२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

से फोक्सुन्डोमा ‘एक’

विष्णुलाल बुढा

डोल्पा — यसअघि बहुचर्चित फिल्म ‘क्याराभान’ को छायांकन भइसके पनि नेपाली फिल्म जान नसकेको डोल्पामा साताअघि मात्रै निर्देशक मनोज पण्डित झुल्किए ।

से फोक्सुन्डोमा ‘एक’

उनी आफ्नो आगामी फिल्म ‘एक’ को लोकेसन हन्टिङका लागि डोल्पाको फोक्सुन्डो ताल छेउको रिग्म गाउँमा आएका हुन् । फोक्सुन्डोको दृश्यलाई समेत ‘एक’ मा समेट्ने पण्डितको योजना रहेछ ।


निर्देशक पण्डितले विकट हिमाली जिल्लाको कथालाई पर्दामा उतार्ने उद्देश्यसहित भीरपाखा खोज्दै यहाँ आएका हुन् । ‘फिल्मको महत्त्वपूर्ण पहिलो र परिचयात्मक दृश्य खोज्दै म यहाँ आएको हुँ,’ पण्डितले भने, ‘डोल्पाको दृश्यले सफल फिल्मी कथाको अवधारणा स्थापित गर्ने मेरो बुझाइ छ ।’


पण्डितले ‘एक’ एक्सनप्रधान फिल्म हुने बताए । प्रमोद खडकाको एक्सन र दीपक बज्राचार्यको छायांकनमा जुफाल एयरपोर्ट नजिकको गाउँमा समेत फिल्मको सुटिङ गरिएको थियो । जुफाल नजिकै नायक विशाल पोख्रेल, अनुयाज गौतम र स्थानीय कलाकार पूर्णजंग शाहीसँग कठिन भिडन्तको दृश्य खिचेर फिल्म युनिट फोक्सुन्डो तालको दृश्य खिच्न आइपुगेको हो ।


‘भैहाल्छ नि’ लगायत केही फिल्ममा काम गरिसकेका नायक विशाल पोख्रेलले फिल्ममा जीवन्त अभिनय दिन आफूले धेरै कठिनाइ भोगेको सुनाए । ‘राम्रो र जीवन्त भूमिकाका लागि म दुई वर्षदेखि तडपिरहेको थिएँ । राम्ररी निदाउन सकेको छैन,’ उनले भने, ‘फिल्ममा केही वर्ष पहिले नै लागे पनि मैले भर्खर बुझ्दै छु, फिल्ममा अभिनय गर्नु अत्यन्त कठिन चुनौती हो ।’


कठिन र चुनौतीपूर्ण अवधारणाको उपज आगामी फिल्म बन्ने उनले बताए । नेपाली दर्शकका लागि डोल्पाका दृश्य रोमाञ्चक उपहार हुने पोख्रेलको दाबी छ ।


कलाकारलाई निकै खारेर फिल्ममा उतार्न सिपालु निर्देशक पण्डितले पछिल्लो पटक माओवादी युद्धसँग आधारित रही ‘बधशाला’ र बाल यौन दुराचार विरुद्धको ‘छायाँ’ सहित आएका थिए । पण्डितको ‘खाग’ फिल्म पनि छायांकन सकेर पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको छ ।


‘जीवन कठोर छ, त्यसकारण फिल्मका पात्रले त्यो कठोरता भोग्नुपर्छ,’ निर्देशक पण्डितले कान्तिपुरसँग भने, ‘सहजतामा कुनै कथा बन्दैन र मेरो उद्देश्य पनि रोमाञ्चक कथा भन्नु हो । त्यसैले डोल्पालाई फिल्मको दृश्यमार्फत समेट्न खोजेको हुँ ।’ उनले कसैले नदेखेको र नभोगेको कथा बनाउनु नै आफ्नो सन्तुष्टि भएको जनाए ।


पण्डितले ‘एक’ मार्फत फिल्म बजारमा फरक र स्थापित फिल्म बनाइने दाबी गरे । विशाल पोख्रेल, प्रमोद अग्रहरी, प्रमोद खडका, ज्योत्स्ना योगी, सबिर चुरौटेलगायत कलाकारको फिल्ममा भूमिका रहेको छ । आत्मा गुरागाईं र सोफिया थापाले ‘एक’ को संयुक्त निर्माण गरिरहेका हुन् ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?