१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पौभाको पावर

‘मोर्डन आर्ट त जसले पनि गर्छ । मौलिक कला पो बचाउनुपर्छ । विदेशमा हाम्रा मौलिक कलाले कत्रो इज्जत पाउँछ’ 

काठमाडौँ — उनी किमोथेरापी गराइहेका छन् । कहिलेकाहीँ थाक्छन् । तर, बोली फुर्तिलो छ । मीठो हाँस्छन् पनि । चित्र कोर्न छोडेका छैनन् । कलाकार दीपककुमार जोशीलाई यो अथाह शक्ति कसरी प्राप्त भइरहेछ ?

पौभाको पावर

भन्छन्, ‘शरीर जे भए पनि मन गल्दो रहेनछ । कलाको ध्यान र ज्ञानले मलाई यो आत्मशक्ति दिइरहेको हो ।’ अथाह दु:ख र पीडाका बीच पनि उत्प्रेरणा र आत्मबल दिने दीपकका तिनै कलाकृतिको यति बेला बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा प्रदर्शनी भइरहेको छ ।


कलापारखीहरू उनका चित्रमा रमिरहेका बेला उनी भने ग्यालरीसम्म धाएर त्यसरी नै झुम्न सकिरहेका छैनन् । स्वास्थ्य अवस्थाका कारण घरै बस्छन् । शुक्रबार बिहान भने दुई हातले ढाका टोपी मिलाउँदै उनी ग्यालरी आइपुगे ।


नेपाल ललितकला पत्रकार समाजले गरेको ‘कलाका कुरा’ शृंखलामा भाग लिन आएका उनले आफ्नो कला जीवन, कला अनुभूति र समग्र कलाकारिताबारे विचार व्यक्त गरे । उनी नेपालको परम्परागत चित्रकलाप्रति सरकारको उदासिनता देखेर खिन्न छन् । तर, विदेशमा यसले प्राप्त गर्ने मान सम्झिँदा गर्वसाथ धपक्कै मुस्कुराउँछन् ।


‘मोर्डन आर्ट जसले पनि गर्छ,’ जोशीले भने, ‘मौलिक कला पो बचाउनुपर्छ । विदेशमा हाम्रा मौलिक कलाले इज्जत पाउँछन् । यिनले कत्रो जिज्ञासा जगाउँछन् । मौलिक आर्ट लिएर विदेश जाँदा छुट्टै आनन्द महसुस हुन्छ ।’ पौभा चित्रकलामा अग्रणी जोशी देशविदेशका कला संग्राहलय वा ग्यालरीहरू पुगिसकेका छन् । उनका चित्र ठूलाठूला संग्रहालयमा संग्रहीत छन् । नेपाल टेलिभिजनको लोगो बनाएका उनले दस वर्षको छँदादेखि चित्र कोर्न थालेका थिए ।


बज्रयान बौद्धका प्रख्यात पण्डित बद्री गुरुबाट दीक्षित जोशी कलामा अध्यात्म मिसाउन माहिर छन् । उनका चित्र सांस्कृतिक र प्राविधिक दुवै रूपमा सर्वोत्तम मानिन्छन् । मसिना विवरण सर्लक्क टिप्न सक्ने उनी कलाकारले दर्शन बुझ्नु आवश्यक रहेको बताउँछन् । ‘काम मात्र जानेर हुँदैन,’ उनले आफ्ना प्रथम गुरु सिद्धिमुनि शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘अध्ययन र साधना चाहिन्छ ।’ गुरुको यही भनाइ सुनेपछि जोशी कुनै बेला हरेक बिहान स्वयम्भू गएर घण्टौं ध्यान गरेर बस्थे ।


कलाकारले दर्शन बुझ्यो भने मात्रै उसले स्पष्ट चित्र कोर्न सक्ने जोशीको बुझाइ छ । परम्परागत चित्रकलामा दर्शनको महत्त्वबारे बोलिसकेपछि उनले आइकनोग्राफी अर्थात् चित्रकलाको विज्ञानबारे धारणा राखे । आइकनोग्राफीको ज्ञानले आफ्नो जीवन नै परिवर्तन भएको उनको भनाइ थियो । ‘अहिलेको पुस्ताले आइकनोग्राफी राम्ररी फलो नगरेको देख्छु,’ उनले भने, ‘चित्रकलामा हरेक कुराको अर्थ हुन्छ । लाइनहरू ख्याल गर्न छोडिएको छ । पौभाको जीवन नै लाइन हो । लाइट र सेपमा मात्र केन्द्रित भएर पुग्दैन ।’


नेपाल परम्परागत चित्रकला परिषदका संस्थापकमध्ये एक जोशी कुनै बेला नेपाल टेलिभिजनका जागिरे थिए । त्यसअघि तालिम सामग्री उत्पादन केन्द्रमा काम गरे । सन् २००७ मा उनले नेपाल हस्तकला महासंघमा कला शिक्षकको भूमिका निर्वाह गरे भने महासंघमै पौभा/थाङा विभागका संयोजकसमेत बने । पछि आफ्नै विद्यालय खोलेर परम्परागत चित्रकलाको ज्ञान बाँडदै आएका थिए । नेपाल टेभिजनमा छँदा उनले चित्रकलासम्बन्धी कार्यक्रम चलाए ।


‘मलाई सधैं परम्परागत कलाको विकास गर्नुपर्छजस्तो लाग्यो,’ उनले भने, ‘मैले काम थाल्दा पौभाबारे कसैलाई थाहै थिएन । थांका बरु चर्चित थियो । पौभा त लोप भइसकेको थियो । मैले यही हराएको कला ब्युँताउन खोजेँ ।’ मल्लकालदेखि सुरु भएको पौभा चित्रकलामा बौद्ध देवीदेवताको चित्र हुन्छ । यसलाई कतिले नेवार शैलीको थांका पनि भन्छन् । ‘थांका र पौभाका विषयवस्तु एउटै हुन्छन्,’ जोशीले भने, ‘चित्र कोर्ने शैलीचाहिँ फरक ।’ उनले पौभाको अर्थ देवीेदेवताको सन्देश रहेको पनि बताए ।

प्रकाशित : मंसिर २, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?