कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

न्वाँगी मेलामा “भेटै नहुने”

प्रकाश बराल

बागलुङ — चालीसको दशकमा रेडियो नेपालमा धेरै बज्ने गीतहरू अचेल सुन्न पाउन मुस्किल पर्छ । युट्युबमा खोज्दा पनि अडियो मात्र भेटिने यस्ता गीतका पारखी भने बग्रेल्ती भेटिन्छन् । पुराना कलाकार पनि प्रशस्तै छन् ।

न्वाँगी मेलामा “भेटै नहुने”

तर, मेला महोत्सवमा आधुनिक गीत, र्‍याप र पप संस्कृतिले पुराना लोकगीत विस्थापित जस्तै बनाएको छ ।


‘भेटै नहुने, खोलापारि नीरमाया, वारि म रुने...’, ‘पानको पात...’ र ‘डाँडैको देवी देउराली...’ जस्ता चर्चित लोकगीत कलाकार भेटेकै बेला मात्र सुन्न पाइने अवस्था छ । बागलुङको बडीगाडमा जारी ‘न्वाँगी मेला’ले भने सयौं दर्शकलाई यस्तै पुराना गीतले नचायो । चर्चित लोकगायक बमबहादुर कार्की स्वयं महोत्सवमा उपस्थित हुँदा यस्ता पुराना गीतहरूले स्थान पाएको हो ।


कार्कीको ‘भेटै नहुने...’ लगायतका दर्जन गीत दर्शकको रोजाइमा परे । माइक्रोफोन समातेर मञ्चमा उभिएपछि ‘भेटै नहुने...’ लाई दर्शकले वान्स मोर भनिरहे । सयौं दर्शकको माग आएपछि कार्कीले पनि हौसिएर दुई/दुई पटक गाए । तन्नेरीदेखि बूढापाकासम्मले छमछम नाचेर पसिना निकाले । कार्कीका हरेक गीतलाई रुचि दिएका दर्शकले दोहोर्‍याएर गाउन पनि लगाए ।


बागलुङ र गुल्मीको बडीगाड उपत्यकाभित्र संरक्षित ‘न्वाँगी मेला’ यस्तै परम्परागत कला, संस्कृति र गीत संगीतको थलो हो । यो मेलामा गायक बमबहादुर कार्की, शिवा आले र खडग गर्बुजा जस्ता लोकगायकको प्रस्तुतिमा चाहना राख्ने धेरै थिए । सबैको चाहनालाई पूरा गर्न त्यस्तै कलाकारहरूको जमघटको व्यवस्थासमेत गरियो ।


कार्की र आलेका पञ्चैबाजा र रोइला लगायतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी समेत नाच्न तम्सिए । मञ्चमा कलाकार र मन्त्री नाचेको देखेपछि सयौं दर्शकले तालीमात्र बजाएनन्, उनीहरू पनि समूहसमूहमा नाचे ।


लोकगीतसँगै सालैजोका धेरै स्वरूपमा गीत गाउने र नाच्ने चलन पनि यहाँ छ । गुल्मी र पाल्पामा चर्चा पाउने गीत र गायकको पनि मेलामा उपस्थिति छ । मगर, कुमाल र बाहुनक्षत्री लगायतको संस्कृतिमा आधारित गीत–संगीतलाई संरक्षण गर्न न्वाँगी संरक्षण समितिले अभियान समेत चलाएको छ ।


कला संस्कृति, कृषि र पर्यटनको संरक्षण गर्ने भन्दै न्वाँगीलाई महोत्सवको रूप दिइएको छ । खेती थन्क्याएपछि मंसिर पहिलो साता खाइने न्वाँगीले किसानलाई फुर्सद भएको सन्देश दिएकाले गीत गाउन आइपुगेको भन्दै कार्कीले पुराना संस्कृतिको कुरा गर्दा महोत्सवका सयौंले संस्कृति संरक्षणको पक्षमा ताली समेत बजाए । न्वाँगी मेलालाई आकर्षण गर्न सोरठी, सती घाटु, लोपोन्मुख कुमालहरूको संस्कृतिमा आधारित ह्याम्फे नाच, सराय नाच जस्ता प्रस्तुतिले मेलालाई रौनक थपेको छ ।


बडीगाड खोला भाषा र संस्कृतिको उद्गम स्थल हो भन्नेहरू पनि छन् । त्यसैले गीत संगीत मात्र नभई सांस्कृतिक महत्त्वका क्षेत्रको प्रचार गर्ने, संरक्षण गर्ने र इतिहासलाई लिपिबद्ध बनाउने अभियानमा पनि मेलाले पहल गरेको समितिका अध्यक्ष कलाधर घिमिरे बताउँछन् ।


कलाकारको जमघटसहित परम्परागत सीपमा आधारित आरन, हस्तकला र चित्रकलाको संरक्षणका लागि पनि महोत्सव उपयोगी भएको युवा उद्यमी हरिप्रसाद आचार्य बताउँछन् । राजनीतिक नेतृत्वको चासो समेत यस्ता विषयमा बढ्नुपर्ने उनको मत छ । महोत्सवमै भजन, रोइला, सोरठी, मारुनी लगायतको निरन्तर प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?