कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाटन दरबारमा बो:ज्या: कलाकृति

‘पछिल्लो समय विदेशी पर्यटकले कार्भिङ मात्र गरेकाभन्दा बो:ज्या: गरेका मूर्ति बढी रुचाउने गरेका छन् ।’
प्रशान्त माली

ललितपुर — हस्तकला भन्नेबित्तिकै प्राय:ले हातेबुना सामग्रीसँगै ताम्रकला, प्रस्तरकला, मूर्तिकला लगायतलाई सम्झन्छन् । हस्तकला अन्तर्गतकै महत्त्वपूर्ण मानिने ‘बो:ज्या’ बारे भने प्राय:लाई थाहा नहुन सक्छ ।

पाटन दरबारमा बो:ज्या: कलाकृति

यति बेला पाटन संग्रहालय बो:ज्या: कलाकृतिले भरिएको छ । नेपाल भाषामा ‘बो:’ को अर्थ सजाउनु र ‘ज्या:’ को अर्थ काम हो । पाटन दरबारस्थित केशवनारायण चोकको पश्चिमी मोहडाको पहिलो तलामा जानेबितिकै बायाँपट्टि तामाको सिंहिनी, बघिनी र ड्रागनका मूर्ति देखिन्छन् । यी मूर्ति पाटनको लुखुसीका सुरज शाक्यले साढे चार वर्ष लगाएर बनाएका हुन् ।


यस्ता मूर्ति बनाउन सुरुमा तामाको पातामा सिसाकलमले वस्तुको स्केच बनाइन्छ । त्यसपछि पाताको पछाडिपट्टि औजारले हिर्काएर आकृति तयार पारिन्छ । आकृति बनिसकेपछि विभिन्न टुक्रा जोड्ने गरिन्छ । त्यसपछि मूर्तिमा आवश्यकताअनुसार मुगालगायत बहुमूल्य पत्थर र सुन, चाँदी, पित्तल, तामाका स–साना तारले सजाइन्छ ।


‘यसरी अन्तिम रूप दिइएको तरिकालाई बो:ज्या: भनिन्छ,’ सुरजले भने, ‘पछिल्लो समय विदेशीले कार्भिङ मात्र गरेका मूर्तिभन्दा बो:ज्या गरेको बढी रुचाउने गरेका छन् ।’


प्रदर्शनीमा थ्रीडी शैलीमा बनाइएका अष्टमातृका देवगण, भैरव, बाराही, गणेश र सिंह, उल्लुलगयातका मूर्ति पनि छन् । प्राय:ले मुकुट भन्नेबित्तिकै देवगण वा व्यक्तिका अनुहार सम्झन्छन् । प्रदर्शनीमा राखिएका मुकुट भने बेग्लै आकृतिका छन् ।


कुनै पनि देवीको मुकुटमा चाँदीको पाता हुन्छ । उनले यसैको माथिल्लो भागमा स–साना निलो, रातो पत्थर र किनारामा बुट्टा भरेका छन् । भैरवको मुकुटका आँखीभौं, कान, असर्फीको माला, मुन्द्री र दाँतमा भने निलो, रातो, कालो पत्थरले सजाइएको छ । त्यस्तै बाराहीको चारपाटे मुकुटमा त्रिनेत्रमाथि निलो पत्थर राखिएको छ । आकर्षक शिरबन्दी छ ।


सुरजका अनुसार, नेवार समुदायले विविध मण्डला बनाएर वर्षदिनभर विभिन्न देवीदेवताको पूजाआराधना गर्छन् । न्हुँदया भिन्तुना अथवा म्ह:पूजाका दिनमा विशेष मण्डल बनाएर आफ्नो आत्माको आफैं पूजा गर्छन् । अहिले मण्डलाको महत्त्वबारे युवापुस्ताको चासो घट्दै गइरहेको छ ।


यसलाई ख्याल गरेर म्ह:पूजा मण्डल पनि बनाइएको छ । हिन्दु र बौद्धमार्गीले मान्ने श्रीयन्त्र र वज्राक्षोभ्य मण्डल पनि उनले बनाएका छन् । वज्राक्षोभ्य मण्डल पञ्चबुद्धमध्ये अक्षोभ्य नामक बुद्धको हो ।


मण्डल देखेर छक्क परेका पाटनका रवीन्द्रराज ताम्राकार भन्छन्, ‘यस्तो प्रदर्शनी प्रत्येक महिना गर्नुपर्छ । यसले नेपाली कलाकृति प्रवद्र्धनमा समेत मद्दत पुर्‍याउँछ ।’


प्रदर्शनीमा बो:ज्या: कला भरिएका २५ भन्दा बढी मुकुट छन् । ड्रागन आर्ट तिब्बत र भुटानमा बढी प्रयोग हुन्छ । यो नेपाली संस्कृति पनि हो भनेर देखाउन ड्रागनको मूर्ति बनाएको सुरजले बताए । ‘गोल्डेन टेम्पल, पाटन दरबार, मठमन्दिरका झ्यालढोका र दलुचामा अहिले पनि ड्रागनको कलाकृति देख्न सकिन्छ,’ उनले भने । प्रदर्शनी सोमबार सकिँदै छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?