भुटानमा पनि छ बलिउड प्रभाव

बलिउडको जस्तै मसलेदार फिल्म हेर्ने बानी भएकोले भुटानी दर्शक बेग्लै खालको फिल्म मन पराउँदैनन् । 
फिल्मको विषय र प्रस्तुतिमाथि प्रश्न गर्नु त निकै परको कुरा हो ।अरुण भट्टराई, भुटानी फिल्मकर्मी 

काठमाडौँ — एक हजार वर्ष पुरानो गुम्बा । यसलाई स्याहार्दै पुख्र्यौली सम्पदाको सम्मान गरौं कि आफ्नो इच्छा पोखिएको फुटबललाई समय दिउँ ? यस्तै दोसाँधमा छ भुटानको एउटा परिवार ।

भुटानमा पनि छ बलिउड प्रभाव

यही परिवारको कथाव्यथा समेटिएको डकुमेन्ट्री फिल्म ‘द नेक्स्ट गार्जियन’ ले काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा दोस्रो अवार्ड थाप्दै गर्दा भुटानी फिल्मकर्मी अरुण भट्टराईको मुहारमा भिन्न चमक थियो ।


उनी किन पनि दंग थिए भने, बाबुबाजेले कहिल्यै नसोचेको क्षेत्रमा उनलाई सफलता मिल्दै थियो । आफ्ना पुख्र्यौली जिम्मेवारीबाट निस्केर भारतदेखि युरोपेली मुलुकसम्म चाहर्दै हिँडदा उनी फिल्मकर्मी बने ।


उनले बनाएको डकुमेन्ट्रीमा पनि पुस्तान्तरणकै कथा छ । पुख्र्यौली रूपमा गुम्बाको जिम्मेवारी सम्हाल्दै आएको परिवारमा अबको युवा पुस्ताले फरक धार समात्ने इच्छा दर्शाएपछिको कथालाई उनले कैद गरेका छन् ।


डकुमेन्ट्रीको युवा पात्रमा गुम्बा सम्हाल्ने जिम्मेवारी एकातिर हुन्छ भने फुटबल खेल्ने इच्छा एकातिर । ‘भुटान मात्र हैन, यो संसारभरकै समस्या बन्दै छ,’ उनले भने, ‘आधुनिकताले पुस्तान्तरणको ठूलो खाडल पैदा गराउँदै छ । परिवर्तन क्रममा यो स्वाभाविक पनि छ ।’


कुनै समय उनका पुर्खा नेपालकै झापा गौरादहमा थिए । बुबा भुटानमा जन्मिए । उनलाई पनि परिवारले डाक्टर बनाउन चाहन्थे तर उनी लागे फिल्मी क्षेत्रमा । उनको यही डकुमेन्ट्रीले इटाली, हंगेरी र रूसमा बेस्ट सिनेमाटोग्राफी, बेस्ट डकुमेन्ट्रीजस्ता अवार्ड पाइसकेको छ ।


अरुण प्राय: युवासम्बन्धी डकुमेन्ट्री बनाउँछन्, शैली चाहिँ अवलोकनात्मक अपनाउँछन् । पात्रहरूको साँचो कथा पस्किँदै पात्रहरूलाई नै कथा भन्न लगाउने उनको स्टाइल छ । ‘पात्रहरूलाई इन्टरफेयर नगरी बोल्न दिन्छु,’ उनले भने, ‘उनीहरूको वेदना, पीडा र खुसी डकुमेन्ट्रीमा देखाउँदा दर्शकको मनमा छुन्छ जस्तो लाग्छ ।’


अरुणका अनुसार भुटानमा वर्षको १० वटाजति कमर्सियल फिल्म बन्छन् । स्वतन्त्र फिल्म तीन वटाजति बन्छन् । डकुमेन्ट्री खासै बन्दैनन् । फिल्मका विषय बुद्धिस्ट मिथ र पुराना लभ स्टोरीमा आधारित हुन्छन् । भुटानमा फिल्म फेस्टिभलहरू आयोजना हुँदैनन् । न त फिल्मबारे सिकाउने विद्यालय नै ।


‘यहाँ बन्ने फिल्महरू पनि पुरै बलिउडको सिकोमा बन्छन्,’ उनले भने, ‘दर्शकमा त्यही फिल्मको प्रभाव छ । बलिउडको जस्तै मसलेदार फिल्म हेर्ने बानी भएकोले दर्शक बेग्लै खालको फिल्म मन पराउँदैनन् । फिल्मको विषय र प्रस्तुतिमाथि प्रश्न गर्नु त निकै परको कुरा हो ।’


तैपनि उनी विस्तारै यो परिपाटी परिवर्तन हुनेमा आशावादी छन् । उनका अनुसार भुटानका फिल्ममेकर आफ्नै लगानीमा वा ऋण गरेर फिल्म बनाउँछन् । सरकारले सहुलियतमा ऋण पनि उपलब्ध गराउँछ फिल्मका लागि ।


एक दर्जन थिएटर छन्, फिल्म बोर्ड र सेन्सर बोर्ड पनि छ । तैपनि उनका अनुसार भुटानी फिल्म उद्योग व्यावसायिक हुन सकेको छैन । धेरैले फिल्म गाउँगाउँका विद्यालयमा निश्चित शुल्कमा आफैं प्रोजेक्टरका माध्यमबाट देखाउँदै हिँड्छन् । बाहिरी फिल्ममेकरहरू खासै आउँदैनन् ।


उनका अनुसार भुटानमा एक दिन फिल्म खिच्न दुई सय पचास डलर तिर्नुपर्छ र त्यसमा रोयल्टी छुट्टै लाग्छ । तैपनि वर्षमा एकाध विदेशी फिल्महरू बन्ने गरेका छन् । विदेशी फिल्ममेकर आफ्नो देशमा आएर फिल्म नबनाएकोमा उनलाई चाहिँ फाइदा नै हुन्छजस्तो लाग्छ । ‘हामी आफ्नो कथा आफैं देखाउन पाउँछौँ, नि,’ उनले भने, ‘हामीले जति राम्रोसित हाम्रा समाज विदेशीले बुझेका हुन्नन् ।’


भारतमा फिल्म पढेका उनी माध्यमका हिसाबले डकुमेन्ट्री नै ठीक मान्छन् । २१ वर्षको उमेरमा भुटान फिरेपछि भिडियोसम्बन्धी ज्ञान भएकाले सिधै राष्ट्रिय टेलिभिजनमा जागिर पाए । त्यो समयमा समाजका सत्य कथालाई भिडियोमा उतारेर टीभीमा प्रस्तुत गर्न थाले । छ वर्ष यस्तै काम गरेपछि उनलाई लाग्यो, ‘डकुमेन्ट्रीमा झनै कलात्मक रूपमा देखाउन मिल्दो रहेछ ।’


टेलिभिजनको जागिर छोडेर फिल्ममा स्नातकोत्तर गर्न युरोप गएका उनले पोर्चुगल, हंगेरी, बेल्जियम लगायतबाट धेरै अनुभव लिए ।


‘शिक्षकले मात्रै नभई कक्षामा भेटिएका साथीहरूबाट पनि धेरै सिकियो,’ उनले भने, ‘त्यो अनुभव लिएर आएर भुटानमा डकुमेन्ट्री बनाउन थालेँ ।’ भुटानमा नयाँ पुस्ताले मौलिक विषय समातेर फिल्म निर्माण गर्नुपर्ने उनको विचार छ ।


‘बलिउडबाट प्रभावबाट निस्केर आफ्नै फेस बनाउन चाहिँ केही समय लाग्छ होला,’ आफ्नो डकुमेन्ट्रीले दोस्रो स्थान हासिल गरेबापत एक हजार डलरको अवार्ड थापेका उनले भने, ‘आशा गरौं ।’

प्रकाशित : मंसिर २७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?