तिनाउ तीरमा यानी माया

अमृता अनमोल

बुटवल — मंसिर छिप्पिन थालेसँगै बुटवलमा पनि जाडो बढदै छ । चुरेबाट दक्षिण चल्ने हावाले झन् चिस्याउने गर्छ यो सहरलाई । तर चिसोले सबैलाई उसै गरे बाधा गर्दैन ।

तिनाउ तीरमा यानी माया

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर (रंगशाला) मा दिउँसैदेखि नेपथ्य फ्यानहरूको धुइरो सुरु भइसकेको थियो । बालबालिकादेखि वृद्धसम्म । दिन ढल्न थालेसँगै भीड थामिनसक्नुभयो । रंगशालाबाहिर दर्शकश्रोताबीच ठेलमठेल चल्न थाल्यो । रंगशालाको बीचमा रहेको मञ्चको घडीमा पौने छ बजेपछि गायक अमृत गुरुङ झुल्किए । अमृतले दर्शकश्रोतामाझ लोकप्रिय गीतबाट गायन थाले :


यानी माया बटौलीको बजारमा यानी माया

यानी माया चुरेटाको दोकान यानी माया ...


तिनाउ तीरमा नेपथ्यको यो लगतार दोस्रो वर्षको प्रस्तुति थियो । त्यसैले दर्शकश्रोता बढी नै उत्साहित थिए । यो रहस्य अमृतले बुझिसकेको भान हुन्थ्यो । ‘हिमाल चुचुरे,’ ‘रेशम...’, ‘छेक्यो छेक्यो...’, ‘भेडाको ऊनजस्तो...’ लगायतका गीतबाट उनले मनोरञ्जन दिए । यो गीतले चाहिँ भावुकता फैलायो :


कोसीको पानी यो जिन्दगानी

सलल बगी जाने हाउ हजुर

आमाको कोखमा बास मात्रै लिएँ नि

कुन देशको मरन हाउ हजुर...


यसपछि अमृतले ‘गाउँगाउँबाट उठ’ गाउँदै दर्शकश्रोतालाई देशका लागि जुटन ऊर्जा दिए । उनले राष्ट्रिय सदभाव र एकताका कुरा मात्रै गरेनन्, दर्शकश्रोतालाई प्रतिबद्धतासमेत व्यक्त गर्न लगाए । लागूऔषध र मादक पदार्थमा भुलेर जीवन बरबाद नपार्न सम्झाए ।


शिक्षा विकासले हिमाल, पहाड र तराईलाई जोड्न सकिने औँल्याउँदै उनले थपे, ‘शिक्षा सबैभन्दा ठूलो कुरा हो । तपार्इंको टोलछिमेकमा पनि कोही पढ्न नपाएका बालबालिका छन् भने आफैंले स्पोन्सर गरेर भए पनि पढ्न पठाउनुस् है !’


‘तालको पानी माछीले खानी’ जस्ता गीत पनि सुनाएका अमृतले कन्सर्टको बिट मार्दै गाए( ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो...’ । दर्शकश्रोताले पनि चन्द्र–सूर्य झन्डा फहराउँदै साथ दिए । गीतको बीचबीचमा अमृत भन्दै थिए, ‘नेपाल विभिन्न जातजाति मिलेर बनेको देश हो । त्यसैले सुन्दर र मजबुत छ । यसलाई कमजोर नपारौं है !’


नेपथ्य कन्सर्टबाट उठेको रकम बालबालिकाको शिक्षा र वृक्षरोपणमा खर्च गर्ने स्थानीय आयोजक एस नेपालका सन्तोष टन्डनले बताए ।

प्रकाशित : मंसिर १३, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?