३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कौरामय साँझ

काठमाडौँ — कौरा गायनमा चिनिएका दुर्गा गुरुङ एकल साँझमा गुन्जिएका छन् । तमु (गुरुङ) समाज तनहुँ काठमाडौंले शनिबार राष्ट्रिय नाचघरमा गरेको ‘दुर्गा गुरुङ एकल साँझ’ कौरामय बन्यो ।

कौरामय साँझ

कलाकारिताको २५ वर्षे यात्रामा पहिलोपटक एकल साँझमा उत्रिएका दुर्गाले कार्यक्रमको अधिकांश समयमा मौलिक भाका कौरा (चुड्का) गीतहरू प्रस्तुत गरेका हुन् । कौरा गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा, दराई समुदायमा प्रचलित मौलिक भाका हो ।

दिउँसो करिब सवा दुई बजे मञ्च उक्लिएका दुर्गाले आफ्ना समुदायको तमु ल्होछार (नयाँ वर्ष) सम्बन्धी ‘खैमो ल्होसार’ (आयो ल्होछार) गीतबाट प्रस्तुति सुरु गरे । लगत्तै लोकपप रोधीं घरैमा एल्बमबाट ‘चिट्ठी लाने ए हुलाकी दाइ, रोधी बस्न आउँछ रे भन्दिनु यानीमायालाई’ बोलको गीत गाए ।

गाउँदै गर्दा दुर्गा भावुक देखिन्थे । यो गीत गाउँदा उनले १३ वर्षदेखि बेल्जियम बस्दै आएकी पत्नी नन्दशोभा गुरुङलाई सम्झेका थिए । दुर्गालाई गायकका रूपमा चिनाउने गीत पनि यही यानीमाया नै रहेको उनका सहकर्मीहरू बताउँछन् ।

कौरा गीतको संरक्षण, संवद्र्धन र प्रचारप्रसारको उद्देश्यले गरिएको एकल साँझमा दुर्गाले करिब तीन घण्टा निरन्तर गाए । त्यसक्रममा उनले आफ्नै सिर्जना, स्वर, रेशम गुरुङ, प्रेम गुरुङ, माया गुरुङ, मानबहादुर बराल मगरलगायत सर्जकका सिर्जना सुनाए । जसमा ‘झिल्के भेना’, ‘गैरागाउँ सिरानचोक’, ‘सोलु जुबु गाउँ’, ‘तिम्रै आँगनमा’, ‘आकाशै उज्यालो’, ‘ए कान्छी’, ‘रिसिङ डाँडा रमाइलो’, ‘आयौं हामी’ लगायतका गीत समेटे । गुरुङले ‘झोरा’ गीत पनि गाएका थिए ।

संगीत संयोजनमा समेत दख्खल राख्ने दुर्गालाई राजु गुरुङ, टेक गुरुङ, प्रकाश गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, राज गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ तमुस्यो, टीका पुन, अनु गुरुङ, वविता गुरुङ, भीमु गुरुङलगायत दर्जन बढी कलाकारहरूले साथ दिए ।

दुर्गालाई हौसला बढाउन तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सांसद रामबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङलगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरू र दर्शकले हल भरिएको थियो । सांसद श्रेष्ठलगायत अतिथि र केही दर्शक मञ्चमै गएर नाचेका थिए ।

२०३५ मा तनहुँको भानु नगरपालिका पुर्कोट चन्दनीगाउँमा जन्मिएका गायक गुरुङलाई शनिबारको कार्यक्रममा ‘चुड्का (कौरा) सम्राट’ र गीतकार, तथा संगीतकार रेशम गुरुङलाई चुड्का

सर्जक सम्राट घोषणा पनि गरिएको थियो । दुर्गाले २५ वर्षअघि पोखरामा रहेको लालीगुराँस कल्चर सेन्टरमा बाँसुरी बजाएर सांगीतिक यात्रा थालनी गरेका हुन् ।

सुरुमा बाद्यवादन गर्ने उनी गायनमा लागेको साठीको दशकपछि हो । अहिलेसम्म दुर्गाले सय स्वर, संगीत, संगीत संयोजन, एरेन्ज गरेका कौरा, फिल्म, लोकपप गीतको संख्या ५ हजार नाघेको छ । प्रस्तुतिका बीचबीचमा सहभागी, सहयोगी, शुभचिन्तकप्रति सम्बोधन गर्दै दुर्गाले एकल साँझ अविस्मरणीय रहेको बताए ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?