ब्याटल दोहोरीबाट युटर्न 

प्रकाश बराल

बागलुङ — लोक ‘ब्याटल’मा पछिल्लो समय चर्चित नाम हो प्रकाश सपुत । बैदेशिक रोजगारीको पीडा समेटिएको गीत ‘बोल माया...’ उनको टर्निङ प्वाइन्ट हो । यो गीत जति मार्मिक छ, उनको कथाव्यथा पनि उत्तिकै मार्मिक । कमजोर आर्थिक अवस्था, मध्यम पढाइ र सफलता, उनको जीवनको विशेषता हो ।

ब्याटल दोहोरीबाट युटर्न 

बागलुङको विकट गाउँ धम्जामा जन्मेका प्रकाश ‘सपुत’ कथित दलित परिवारमा जन्मे । बाबुआमाले गच्छेअनुसार जति सक्थे त्यति नै पढाए । सानैदेखि लोकदोहोरी गीत भनेपछि भने हुरुक्कै हुन्थे । जानी नजानी, सकी नसकी धेरै प्रतियोगितामा भाग लिन्थे ।


एसएलसी दिएपछिको खाली समय गाउँका धेरै साथी कम्प्युटर सिक्न सदरमुकाम झरे । ‘तर घरको अवस्थाले कम्प्युटर सिक्नै सकिनँ’, उनले भन, ‘बरु काम खोज्न निस्कें ।’ सदरमुकामको एक फर्निचर पसलमा काम गरेर उनले कम्प्युटर सिक्ने सपना मात्र पूरा गरेनन्, सिकेको सीपबाट उनी त्यहींका प्रशिक्षक भए ।


सदरमुकामकै एक रेडियोमा उनले विज्ञापन रेकर्ड गर्ने र लोक गीतसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अवसर पनि पाए । रेडियोले उनलाई कलाकारिता र धेरै कलाकारसँग चिनजानको अवसर दियो । लोक गीतसंगीतमा रुचि भएकोले उनले त्यसबाटै रोजगारीको खोजी गरे ।


‘मैले कलाकार बनौंला भन्ने सोचेकै थिइनँ । बरु सानो रोजगारी गरेर बाबुआमाको दु:ख बिर्साउँला भन्ने थियो,’ उनले कान्तिपुरसँग भने, ‘एफएमको कामले कलाकारितामा अगाडि बढ्ने जग स्थापित गरिदियो ।’ राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, काठमाडौंको गाउँबेसी दोहोरी साँझ र पृथ्वी थकालीको साथले सफलताको उचाइमा पुगेको उनको दाबी छ ।


आफ्नै गीत २० वटा मात्र गाएका सपुत म्युजिक भिडियोका लागि पहिलो रोजाइमा पर्छन् । तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरेका सपुत यति बेलाका व्यस्त कलाकारमा गनिन्छन् । त्यसो त सपुत ‘ब्याटल’ संगीतका कारण पनि युवामाझ चर्चामा छन् । ‘गीत संगीत क्षेत्र भनेको लामो समय लगाएर चर्चित भइने पेसा होइन । हामीले दिने विषयवस्तुको आधारमा एकै पटक सफल हुन सकिने रहेछ,’ सपुत भन्छन्, ‘एउटै गीतले सांगीतिक क्षेत्रको युटर्न हुने रहेछ ।’


वैदेशिक रोजगारीको पीडा समेटिएको ‘बोल माया’ नामक गीतले आम नेपालीको मन छोएर सपुत झन् चर्चाको शिखरमा पुगेका छन् । एकै परिवारका तीन जनासम्मको शव विमानस्थलमा आउँदाको त्रासदीपूर्ण घटना देखपछि उनले यो गीत लेखेको बताए । ‘बाबुआमा चिन्न नपाउने सन्तान र छोराछोरी भन्न नपाउने बाबुआमा र विवाह गरेर सँगै बस्न नपाउने पत्नीको दशालाई गीतमा समेटेको हुँ,’ सपुतले भने, ‘नेपालीको वास्तविकता समेट्दा धेरैको माया पनि पाएँ ।’


त्यसबाहेक ब्याटलले उनलाई यसअघि नै चर्चामा ल्याएको थियो । ‘चरर बरर धरर...’, ‘घर त काठेखोला...’ र ‘माकुर माकुर घुर...’ लगायतका गीतले उनलाई सफलताको उचाइ दिलाए ।

‘बोल माया...’ जस्ता मार्मिक गीतकै कारण उनलाई मलेसिया, कतार, दुबई पुर्‍याइरहेको छ ।


अस्ट्रेलिया, जापान र कोरिया पुगेर पनि उनले आफ्ना प्रस्तुति दिएका छन् । विदेशमा बस्नेले राष्ट्रियतामा बढी चिन्ता जनाएर नेपाली कलाकारलाई सम्मान गरेको उनले अनुभव सँगालेर फर्केको बताए ।


देशभित्रका गाउँगाउँमा पनि निम्ताएर उनको गीत संगीत सुन्न, हेर्न रुचाउनेको संख्या बढदो छ । संगीतमा प्रवेश गरेको दशक नपुग्दै उनले देशका ४५ जिल्ला र दर्जन विदेशमा प्रस्तुति दिइसकेका छन् । ३० वर्ष नपुग्दै उनले लोक संगीतको उचाइ छुन सफल भएका छन् ।


‘उनको मिहिनेतले उचाइमा पुर्‍यायो,’ पत्रकार दिल शिरीष सपुतबारे भन्छन्, ‘वर्षाैं संघर्ष गरेकाहरू उनीे उचाइमा पुग्न सक्छन् कि सक्दैनन् त्यो भन्ने अवस्था छैन ।’


कन्टेन्टले नै उनलाई यो सफलतामा पुर्‍याएको उनको बुझाइ छ । जिल्ला छाडेर दोहोरी साँझमा काम गर्न राजधानी पुगेपछि चढ्न थालेको सिँढीले सांगीतिक क्षेत्रसँगै आर्थिक क्षेत्रमा पनि सफलता मिलेकोमा उनी सन्तुष्ट छन् । ‘आर्थिक समस्याले हात धुनु पर्ला भन्ने भावना केही वर्षमा फेरियो,’ सपुतले भने, ‘अब भने जीवनको संगीतसँगै कमाइले पनि युटर्न गर्लाजस्तो छ ।’

प्रकाशित : मंसिर १६, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?