कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन छुने औंठी

काठमाडौँ — शकुन्तला र दुष्यन्तको कथा नेपाली समाजका लागि नयाँ हैन । यी पौराणिक पात्रलाई लिएर थुप्रै कृति लेखिएका छन् । यति बेला भने यी दुई पात्रसँग जोडिएको कथा शिल्पी थिएटरमा मञ्चन भइरहेको छ( ‘शकुन्तलाको औंठी’ ।

मन छुने औंठी

भारतीय नाटककार सुरेन्द्र बर्माले लेखेको हिन्दी नाटकलाई नेपालीमा निर्देशन गरेका हुन् सुरज मल्लले ।

नाटकले खासमा स्त्री र पुरुषबीचको सम्बन्धलाई अहिलेको समयसित जोडेर तौलिन खोजेको छ ।


नाटकभित्र कलाकारहरू कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ को रिहर्सल गर्छन् । त्यही क्रममा आउँछन् दुष्यन्त र शकुन्तलाजस्ता पौराणिक पात्र । रिहर्सल क्रममा कलाकारको जीवनमा घट्दै जाने घटनाक्रमले नाटकलाई सामयिक बनाएको छ ।


सिकारु रंगकर्मीहरूको दु:ख, मिहिनेत, संघर्ष, उनीहरूको सपना र यथार्थताको कथा निकै वास्तविक लाग्छ । दुईवटा समयको कथालाई जसरी नाटककार बर्माले मन छुनेगरी लेखेका थिए, उसरी नै सफल ढंगले पस्केका छन् निर्देशक सुरजले । पात्रका नाम र केही सन्दर्भमा नेपालीपन घुसाएर उनले थप रोचक बनाएका छन् ।


अभिनय, मञ्च र प्रकाश परिकल्पना सबै हिसाबले नाटक राम्रो छ । शकुन्तलाको भूमिका गर्ने दिया मास्केको अभिनय अब्बल लाग्छ । कोरियोग्राफी पनि उनैले गरेकी छन् । अरू कलाकारले पनि राम्रै मिहिनेत गरेका छन् । प्रत्यक्ष संगीतले नाटकमा ‘सुनमा सुगन्ध’ को काम गरेको छ । कथाका विभिन्न चरण र मोडहरूमा कलाकारहरू आफैंले प्रत्यक्ष गाउँछन्, यसले पनि नाटकलाई गति प्रदान गर्न सघाउँछ ।


भिन्न मनोदशाका कथा बुझाउन गीतहरूले निकै ठूलो भूमिका खेलेको महसुस हुन्छ । गीत लेखेका हुन् संयोग गुरागाईंले । गायन र संगीत उत्सव बुढाथोकीको छ भने प्रत्यक्ष वाद्यवादन विकास लामा, विशाल नकर्मी, योगेश भुसाललगायतले गरेका छन् ।


नाटकको मुख्य पात्रमध्ये कुमारको भूमिका निर्देशक मल्ल स्वयंले गरेका छन् । आशिष श्रेष्ठ, अनिल थापा, प्रकृति रायमाझी, रञ्जना भट्टराई, विकास न्यौपाने, सुनील खडका, रोशन खत्री, प्रकाश कट्टेल, प्रमिला कार्की, हेना नगरकोटी, अनु दाहाल, प्रणव केसी, निर्मला खत्री र अनुप न्यौपानेको पनि अभिनय छ । बुधबार नाटक हेर्न अभिनेत्री रेखा थापासमेत पुगेकी थिइन् । उनले नाटक निकै गम्भीर र मन छुने रहेको प्रतिक्रिया दिइन् ।


एक्टर्स स्टुडियोको प्रस्तुति रहेको नाटक पुस ७ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?