कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अफगानी कथा अब्बल

काठमाडौँ — अफगानी फिल्म निर्देशक सहारा मनीले बनाएको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ मा आफ्नै बाबुबाट बलात्कृत छोरीले न्यायका लागि गरेको संघर्ष समावेश छ ।

अफगानी कथा अब्बल

यौन दुर्व्यहार र बलात्कारको मुद्दा दायर गरेपछि उनलाई परिवार र समाजले बहिष्कार गर्छ । वर्षौंदेखि बाबुको अत्याचार सहेकी महिलाको भित्री व्यथा खिच्न सफल यही डकुमेन्ट्री फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अन्तर्राष्ट्रिय विधातर्फ पहिलो अवार्डसहित सर्वाधिक १५ सय अमेरिकी डलर पुरस्कार पाएको छ ।


भुटानी परिवारको कथामा आधारित ‘द नेक्स्ट गार्जियन’ र सय वर्षअघिका एक फिनिस भाषाविद्माथि बनाइएको ‘इस्टर्न मेमोरिज’ अन्तर्राष्ट्रिय विधातर्फ क्रमश: दोस्रो र तेस्रो उत्कृष्ट फिल्म बने । दोस्रो हुनेलाई १ हजार र तेस्रोलाई ५ सय अमेरिकी डलर प्रदान गरियो ।


‘फिल्म सकिएपछि पनि यसका प्रमुख पात्रबारे हामी सोचेका सोच्यै भयौं,’ निर्देशक छिरिङ रितार शेर्पाले दोस्रो हुने फिल्मबारे भने, ‘तिनलाई निकै सहानुभूतिपूर्वक र उदारतासाथ प्रस्तुत गरिएको थियो ।’ ‘द नेक्स्ट गार्जियन’ का निर्देशकद्वय अरुण भट्टराई तथा दोरोत्यो जुर्बो र ‘इस्टर्न मेमोरिज’ का निकलस कुलस्ट्रम तथा मार्ती कार्तिनेनले ट्रफी ग्रहण गरे ।


नेपाली फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको ‘नेपाल पानोरामा’ विधातर्फ यसपालि २० फिल्म प्रतिस्पर्धामा थिए । तीमध्ये अविनाशविक्रम शाहको लेखन तथा निर्देशनमा बनेको ‘ततिनी : द मुन इज ब्राइट टुनाइट’ लाई बेस्ट फिक्सन फिल्म अवार्ड प्रदान गरियो ।


वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका युवाका बाबु र श्रीमतीबीच बिमाबापत् पाइने रकममा हुने विवाद र त्यसको समाधानका लागि अपनाइने परम्परागत उपाय फिल्ममा देखाइएको छ । फिल्मले शाहलाई पुरस्कारबापत् १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिलायो ।


यही विधाअन्तर्गत विद्या चापागार्इं र कमल कुमारले तयार पारेको ‘मरिसकेको मान्छे’ लाई बेस्ट डकुमेन्ट्री अवार्ड दिइयो । यसमा पनि वैदेशिक रोजगारीमा गएका परिवारको व्यथा छ । फिल्मले निर्देशकद्वयलाई ७५ हजार रुपैयाँ दिलायो ।


विद्याले किम्फ डक ल्याब लाइभ पिचमा पनि आफ्नो कन्सेप्ट सुनाएर २ हजार पाउन्ड जितेकी थिइन् । अशिन पौडेलको ‘द ग्रेट मुखिया’ लाई जुरीले स्पेसल मेन्सन अवार्ड प्रदान गरेको थियो । साइलेन्ट सिनेमाका मास्टर चार्ली च्यापलिनप्रति समर्पित फिल्मले नौलो भिजुअल स्टायलमा नेपाली कथा प्रस्तुत गरेको जुरीको भनाइ थियो ।


इसिमोडले प्रायोजन गरेको माउन्टेन फिल्म अवार्ड ‘एन अन्सर्टेन विन्टर’ का लागि भारतीय निर्देशक मुनमुन धलरियालाई १ हजार अमेरिकी डलरसहित पुरस्कृत गरियो ।


एक्लै डोल्पा घुम्न गएकी काठमाडौंकी प्रशुना डंगोलले आफ्नो यात्रालाई क्यामेरामा कैद गरेकी थिइन् । झन्डै एक महिना एक्लै हिँड्दाका भोगाइलाई ‘डोल्पा डायरी’ मा इमानदारीसाथ प्रस्तुत गरेको भन्दै अस्ट्ेरलियन फिल्ममेकर जोलियन हफले डंगोलको प्रशंसा गरे । यही फिल्मलाई १ हजार अमेरिकी डलरको बेस्ट एड्भेन्चर माउन्टेन फिल्म अवार्ड प्रदान गरियो ।


फिल्मकर्मी क्लेयर कार्टर, जोलिन होफ र छिरिङ रितार शेर्पाको निर्णायक टोलीले उत्कृष्ट फिल्म छानेको थियो । पब्लिक च्वाइसतर्फ भने शेनाङ मुगुमको ‘सुपरमंक’ ले सर्वाधिक भोट पाएर ५० हजार रुपैयाँ पुरस्कार पायो । ‘मैले जित्छु भनेर अस्ति नै थाहा थियो,’ भिक्षु भेषमा उपस्थित निर्देशक मुगुमले ठटयौली गरे, ‘दर्शकहरू छसात चोटि हाँस्नुभएको थियो नि !’


किम्फले यस पालि समावेश गरेको ‘ट्राभल इज एन एटिच्युड’ विधाअन्तर्गत सुजन गौतमको ‘मी एन्ड माई इन्डेभियर’ फिल्म उत्कृष्ट घोषित हुँदै २५ हजार रुपैयाँ जित्न सफल भयो ।


शुक्रबार सुरु भएको किम्फमा यसपालि ७० भन्दा बढी फिल्म देखाइए । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा महोत्सव गरिएको थियो । त्यहाँ फिल्मसम्बन्धी छलफल, आइडिया पिचिङ, फोटो प्रदर्शनी लगायत कार्यक्रम पनि समाविष्ट थियो ।


विभिन्न देशका फिल्मकर्मीहरू भेला भएका थिए । ‘विमेन मुभ माउन्टेन’ थिममा भएकाले यसपालि महिलासम्बन्धी विषयवस्तुले प्राथमिकता पाए । फिल्म अवार्ड जित्नेमा पनि महिलाको बाहुल्य देखियो ।


अन्तर्राष्ट्रिय विधा

पहिलो : अ थाउजन्ड गल्र्स लाइक मी

दोस्रो : द नेक्स्ट गार्जियन

तेस्रो : इस्टर्न मेमोरिज


नेपाल पानोरामा

बेस्ट डकुमेन्ट्री : मरिसकेको मान्छे

बेस्ट फिक्सन फिल्म : ततिनी : द मुन

इज ब्राइट टुनाइट

द ग्रेट मुखिया : स्पेसल मेन्सन अवार्ड


अडियन्स अवार्ड

सुपरमंक


इसिमोड माउन्टेन फिल्म अवार्ड

एन अन्सर्टेन विन्टर


बेस्ट एड्भेन्चर माउन्टेन फिल्म अवार्ड

डोल्पा डायरी


सर्ट फिल्म अवार्ड

मी एन्ड माई इन्डेभियर

प्रकाशित : मंसिर २६, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?