सुन्तला महोत्सवमा बाह्रहाते पटुकी

कोलकाता, भारत — निवेदिता दाहाल उमेरमा सानै छिन् । झापाको धुलाबारीमा उनी ४ कक्षा पढ्छन् । तर भारतको कोलकातामा आयोजित हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलमा जसै उनले ‘नेपालकी छोरी हुँ म...’ भन्दै कौशल देखाइन्, मध्य सहरको साल्टलेक सिटी सेन्टर तालीले गुन्जियो ।

सुन्तला महोत्सवमा बाह्रहाते पटुकी

सानी भए पनि नृत्यमा उनले देखाएको छरितोपन धेरैले रुचाए । सिक्किम, दार्जिलिङ, कालिम्पोङदेखि भेला भएका नेपालीभाषीले त मन नपराउने कुरै भएन !


नेपालका तर्फबाट आठ जनाको सांस्कृतिक टोलीमा थिइन् उनी । उनको टोलीले एक दर्जनभन्दा बढी गीतमा एकल र संयुक्त नृत्य प्रस्तुत गर्‍यो । पूर्वको पर्यटकीय थलो इलाम सम्झाउने ‘चियाबारीमा...’ देखि ‘डाली डाली फूल फुल्यो...,’ ‘आज बार्‍हहाते पटुकीको कुरा गर मायालु...’ जस्ता गीतमा यो टोलीले राम्रो छाप छोड्यो । नेपाल, भारत, भुटानदेखि बंगलादेशसम्म ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने र कृषि उपजको प्रचारप्रसार गर्ने उद्देश्य बोकेको फेस्टिभलमा नेपाली टोली लगातार तीन दिन प्रस्तुत भयो ।


ग्रिन जेनेरेसन झापाको सहकार्यमा यो टोलीले फेस्टिभलमा सहभागिता जनाएको हो । ग्रिनका अध्यक्ष अर्जुन कार्कीका अनुसार साल्टलेकस्थित सिटी सेन्टरमा सबैभन्दा बढी मानिसको आवागमन हुने थलो हो । ‘पछिल्लो समय नेपालमा भारतीय पर्यटकको संख्या बढदो छ,’ ग्रामीण पर्यटनका अभियन्ता कार्कीले भने, ‘उनीहरूलाई गाउँसम्म तानेर सांस्कृतिक पर्यटनको स्वाद पनि चखाउनुपर्छ । त्यसका लागि यस्तो महोत्सवको भूमिका ठूलो हुन्छ ।’


फेस्टिभलमा पूर्वी नेपालका इलाम, धनकुटा, भोजपुर हुँदै भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङका सुन्तला र तिनका परिकार दिनभरि नियाल्ने र साँझ परेपछि संगीतमा झुम्ने माहोल मिलाइएको थियो ।

महोत्सव उद्घाटन र समापनमा दौरा, सुरुवाल, ढाका टोपी, चौबन्दी चोली र गरगहना प्रदर्शनीसँगै इलामको युनिभर्सल डान्स सेन्टरका कलाकारले आकर्षक नृत्य देखाएका थिए ।


उनीहरूले दर्शकदीर्घाबाट पटकपटक ‘वान्स मोर’ पाए । प्रस्तुतिमध्ये नेपाली नौमती बाजासहितको नृत्य निकै लोभलाग्दो थियो । बंगालीभन्दा पनि नेपाली भाषीको बाहुल्य आभास दिलाएको फेस्टिभलमा सिक्किमका भूमिका सुब्बा र किशोर सुब्बाले नेपाली गीत गाएका थिए भने कालिम्पोङका कलाकारले देउसीभैलो नै खेले । स्टेजमा तिहारको माहोल सिर्जना भयो । अर्को प्रस्तुति तामाङ सेलोको थियो ।


यसले विविधताका बीच पनि नेपालीहरू कसरी एउटै धागोमा बाँधिएका छन् भन्ने पुष्टि गरेको थियो ।

‘संस्कृति र कलाले मानिसलाई एकअर्कामा नजिक तुल्याइदिन्छन्,’ महोत्सव आयोजक राज वसुले भने, ‘पर्यटन प्रवद्र्धनको त यो अचुक माध्यम हो । छिमेकी मुलुकलाई सांस्कृतिक रूपमा जोड्न पनि फेस्टिभल गरेका हौं ।’

प्रकाशित : मंसिर २८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?