१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लिटरेचर फेस्टिभल पोखरामै

काठमाडौँ — यस वर्ष पनि नेपाल लिटरेचर फेस्टिभल पोखरामा हुने भएको छ । सातौं संस्करणमा चलिरहेको उक्त फेस्टिभल आउँदो पुस ७ देखि चार दिन फेवाताल किनारको रत्न मन्दिर चौरमा हुने बताइएको छ । 

फेस्टिभलबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार खगेन्द्र संग्रौलाले फेस्टिभल लेखकका लागि उत्सव जस्तै हुने बताए ।


पुस्तकमा पुर्खाका इतिहासका पदचाप, ज्ञान र सभ्यताको सञ्चयदेखि जिन्दगी जिउन गरेका चेस्टा लेखिने भएकाले धेरै भन्दा धेरै पढ्नुपर्ने दाबी गर्दै संग्रौलाले फेस्टिभल पाठकले मनपरेका लेखक र लेखकले पाठक भेट्ने थलो समेत हुने बताए । तर अहिले युवाहरूको सामाजिक सञ्जालप्रतिको मोहले पुस्तक पढ्ने बानीमा कमी आएको संग्रौलाले दाबी गरे । सामाजिक प्रविधिको सञ्जाल बरदान भए पनि यसले संसारभरि नै दुरुपयोगसँगै मानिसलाई एक्लो, अविवेकी बनाइरहेको आरोप उनले लगाए ।


प्रायोजकले साहित्यिक कार्यक्रममा गर्ने हस्तक्षेपमाथि पनि खगेन्द्रले व्यंग्य कसे । अनुभव सुनाउँदै उनले भने, ‘एउटा पुस्तकमा मेलामा प्रदीप गिरी आउनेवाला थिए, तर पछि उनको नाम हटाइयो । नो पोलिटिक्स, नो पोलिटिकल लिडर भनेर प्रायोजकले हटाउन लगाएछन् ।’ जीवनको समग्र पक्षमा राजनीतिको प्रभाव परेकाले साहित्यिक कार्यक्रममा पनि राजनीतिक विषय उठान गर्नुपर्ने उनले बताए ।


‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नारासहित सन् २०११ मा झम्सिखेलबाट सुरु भएको फेस्टिभल सुरुवाती चार संस्करण काठमाडौंमा नै सीमित भयो । भूकम्प र नाकाबन्दीको प्रहारपछि फेस्टिभल पोखरा पुगेको सुनाउँदै फेस्टिभल निर्देशक अजित बरालले पोखरेलीको आत्मीय आतिथ्य र स्थानीय आयोजक र्‍यान्डम रिडर्स सोसाइटीको सहयोगले पोखरामै गरिराख्न प्रेरित गरेको बताए । ‘नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारलाई सम्मानका साथ स्थान दिने काममा फेस्टिभल उत्प्रेरक बनेको छ,’ उनले भने ।


बुकवर्म फाउन्डेसनले गर्दै आएको फेस्टिभलमा सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी रहने र तीन दर्जन भन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश हुने फेस्टिभल संयोजक रविन गिरीले बताए । फेस्टिभलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटसँग मास्टर कार्यशाला तथा ब्रिटिस काउन्सिलको क्रिएटिङ हिरोइन्स प्रोजेक्ट प्रदर्शनी पनि हुनेछ ।


अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रेमिट्यान्स लगायत विषयमा समेत छलफल गरिने रविनले बताए । फेस्टिभलमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, प्रज्वल पराजुली, बेलायतकी डा. निकोला स्ट्रिटेन लगायतको सहभागिता रहनेछ ।

प्रकाशित : मंसिर ४, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?