कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“तटिनी” को साँचो कथा

किम्फ

काठमाडौँ — कोरिया पुगेका साथीको भतिज दुर्घटनामा परी उतै बिते । बच्चैदेखि चिनेको अनि विवाहमा सरिक भएका दृश्य अविनाश विक्रम शाहको आँखा वरिपरि डुल्यो । दु:ख बाँड्न उनी भतिजको परिवारकहाँ गए ।

“तटिनी” को साँचो कथा

त्यहाँ पुग्दा दु:खभन्दा पनि विवादका चर्का स्वरहरू गुन्जिए । कोरियाबाट आएको इन्स्योरेन्सको पैसाको आधा हिस्सा बुहारी माग्दै थिइन्, सासुससुराले मानेनन् । शोकका बेलामा पैसा माग्ने बुहारी नै गलत लाग्यो अविनाशलाई पनि । केही समयपछि ‘बुहारी त्यही घरमा बस्नुपर्ने सर्तमा पैसा सासुससुरा र बुहारीको संयुक्त खातामा राखियो’ भन्ने सुनेपछि भने अविनाश झस्किए ।


‘दुर्घटनापछि बुहारीको माग यति बेला भने मलाई सही रहेछ भन्ने लाग्न थाल्यो,’ उनले भने, ‘पहिले मैले ‘अब्जेक्टिभ पर्सपेक्टिभ’ बाट मात्रै हेरेको रहेछु । उक्त आधा रकम लिएर बुहारीले नयाँ जीवन सुरु गर्न सक्थिन् तर यो संयुक्त अकाउन्टमा पैसा राख्दा उनी बाँधिइन् । यसले मलाई झस्काइदियो ।’


उनी त्यति बेला एउटा फिल्मको स्क्रिप्ट लेख्दै थिए । लेखिरहेको फिल्म छोडेर अविनाशले यही वास्तविक कथालाई पर्दामा उतार्ने सोच बनाए । नभन्दै यही कथामा आधारित रहेर उनले सत्र मिनेटको सर्ट फिल्म ‘तटिनी’ बनाए । राजधानीमा जारी काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को पाँचौं दिन सोमबार राष्ट्रिय सभागृहमा फिल्म ‘तटिनी’ को प्रिमियर गरियो ।


फिल्मको प्रिमियरपछि बोल्दै अविनाशले यो घटना काठमाडौंको भए पनि यसलाई कपिलवस्तुको समुदायमा आधारित देखाएका छन् । अविनाशका अनुसार कपिलवस्तुमा महिलाहरूको अवस्था पितृसत्तात्मक सोचका कारण तल नै छ र त्यहाँका धेरै युवा बाहिर काम गर्न गइरहेका छन् ।


कथा मिल्दोजुल्दो भएकोले कपिवस्तुको सानो मधेसी समुदायलाई छानेको उनी बताउँछन् । ‘पति मरेपछि उनको पैसामा पत्नीको अधिकार लाग्छ । ‘तर मुलुकको राजधानी मै महिलाहरूलाई गाह्रो छ, तराईको कल्पना त गर्नै सकिन्न,’ उनले भने । उनको फिल्ममा तराईको जनविश्वास र परम्परालाई देख्न सकिन्छ । कोरियाको बुसान र स्विट्जरल्यान्डमा यो फिल्म देखाइसकिएको छ ।


अविनाशले फिल्म ओपन इन्डेड मै छोडेका छन् । अविनाशका अनुसार स्क्रिप्ट लेख्दै गर्दा उनले कथालाई

ह्याप्पी इन्डिङ दिएका थिए । ‘तर वास्तविकतामा भने ह्याप्पी इन्डिङ भएको थिएन,’ उनले भने, ‘इडिटिङका क्रममा फिल्मको इन्डिङ राम्रो देखायो भने परीको कथा लेखेजस्तो, नराम्रो देखायो भने डिप्रेसनवाला फिल्म गरिरहेको जस्तो लाग्छ भनेर ओपन इन्डेडमै टुंग्याइदिएँ ।’


फिल्ममा ससुराका रूपमा दीपक क्षेत्री छन् भने बुहारीको भूमिका महिमा नौबागले निभाएकी छन् । फिल्मको पात्र चयन पनि रोचक छ । यसको सम्बन्ध अघिल्लो किम्फको कथासित जोडिन्छ । ‘त्यति बेला मीन भामको ‘कालो पोथी’ प्रिमियर भइरहेको थियो, मैले दिपक दाई निधारमा हात राखेर बस्नुभएको देखें’, अविनाशले भने, ‘उहाँमै मैले आफ्नो फिल्मको पात्र देखेँ । अनि फिल्ममा उहाँ जोडिनुभयो ।’


फिल्मको चार निर्मातामध्ये एक अनुप पौडेल अविनाशको सर्ट फिल्म ‘म खुसी छु’ मै पनि जोडिएका थिए । फिल्मका माध्यमबाट समाजका कुराहरू बाहिर ल्याउने पक्ष रोचक लागेकोले यो फिल्मसित पनि आफू जोडिएको उनले बताए । लगानी गर्दै गर्दा कतै सुरक्षित नहुने होकी भन्ने चिन्ता पनि निर्मातालाई लाग्नु स्वाभाविक हो । हरेक फिल्म बनाउन रिस्क हुने उनको दाबी छ । ‘राम्रो फिल्म बनाए रिस्क कम हुन सक्छ,’ उनले भने, ‘त्यसका लागि मानिसमा फिल्म लिटरेसी बढाउनु जरुरी छ ।’


फिल्ममा बेनी वाबा तामाङले पहिरन र मेकअप डिजाइन गरेकी हुन् । सुटिङका क्रममा फिल्मका मुख्य पात्र दीपक र महिमालाई कपिलवस्तुको गाउँलेका रूपमा ढाल्न उनले गरेको अनुभव भिन्नै छ । ‘पात्रहरूलाई कालो देखाउनका लागि लगाएको आइस्याडोमा ग्लिटर भएकोले टल्कियो,’ उनले भनिन्, ‘त्यसैले हामीले काठको कालो गोल पिधेर अनुहारमा मेकअप गरिदियौँ ।’


सुटिङका क्रममा कपिलबस्तुको उक्त गाउँमा उनी दुई दिन त रोइन पनि । उनले एक महिलाको खुट्टाको फोटो खिच्दा पतिपत्नीबीच झगडा भएर घर नै जल्ने स्थितिमा पुगेको सम्झिँदा अहिले पनि उनको मुटु ढक्क फुलेर आउँछ । ‘त्यहाँका पुरुषहरूको सोच साँघुरो रहेछ,’ उनले भनिन् ।


सोमबार फेस्टिभलमा ‘तटिनी’ का साथै ‘अनडिस्कभर्ड’, ‘टियर्स अफ रेन’, ‘वेल्नाइकी’, ‘भियाक्रुसिस’, ‘सबवे कम्युट’, ‘द ग्रेट मुखिया’, ‘छिद्र’, ‘पोस्ट अर्थक्विक’, ‘टियरा डेल भियन्टो’, ‘सोलो इन भोलो’, ‘गत्लाङ’, ‘फोर आवरर्स’, ‘टुमरो अर हेन ?’ लगायत फिल्म देखाइए । फेस्टिभल मंगलबारसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?