कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्म योन्जन थिए नारायणगोपालका लमी

“गोपालका मीत भएकाले उहाँ मेरो मीतभाइ हुनुहुन्थ्यो । ‘दाजु गार्जियन बनिदिनुपर्‍यो’ भन्दै मकहाँ आउनुभएको थियो । अनि हामी दार्जिलिङको सुक्यापोखरी गएका थियौं, केटी माग्न ।”

काठमाडौँ — सांगीतिक योगदानका लागि जनस्तरबाटै ‘स्वरसम्राट’ को उपाधि पाएका हुन् नारायणगोपालले । उनै ‘स्वरसम्राट’ को २८ औं स्मृति दिवस मनाउने क्रममा बुधबार स्रष्टाहरूले उनीसँगको संगत स्मरण गरे । नारायणगोपालका मीत गोपाल योञ्जनका दाजु कर्मले मीतभाइको बिहेमा आफू अभिभावक बनेको क्षण साझा गरे ।

कर्म योन्जन थिए नारायणगोपालका लमी

‘गोपालका मीत भएकाले उहाँ मेरो मीतभाइ हुनुहुन्थ्यो,’ कर्मले भने, “दाजु गार्जियन बनिदिनुपर्‍यो’ भन्दै मकहाँ आउनुभएको थियो । अनि हामी दार्जिलिङको सुक्यापोखरी गएका थियौं, केटी माग्न ।”

सुक्यापोखरीमा बिहेको धुमधाम तयारी भएको कर्मले देखे । त्यसअघि पनि नारायणगोपाल र पेमलाले पोखरीकै किनारामा बसेर बिहेको योजना बनाएको कर्मले सम्झिए । ‘उहाँहरूलाई एक्लै छोडेर हामीचाहिँ अर्को किनारामा बसेका थियौं,’ कर्मले भने, ‘त्यही बेला प्लान बनेछ । मचाहिँ उहाँहरूको बिहेमा गार्जियन बनेको थिएँ ।’


उनै कर्मलाई स्वरसम्राटको स्मृति दिवसमा नारायणगोपाल संगीत कोषले ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गर्‍यो ।


महाराजगन्जस्थित कोषको प्रांगणमा आयोजित कार्यक्रममा पाँच गीतकारलाई उक्त सम्मान दिइयो । ताम्रपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेमा दिनेश अधिकारी, दीर्घसिंह बम, नीर शाह, राजेन्द्र रिजाल र विश्वम्भर प्याकुरेल थिए । गीतकार बमले नारायणगोपाललाई राष्ट्रले उच्च सम्मान दिनुपर्ने बताए । ‘श्रोतालाई शब्दको गहिराइमा भुलाइदिने गायक हो उहाँ,’ उनले भने, ‘उहाँको स्वर सम्पूर्ण मानवका लागि कर्णप्रिय छ ।’


गीतकार शाहले चाहिँ स्वरसम्राटको वास्तविक सम्मानका लागि अहिलेका संगीतकर्मीले उनको अध्ययनशील बानीको अनुसरण गर्नु अत्यावश्यक रहेको औंल्याए । ‘उहाँ मोजार्ट र बिथोभेनलाई पढ्नुहुन्थ्यो,’ शाहले भने, ‘तिनका नोटेसन भावी पुस्ताले सुनून् भन्ने चाहनुहुन्थ्यो । उहाँ संगीत सिर्जना गर्नुभन्दा तीन गुणा बढी संगीत अध्ययन गर्नुहुन्थ्यो । उहाँ अध्येता हुनुहुन्थ्यो । उहाँको जस्तै अध्ययनशील बानी अहिलेका संगीतकर्मीमा पटक्कै छैन ।’


गीतकार शाहले नारायणगोपालको घर आउनु आफ्ना लागि दु:खद हुने बताए । हाल कोष रहेको भवनको प्रत्येक झयाल–ढोका र कोठा–चोटाले आफूलाई विगत स्मरण गराउने भएकाले मन भारी हुने उनको भनाइ थियो । ‘एक दिन उहाँले मलाई यहाँ ल्याउनुभएको थियो,’ शाहले भने, ‘अहिले सालिक भएको ठाउँमा बाइक पार्क गरेर यो घर भएको जग्गा देखाउनुभयो । अहिले सोच्छु, यो घर एउटा अध्यायको साक्षी बनेर

उभिने रहेछ । म यहाँ आउँदा नोस्टाल्जिक बन्छु ।’


समारोहमा युवा गायकगायिकाले नारायणगोपालका गीतहरू प्रस्तुत गरेका थिए । मदन गोपालले ‘बिर्सेर जाऊँ कसरी...’ सुनाए भने अमला महर्जनले ‘कहिलेकाहीँ...’ प्रस्तुत गरिन् । शिशिर योगीले ‘सागर सरी...’ गाएपछि शृंखला जोशीले ‘पोखिएर घामको झुल्का...’ सुनाइन् ।


नरेन्द्र प्यासी, बीबी अनुरागी, मौसम खरेल, शर्मिला आचार्य, सरला बीसी, देवेन्द्रमान सिंह, उत्सव नेपाल, शिव काफ्ले, लालकाजी श्रेष्ठ, चिरीमाया महर्जन, नवीन न्यौपाने लगायतले पनि स्वरसम्राटलाई उनकै गीतमार्फत सम्झिए ।


संगीतकर्मीहरू कोषको कार्यक्रम सकिनासाथ जमलको सांस्कृतिक संस्थान (नाचघर) तिर लागे । त्यहाँ पनि स्वरसम्राटको सम्झनामा स्मृतिसभा आयोजना गरिएको थियो । कार्यक्रममा संस्थानकै कलाकारले नारायणगोपालका करिब एक दर्जन गीत गाए । ‘कस्तूरी हे बास आउँछ...’, ‘तिमीले पनि मजस्तै...’, ‘तान चलाउनु...’, ‘कसरी म भुलेँ...’, ‘मलाई नसोध...’, ‘जता हिँड्यो उतै तान्ने...’, ‘पर्खिबसेँ...’, ‘पहाडको माथि...’, ‘मेरो सानो संसार...’, ‘तिम्रोजस्तो मुटु...’ लगायत गीत कार्यक्रममा सुनाइए ।


‘नारायणगोपालका गीत गाउँदा आनन्द आउँछ,’ गायिका शिला विष्टले भनिन्, ‘उहाँकै गीतहरू सुन्दै/सिक्दै यहाँसम्म आइपुगेकी छु । उहाँका गीत रियाजका लागि उत्तम छन् ।’ शिलाले कार्यक्रममा ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ र ‘पहाडको माथि माथि...’ गाएकी थिइन् ।


गायक शैलेश सिंहले पनि नारायणगोपाल आफ्नो अदृश्य गुरु भएको बताए । उनका गीतमा डुब्नेले मात्र त्यसको मिठास बुझ्न सक्ने शैलेशको भनाइ थियो । नेपाली आधुनिक संगीतमा नारायणगोपालको योगदान अतुलनीय रहेकाले संस्थानले हरेक वर्ष स्मृतिसभा गर्दै आएको महानिर्देशक राजेश थापाले जनाए ।


नारायणगोपालका कार्यक्रममा सधैं उपस्थित हुने केही स्रष्टा भने यसपालि काठमाडौंमा देखिएनन् । गीतकार दिनेश अधिकारी, संगीतकार दीपक जंगमलगायत सर्जक झापाको बिर्तामोड पुगेका थिए । त्यहाँ पनि स्वरसम्राटका नाममा सरगम संगीतालयले कार्यक्रम गरेको थियो । ‘मैले यहाँ आउने प्रतिबद्धता जनाइसकेकाले त्यताका कार्यक्रममा छुटेँ,’ गीतकार अधिकारीले फोनमा भने, ‘यस्ता कार्यक्रम

काठमाडौंबाहिर हुनु झनै महत्त्वपूर्ण कुरा हो ।’

प्रकाशित : मंसिर २०, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?