको त्यो बेला गुगल सर्च भन्न नजानेर गोग्ले सर्च भन्दै बाँसुरीका भिडियो खोजेको सम्झिँदै उनले भने, ‘सिक्ने इच्छा भयो भने अहिले अनलाइन क्लासदेखि युटयुबमा पनि थुप्रै भिडियो हेरेर सिक्न सकिन्छ ।’


बाँसुरीको स्वर स्थूल शरीरबाट आत्माको गहिराइलाई छुने खालको बजाउन नसकुन्जेल सिक्नुपर्ने उनी बताउँछन् । उनी अहिले केही विद्यार्थीलाई नि:शुल्क सिकाउँछन् । नवीन ढकाल योगेन्द्र कहाँ नै सिक्न पुगेका छन् । पहिले उनी भागवत् महासप्ताहमा बजाउँदै हिँडथे । अहिले उनी लोकदोहोरी साँझमा बजाउँछन् । ‘पहिले इन्स्टिच्युटमा सिक्दा सिकाउँछु भनेर कहिले सिकाएनन् । मासिक रूपमा पैसा लिन मात्रै इन्स्टिच्युटमा सिकाए,’ उनले भने ।


बाँसुरी बनाउने यात्रा

२०६१ मा बाँसुरी बनाउन सुरु गरिसकेका थिए उनले । भारतबाट ई स्केलको बाँसुरी मगाउँदा पाँच हजार भारु तिर्न परेपछि उनी आफैंले बाँसुरी बनाउनतिर लागेका हुन् । अहिले उनी भारतबाट बाँसुरी हैन, बाँस मगाउँछन् र बाँसुरी बनाउँछन् ।


सस्तोमा राम्रो बाँसुरी दिने गरेकोले उनकोमा बाँसुरीको डिमान्ड पनि बढेको छ । बाँसुरीसम्बन्धी राम्रो ज्ञान भएका जो कोहीले राम्रो बाँसुरी बनाउन सक्ने योगेन्द्र बताउँछन् । उनका अनुसार संगीतका ७ वटा शुद्ध स्वर र पाँच विकृत स्वर गरी १२ स्वरका २५ थरी बाँसुरी बनाउने चलन छ । ‘हरेक स्वरको आफ्नो स्थान हुन्छ । एउटाको पाँच हजार तिरेर किन्नुपर्दा कति पैसा जान्छ ?’ उनले भने, ‘त्यसैले आफैं बनाउनतिर लागेँ । अरूले पनि मगाउन थालेपछि व्यवसायकै रूपमा सुरु गरेँ ।’ उनको बाँसुरी अहिले लोकल बाँसुरीवादकदेखि अमेरिकासम्म पुग्ने गरेको छ ।


बाँसुरीको स्केल अनुसार डायमिटर फरकफरक हुन्छ । २५ थरीका बाँसुरी २५ वटै साइजका हुन्छन् । १२ स्केलमा उनले बेस १२, ट्रेबल १२ र एउटा अति तार सप्तकको सी स्केल बाँसुरी थपेर २५ पुर्‍याएका छन् । अति तार सप्तकको अझै केही बाँसुरी थप्न सकिने योगेन्द्र बताउँछन् । ‘वर्षाैंको अनुभवले गर्दा कस्तो बाँसबाट कस्तो स्केलको बाँसुरी बन्छ भन्ने अन्दाज भइसक्यो,’ उनी भन्छन् । तर बाँसको अभाव भयो भने एउटै बाँसबाट तीनवटा स्केलको बाँसुरी बनाइदिन्छन् उनी, त्यसको मेजरमेन्ट भने फरक हुन्छ ।

परम्परागत रूपमा काठको बाँसुरी पनि बनाइँदै आएका छन् । तर त्यसमा समानान्तर दूरीमा प्वालहरू हुने भएकोले यसमा स्केल मिलाउन गाह्रो हुन्छ । भारतीय पन्नालाल घोसले शास्त्रीय संगीतमा बाँसुरीको स्वर खोजेर सेपमा ल्याएपछि बाँसुरी पनि स्केलअनुसार नै बन्न थालेको हो । ‘जसले पनि बनाएर गोठाले तालमै बजाउँदा नि चलेको थियो,’ उनले भने, ‘तर बाँसुरी नै स्केलअनुसार हुनु जरुरी रैछ ।’


उनले गणितीय रूपमा हिसाब गरेर बाँसुरीको प्वाल दूरी, बाँसुरीको लम्बाइ मिलाएर बाँसुरी बनाउन सिकेका हुन् । स्टाफ नोटेसन एउटै हुन्छ विश्वमा । पाँचवटा धर्कामा के हुन्छ भन्ने थाहा छैन । ‘दुवैको ज्ञान हुनुपर्छ’, उनले भने ।

प्रकाशित : मंसिर २, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?