घेरो तोड्ने ‘घेरो’

दीपक परियार

लेखनाथ — समाज घेरैघेरोले जकडिएको छ । महिनावारी भयो, छाउको घेरो । वृद्ध र असहाय भयो, बोक्सीको घेरो । छिमेकछिमेकमा छुवाछूतको घेरो । निस्पट्ट अँध्यारोमा भूतप्रेतको घेरो । कुनै न कुनै घेरो तोड्न नसक्ने डरले हामीमा धेरथोर डेरा जमाएकै छ ।

घेरो तोड्ने ‘घेरो’

घेरो तोड्न जो खोज्छन्, तिनले कतै वाहवाही पाउँछन्, कतै बहिष्कृत हुन्छन् । रामायणमा जब लक्ष्मणले बनाइदिएको घेरोभित्रबाट सीता निस्किँदा रावणबाट अपहरित हुनुपर्‍यो, तबदेखि नै घेरो तोडदा अनिष्ट हुने एकखाले (अन्ध) विश्वासले हाम्रो मनमा घेरो कोर्‍यो ।


पोखरामा मञ्चन भइरहेको नाटक ‘घेरो’ ले समाजमा भएका यस्तै अदृश्य घेरो तोड्न सिकाउँछ । नाटकले भन्छ, ‘देखिने चामलको रेखीले मनमा बाँधेको नदेखिने घेरोबाट जबसम्म फुस्किन सकिँदैन, तबसम्म समाज अघि बढ्दैन ।’


युथ क्रिएसन थिएटरको छैटौं प्रस्तुतिका रूपमा ‘घेरो’ आएको हो । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शुक्रबारदेखि नाटक नियमित मञ्चन भइरहेको छ । केदार पौडेलको लेखन रहेको नाटकको निर्देशन कपिल शर्माले गरेका हुन् ।


अनुभवी रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरूप दिएका छन् । समाजमा व्याप्त अन्धविश्वासलाई लोकशैलीबाट नाटकमा चिरफार गर्न खोजिएको छ । नाटक स्वयंले बालन (भजन) को माध्यमबाट कथावाचन गरेर परम्परागत र समकालीन नाटकको घेरो तोडेको छ ।


कास्कीको सल्यानका गाउँपाखामा भजन गाउँदै हिँड्ने मधुसूदन पौडेलले कथावाचकका रूपमा आफैं भजन लेखेका छन् ।


पुछारघरे कान्छाका पतिपत्नी नि:सन्तान छन् । पुछारघरे कान्छा जिस्किन खुब मन पराउँछन् । पत्नीलाई जिस्क्याएरै अर्की ल्याउने घुर्की लगाउँछन् । कान्छी पनि ठुस्किएजस्तो गर्छिन् । एक दिन ससुरालीमा श्राद्ध हुन्छ । बुढाबुढी नै श्राद्धमा हिँड्ने भएपछि घर कुर्ने कोही हुँदैन । दुवैको सल्लाहमा लोग्ने परदेश गएदेखि घरमा एक्लै भएकी फुरुमैलाई बोलाउँछन् ।


घाँस काटेर फुरुमैलाई सम्झाइवरी दुवै श्राद्ध खान हिँड्छन् । श्राद्धमा राम्रै दक्षिणा मिल्छ । साँझपख घर फर्किन्छन् । कान्छीले जब घरभित्र पस्न घरक्क ढोका उघार्छिन्, तब ढोकैमा चामलको पिठोको रेखी देख्छिन् । उनका नौनाडी गल्छन् । कान्छाको होसहवास गुम्छ । तैपनि कान्छीलाई सम्हाल्छन् । घेरो नाघ्न दिँदैनन् ।


सामान्य झारफुक गर्ने डाँडाघरेले कसैले मसान उठाएर ल्याइदिएको हुन सक्ने अड्कल काट्छन् । पतिपत्नीको झन् मुटुले ठाउँ छोड्छ । केही दिनअघि छिमेकीको आँगनमा त्यसरी नै कसैले चामलको पिठोको घेरो लगाउँदा भैंसी गोठमै ठहरै भएको घटना सुनाएपछि झन् कान्छाका पतिपत्नीले केही मेलोमेसो पाउँदैनन् ।


डाँडाघरेले नै पूर्वेली झाँक्रीलाई बोलाएर मसान भगाउन सल्लाह दिन्छन् । झाँक्री आएर अनेक सरजाम जुटाउन भन्छन् । त्यसपछि उनले के गर्छन्, कसरी मसान भगाउँछन्, पुछारघरेको घरमा कसले कुन उद्देश्यले घेरो हालेको हुन्छ भन्ने थाहा पाउन नाटक हेर्नैपर्छ ।


बालनमा गीत र नृत्यको माध्यमबाट भगवान्को वर्णन हुन्छ । नाटकमा कथा भन्न बालनशैलीमा भजन मिसाएर नौलो प्रयोग गरिएको छ । मधुसूदन पौडेलको भजनले पात्रलाई स्थापित गराउन सघाउँछ । नाटकको सुरुदेखि अन्त्यसम्म मादल र मुजुरा बजाएर गाइएको भजनले गीति नाटकको झल्को दिन्छ ।


यद्यपि उक्त अवधारणा ल्याएका सरोज अर्याल यसलाई लोक नाटक नै भन्न रुचाउँछन् । यसअघि सरुभक्तको लेखन र अनुप बरालको निर्देशनमा बनेको नाटक ‘बरै’ र सरोजकै ‘वनको चरी रमाउँछ वनैमा’ मा लोक नाटय शैलीको प्रयोग भएको थियो ।


समाजमा दिनदिनै देखिए पनि सामान्य लाग्ने विषयवस्तुलाई केदार पौडेलको लेखनले गम्भीर बनाइदिएको छ । अमूक दैवीशक्ति, तन्त्रमन्त्र, लागोभागोको नाममा ठगिहिँड्नेलाई उनले गतिलै व्यंग्य गरेका छन् । उनले पात्रमा विविधता पस्कन भने सकेका छैनन् ।


नाटकमा पात्रको थर खुलाइएको छैन तर पूजाआजा, वेशभूषा, बोलीचाली हेर्दा ब्राह्मण–क्षेत्री समुदायकै कथा हो भन्ने ठम्याउन गाह्रो हुँदैन । त्यसो त उनले पहिले सर्ट मुभी बनाउने उद्देश्यले लेखेका थिए । तर, अन्धविश्वासको उजागर गर्न नाटक नै बलियो माध्यम देखे ।


ठेट बोलीचाली, पहिरन, दैनिकीको प्रस्तुतिले ग्रामीण परिवेशलाई नाटकमा दुरुस्तै उतारिएको छ । नाटकमा मंगलाचरण आरतीको प्रयोगले सांस्कृतिक पाटोलाई बलियो बनाएको छ । भजन, आरतीसहित कलाकारको नृत्य, मञ्च, ध्वजापताकाले दर्शकलाई पुराण चलिरहेको ठाउँको झल्को दिन्छ ।


पुछारघरेको घरको दैलोमा घेरो देखिएपछि नाटकमा आउने ‘टवीस्ट’ ले रहस्यात्मक बनाउँछ । अन्तिमसम्म कौतूहलता जगाइरहन्छ । कतैकतै भने नाटकलाई लम्ब्याउन भजनका टुक्का र कलाकारको अभिनयमा उही कुरा दोहोर्‍याएको पाइन्छ ।


युथ क्रिएसन थिएटरका यसअघिका नाटकमा अभिनय गर्दै आएका कपिल शर्माको निर्देशकीय जिम्मेवारी पहिलो हो । यद्यपि, उनले कथाको मर्मलाई न्याय दिन सकेका छन् । अन्धविश्वासले हाम्रो मस्तिष्कमा कसरी जरा गाडिरहेको छ र त्यसकै पछि लाग्दा कसरी ठगिनुपरेको छ भन्ने जीवन्त तरिकाले देखाउन उनी सफल छन् ।


‘अन्यत्रका विषयलाई लिएर नाटक गर्ने चलन नै चलेको छ,’ उनी भन्छन्, ‘तर हाम्रै विषयलाई हामीले कहिल्यै दह्रोसँग उठाउन सकेनौं ।’ उनले जोखिम मोलेरै लोक नाटक निर्देशन गर्न तम्सिएको बताए ।


गण्डकी क्षेत्रमा बोलिने भाषा र लवजलाई कलाकारले टपक्कै टिपेका छन् । स्थानीयताको स्वाद चखाउन नाटक सफल छ । डायलग डेलिभरीमा भने पोखराकै अग्रज रंगकर्मी प्रकाश घिमिरे, खगेन्द्र लामिछानेको प्रभाव स्पस्ट देखिन्छ ।


पुछारघरे कान्छाको भूमिकामा लक्ष्मण डुम्रे जमेका छन् । पुछारघरे कान्छीको भूमिका एनिका सापकोटाले निभाएकी छन् । फुरुमैको भूमिकामा ममता मञ्जुल र डाँडाघरेको भूमिकामा सञ्जय न्यौपाने ‘प्राञ्जल’को मिहिनेत अभिनयमा झल्किन्छ ।


झाँक्रीको भूमिकामा लेखक स्वयं प्रस्तुत छन् । उनको लवजमा ‘कबड्डी’ फिल्मका झाँक्री उपेन्द्र सुब्बाको छनक मिल्छ । रामहरि अधिकारी ‘प्रसून’ र अञ्जना पौडेलले छोटो भूमिकामा पनि छाप छोड्न सफल भएका छन् । विभु भुसालको प्रकाश परिकल्पना अब्बल छ । मञ्चको डिजाइन भने एकैखालको छ ।


युथ क्रिएसन थिएटरका सचिव सौगात पोखरेलले विगतका कमीकमजोरीलाई यसपल्ट दोहोरिन नदिएको बताउँछन् । वैज्ञानिक युगसम्म आइपुग्दा पनि अन्धविश्वासको जालो च्यातिन नसकेको सन्दर्भको शाब्दिक उपस्थिति नाटक भएको उनको तर्क छ ।


नाटक मंसिर २९ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?