अमेरिकीको नाटकमा पोखराप्रेम

दीपक परियार

लेखनाथ — संवादभन्दा धेरै भावभंगिमा । शरीरको चालढाल, हाउभाउ र लचकतामा पश्चिमापन । प्रयोग गरिएका सीमित संवाद पनि अंग्रेजीमै । पोखरा थिएटरमा मञ्चन भइरहेको नाटक ‘अ प्लेस इन माई हार्ट’ मा दर्शकले पश्चिमा स्वाद पाएका छन् । 

अमेरिकीको नाटकमा पोखराप्रेम

अमेरिकी कलाकार रिचर्ड क्लेयरमोन्टको लेखन/निर्देशन रहेको उक्त नाटकमा बाँकीजसो कलाकारचाहिँ पोखरा थिएटरकै छन् । निर्देशकले आफूले देखेको पोखरालाई नाटकमार्फत उतारेका छन् । नाटकमार्फत पनि पोखराको प्रचारप्रसार गर्न सकिने तर्क उनले प्रस्तुत गरेका छन् । त्यसको लागि नाटकभित्र नाटककै सहायता लिएका छन् ।


नाटककी प्रमुख पात्र हुन्छिन् बबी । उनी कवितामार्फत पोखरालाई चिनाउन चाहन्छिन् । पोखराबारे कविता लेखेर कविगोष्ठीमा सुनाउँछिन् । उनको कवितामा ताली बजाउने कोही हुँदैन । उनले पोखरालाई चिनाउन चित्रकलाको सहारा लिन्छिन् । उनको चित्रमा पनि कसैको रुचि हुँदैन । एक दिन उनका साथी रेवान भेटिन्छन्, जसले पोखरा चिनाउन नाटक उपयुक्त माध्यम हुन सक्ने सुझाउँछन् ।


बबी नाटकमा अभिनय गर्ने कलाकार जम्मा पार्न थाल्छिन् । कलाकारलाई चाहिने आवश्यक अभिनयकला सिकाउँछिन् । पोखराका ताल, हिमाल र मानिसलाई नाटककै माध्यमबाट प्रस्तुत गर्छिन् ।

नाटकका लेखकसमेत रहेका निर्देशकले काल्पनिकता मिसाएर नाटकलाई मनोरञ्जनात्मक बनाएका छन् ।


माछापुच्छ्रे कसरी बन्यो ? मनासलुको काखमा बस्ने यती पोखरा आएर किन फर्कियो ? उनका आफ्नै काल्पनिक तर्क छन् । यती देखिन छोड्नुको काल्पनिक कारण उनले प्रस्तुत गरेका छन् । ठटयौली पारामा प्रस्तुत गरिएका तर्कले दर्शकश्रोतालाई हाँस्न बाध्य बनाउँछन् ।


नाटकमा व्यंग्य पनि मिसिएको छ । जथाभावी फोहोर गर्ने मानिस, संवेदनशील अवस्थामा पनि फोटो खिच्न तम्सिहाल्ने र लेकसाइडमा सस्तो खोज्दै हिँड्ने विदेशी पर्यटकलाई उनले व्यंग्य गरेका छन् ।

नाटकमा माइम अर्थात् भावभंगिमाको प्रयोग नाटकमा धेरै छ ।


नाटकका पात्रको अभिनयमा पश्चिमी शैली झल्किन्छ । मुख्य पात्र बबिता मल्ल ठकुरीले अभिनय र संवाद दुवैमा पश्चिमा शैलीलाई अपनाएकी छन् । उनको हाउभाउले धेरथोर विदेशी नाटक हेरेको झल्को दिन्छ । देव बस्नेत, धीरेन्द्र पुन, ध्रुव रोका, निश्चल विमल, रेवान राई, सूर्य सुवेदी र योजना पहारीको अभिनयले नाटकमा ऊर्जा थपेको छ । केही कलाकारलाई भने अंग्रेजी संवाद सम्प्रेषणमा समस्या परेको देखिन्छ ।


निर्देशक क्लेयरमोन्टले नाटकलाई त्रैभाषिक भन्न रुचाए । ‘यसमा शारीरिक हाउभाउ, अंग्रेजी र नेपालीमा संवाद छन्,’ उनले भने, ‘कलाकारले कुशलतापूर्वक भूमिका निर्वाह गरेका छन् ।’ आफ्नो मनमा नेपाल र पोखराले स्थान बनाएकाले नाटक तयार गरेको उनले बताए । अमेरिका र नेपालको संस्कृतिबीचको फरकले नाटक तयार गर्न केही अप्ठयारो भने भएको उनले स्विकारे ।


क्लेयरमोन्टले ७० को दशकको मध्यतिरबाट माइम कलाकारका रूपमा थिएटर यात्रा सुरु गरेका थिए । दस वर्ष माइम कलाकारका रूपमा एकल यात्रा गरे । विभिन्न नाटकमा अभिनय गरे । ४० वर्ष नाटक पढाए । मनोविज्ञानमा स्नातकोत्तर गरेपछि उनले परामर्शदाताका रूपमा पनि काम गरे ।


थिएटर र परामर्शदाताको जागिरबाट अवकाश लिएका उनी हाल फिरन्तेका रूपमा विभिन्न देश डुल्छन् । उनी संसारका सबै बाटालाई आफ्नो घर मान्छन् । चार वर्षयता उनी एसियाका विभिन्न देश डुल्ने क्रममा उनी नेपाल आइपुगेका हुन् ।


पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले तीन महिनाअघि उनीसँग भेट भएको बताए । इमेल आदानप्रदान हुँदै गएपछि नाटक बनाउने सहमति भएछ । दस हप्ताको अभ्यासपश्चात नाटक तयार भयो । विद्यार्थी तथा पर्यटकलाई लक्ष्य गरी यो नाटक मञ्चन गराइएको पोखरा थिएटरले जनाएको छ ।

नाटक शनिबारसम्म मञ्चन हुनेछ ।

प्रकाशित : मंसिर ७, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?