रातो चिवरमा भिक्षुहरू 

काठमाडौँ — काठमाडौं– बौद्धको सेचेन गुम्बामा बस्छन्, भिक्षु वागेन्द्र सागर । विशेष काम नपरी उनी हत्तपत्त विहारबाट बाहिर निस्किँदैनन् ।

रातो चिवरमा भिक्षुहरू 

शुक्रबार भने उनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको भुइँतल्लामा चित्रकार डेभिड डगलासले ‘लेभिटेसन’ शीर्षक दिएर बुद्ध सेरिजमा गरेको कला प्रदर्शनी हेर्दै गरेको भेटिए । एक साथीलाई समेत लिई ग्यालरीमा आइपुगेका उनले निकैबेर घोरिएर प्रदर्शित पेन्टिङलाई हेरेपछि भने, ‘पेन्टिङमा भएका भिक्षु लामाहरू हेर्दा आफैंलाई छु भन्ने अनुभूति भो ।’


सधंै रातो चिवर लगाउने वागेन्द्रलाई प्रदर्शनीका पेन्टिङहरूमा रातो, पहेलो चिवर लगाएका भिक्षु र लामा देखेकोले यस्तो लाग्नु स्वाभाविक पनि थियो । अमेरिकी प्रभाववादी चित्रकार डेभिडले नेपाल लगायत विभिन्न देशका भिक्षुहरूले हातमा बज्र, कचौरा लगायत लिएर ध्यान गरिरहेको पोट्रेट पेन्टिङ बनाएका छन् । ‘फेसबुकबाट प्रदर्शनीबारे थाहा पाएपछि,’ उनले भने, ‘पेन्टिङमा भिक्षुलाई कसरी प्रस्तुत गरिएको छ भनेर हेर्न आएको हुँ ।’


पेन्टिङ हेर्दा भिक्षुहरू आँखै अगाडि साँच्चिकै ध्यान गर्दै छन् भन्ने भान भएको उनी बताउँदै गए । यो बनाउन धेरै लगनशीलता र मिहिनेत लाग्ने उनले अनुमान लाए । उनी थुपै्र कला प्रदर्शनीहरू पुगेका छन्, थुप्रै पेन्टिङहरू हेरेका छन् । तर, डगलासले जस्तो बौद्ध लामाहरूलाई कमै कलाकारले मात्रै उत्कृष्ट रूपमा उतार्न सकेको उनले दाबी गरे । चिवर लगाएका लामा भिक्षु, आफ्नो समुदायको संस्कार, संस्कृति लगायतका पक्ष ग्यालरी देख्न पाउँदा उनी खुसी देखिन्थे ।


उनका अनुसार परम्परागत बौद्ध कलामा साइज र सेप तलमाथि हुन हुन्न । तर मोर्डन आर्टमा त्यो सीमा छैन । सीमा भत्किएकोमा उनलाई दु:ख पनि लाग्छ । भन्छन्, ‘मोर्डनसँगै परम्परागत मूल्य मान्यतालाई पनि सँगै लान सक्नुपर्छ ।’ डेभिडको चित्र हेर्न शुक्रबार नै आर्ट कलेक्टर प्रतिमा पाण्डे पनि ग्यालरीमा आइपुगिन् । डेभिडको कलाको डिटेलिङ उनलाई निकै उत्कृष्ट लाग्यो ।


कामको सिलसिलामा इटाली लगायत विभिन्न देशमा पुग्दा कला प्रदर्शनी धाएकी उनी प्राय: पोट्रेट पेन्टिङमा डिटेलिङ (विस्तृति) खोज्छिन् । ‘पोट्रेट जस्तो पनि बनाउन सकिन्छ । तर पोट्रेट बनाउँदा कलाकारले सानासाना कुरा पनि पेन्टिङमा उतार्न सके राम्रो हुन्छ,’ उनले भनिन्, ‘डिटेल रूपमा बनाएको पोट्ेरटमा मानिसको भावहरू नै उत्कृष्ट देखिन्छ, यसले दर्शकको मन छुन्छ ।’


प्रदर्शनीलाई दिएको शीर्षक ‘लेभिटेसन’ को अर्थले हावामा उड्ने प्रक्रियालाई जनाउने डेभिड बताउँछन् । डेभिडले पेन्टिङमा भिक्षुहरूले आध्यात्मिक रूपमा ध्यान गर्दै गरेको अवस्थाको चित्रण गरेका छन् । ‘ध्यान गरेर उनीहरू ज्ञान र शक्तिको उच्च तह वा ज्योतिमा पुग्न सक्छन्,’ डेभिड भन्छन्, ‘उच्च तहमा पुगेपछि लामाहरू जमिन छोडेर उड्न थाल्छन् भन्ने विश्वास गरिन्छ ।’ उनी यो शक्तिलाई अलौकिक शक्तिको रूपमा व्याख्या गर्छन् ।


साथै उनी यसलाई शारीरिक शक्तिको देन पनि मान्छन् । सानैदेखि चित्र कोर्ने डेभिडले फ्रान्सको पेरिसमा चित्रकलासम्बन्धी तालिम लिएका थिए । उनको यसअघि पनि देश तथा विदेशमा थुप्रै प्रदर्शनीहरू भइसकेको छ । प्रदर्शनी मंसिर १३ गतेसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?