कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

धन कमाउन बाङ्गो बाटो

काठमाडौँ — देख्दा राम्री, धनी परिवारकी एक्ली छोरी । प्राय: केटाको तारोमा हुन्छन् । प्रेमको लागि जाल बिछयाउँछन् । तर त्यो जालोमा सधैं केटी मात्रै परिहाल्छन् भन्ने पनि छैन ।

धन कमाउन बाङ्गो बाटो

आफैंले बिछयाएको जालोमा आफैं पर्ने डर पनि उत्तिकै हुन्छ । मंसिर २८ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सुश्री सम्पत्ति’ को हकमा पनि सायद यस्तै हुन सक्छ । ठयाक्कै थाहा पाउन, फिल्म नै कुर्नुपर्नेछ ।


यति बेला भने धनी बाबुकी एक्ली र राम्री छोरीको भूमिकामा रहेकी सारा सिरपाइलीका लागि प्रेमको जाल बोकेर हिँडेका छन्, दुई युवा सलोन बस्नेत र विनोद न्यौपाने ‘सुश्री सम्पत्ति’ मा । आर्थिक रूपमा कमजोर, रंगरोगन गरेर गुजारा चलाइरहेका उनीहरूमा एकैपटक धनी हुने महत्त्वाकांक्षा बढेपछि सम्पत्तिवाला सुश्रीको खोजीमा निस्केका हुन्छन् ।


फिल्मबारे निर्देशक सुब्रतराज आचार्य पनि यसै भने । ‘रेलका दुई पटरीजस्तै यी दुई चरित्र पनि फिल्ममा समानान्तर रूपमा अघि बढ्छन् । जीवनको यात्रामा यिनै दुवैले भोग्ने आरोहअवरोहमा अन्य सबप्लट जोडिँदै जान्छन्,’ उनले थपे, ‘पोखराको संभ्रान्त परिवारदेखि निम्नवर्गसम्मलाई समेटिएको छ । सलोन र विनोदले फिल्ममा हिरोगिरी देखाउनमा भन्दा चरित्रका रूपमा देखिनेछन् ।’


आचार्यले यसअघि ‘मनोरञ्जन’ बनाउने घोषणा गरेका थिए । तर बनेन । “त्यही फिल्मकै प्लटलाई अलिकति सिंगारेर चुस्त बनाई ‘सुश्री सम्पत्ति’ मार्फत पस्केको हुँ,” आचार्यले हालैको भेटघाटमा सुनाए ।

नायिका साराले भने आफ्नो चरित्रलाई फिल्म चल्नुअघि नखुलाउनुमा नै उत्तम हुने ठानिन् ।


उनले भनिन्, ‘मेरो चरित्र अहिले नै ट्रेलरमा पनि धेरै देखाइएको छैन । हलमा गएर हेर्दा टवाक्क मसलेदार पाउनुहुनेछ ।’ तर उनले आफ्नो चरित्र आमाको प्रेमबाट विमुख भए पनि परिवारमा राजकुमारीको सुखसुविधा पाउने भाग्यमानी भएको बताइन् ।


फिल्मका मुख्य चरित्रमा रहेका सलोन र विनोद दुवै सुश्री र सम्पत्तिको पछि लागिरहँदा महत्त्व कुनको बढी लाग्छ होला ? जवाफमा सलोनले सुश्री प्यारो लाग्ने बताइरहँदा विनोदले भने सम्पत्ति भएमा मात्रै सुश्रीहरू पाउने बाटो खुल्ने तर्क गरे । सलोनले थपे, ‘मिहिनेत गर्‍यो भने सम्पत्ति जोडने कहिले हो कहिले भनेर सर्टकट बाटो अपनाइएको छ ।’ चरित्रको दिमागको हैसियत अनुसारको संघर्ष गर्ने सलोनले थपिदिए ।


निर्देशक आचार्यले सवा दुई घण्टाजतिको फिल्मलाई आधा घण्टा छोट्टयाएर चुस्त पारिएकाले दर्शकलाई कहींकतै पनि दिक्क नलाग्नेमा विश्वास दिलाउन चाहे । भने, ‘फिल्म चुस्त भयो भने दर्शकलाई पनि मन पर्छ ।’


अभिमन्यू निरबी र जया शर्माको पटकथा रहेको फिल्मको कथा भने आचार्यकै हो । विज्ञान राई, नुनाम सुब्बा र रोमन शिलाकारको निर्माण रहेको फिल्मको छायांकन अर्जुन तिवारीको हो भने, सम्पादन भरत रेग्मीले गरेका हुन् ।


फिल्ममा सलोन, विनोद र सारासहित राजाराम पौडेल, प्रमोद अग्रहरि, जयनन्द लामा, विशारद बस्नेत, कमल देवकोटा, रोशनी कार्की, प्रेमवर्षा खडका लगायतको अभिनय रहेको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?