कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कथा ग्रिसेली अभिनय नेपाली

पर्वत पोर्तेल

बहरामपुर, भारत — ग्रिसेली कथामा आधारित नाटक ‘एन्टिगोनी’ पश्चिम बंगालको बहरामपुरमा बुधबार साँझ मञ्चन गरियो । बहरामपुरको रवीन्द्र सदनमा जारी ‘ऋत्विक अन्र्तराष्ट्रिय नाटक महोत्सव’ मा यो नाटक नेपालका तर्फबाट छानिएको हो ।

कथा ग्रिसेली अभिनय नेपाली

मण्डला थिएटरको प्रस्तुति रहेको नाटकले बंगाली दर्शकको मन जित्यो । करिब डेढ घण्टा लामो नाटक नसकिउन्जेल उनीहरू टसमस नगरी बसे । ‘नाटक राम्रो लागेन भने दर्शकहरू विस्तारै निस्किन्थे,’ ऋत्विक थिएटरका निर्देशक विप्लव देवले भने, ‘तर एन्टिगोनीले दर्शकलाई तानेर राख्यो ।’


भारतमा नेपाली भाषाको ‘एन्टिगोनी’ को यो तेस्रो मञ्चन थियो । यसअघि थिएटर ओलम्पिकमा असमको गुवाहाटी र नयाँदिल्लीमा यो देखाइएको थियो ।


परिस्थितिको तत्काल सही मूल्यांकन गर्न नसक्दा गलत निर्णय लिन पुगेका घमण्डी शासकले आफ्नो अहंका कारण धेरै महत्त्वपूर्ण उपलब्धि गुमाउन बाध्य हुन्छन् । ‘एन्टिगोनी’ मा त्यस्ता पुरुष शासकलाई चुनौती दिँदै विवेकका लाागि विद्रोह गर्ने एउटी नारीको कथा छ, जुन ईसापूर्व ४४१ तिरको ग्रिसको हो । विद्रोही नारी एन्टिगोनीको भूमिका सिर्जना सुब्बाले गरेकी छन् । सन्की राजाको भूमिकामा छन् विजय बराल ।


राजन खतिवडा निर्देशित नाटक सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका छन् । नाटकमा उमेश तामाङ, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, रञ्जना ओली, विकास जोशी, पशुपति राई, मिलन कार्की, अनुजा अधिकारी, पुष्कर कार्की, विक्रम श्रेष्ठ, किरण श्रेष्ठ र सागर दाहालले पनि अभिनय गरेका छन् ।


नेपाली नाटक हेर्न रवीन्द्र भवनमा दर्शकको बाक्लो भीड थियो । पहिलो पटक नेपाली नाटकको स्वाद चाख्ने मौका पाएकी पल्लवी दत्तले भाषा बुझ्न नसके पनि नाटक बुझ्न समस्या नभएको बताइन् । भनिन्, ‘नाटकको प्रस्तुति राम्रो छ । यति राम्रो होला भन्ने अपेक्षा थिएन ।’


बहरामपुरकै पुरानो र अगुवा नाट्य समूह हो ऋत्विक । यहाँ करिब डेढ दर्जन नाटय टोली छन् । सन् २००१ देखि ऋत्विकले नाटक महोत्सव गर्न थालेको हो । यसअघि पनि धेरै नेपाली नाटक टोली सहभागी भइसकेका छन् । मुलत: बंगलादेशी र नेपाली नाट्य टोलीले वर्षेनि सहभागिता जनाउने गरेका छन् यो महोत्सवमा ।


गत वर्ष नर्बे, ब्राजिल, जर्मनी लगायतबाट पनि नाटक टोली आएका थिए । आयोजक समितिका संयोजक तथा रंगकर्मी मोहित बन्धु अधिकारीले भारत, बंगलादेश, नेपालसहित अन्य मुलुकबीच भ्रातृत्व र प्रेम साटासाट गर्न महोत्सव आयोजना गर्ने गरिएको सुनाए ।


नाटक सकिएपछि आयोजकले ‘एन्टिगोनी’ का कलाकारहरूलाई प्रेमको प्रतीक मानिने रातो गुलाब उपहार दिएका थिए । बदलामा नेपाली टोलीका तर्फबाट राजनले ढाका टोपी टक्रयाएका थिए । ‘आ–आफ्नो देशको संस्कृति र कला साटासाट गर्ने माध्यम हो यो,’ अधिकारीले भने, ‘यस्ता गतिविधिले हाम्रो सम्बन्ध सधैं प्रगाढ भइरहनेछ ।’


मंसिर २३ मा सुरु महोत्सव अझै एक सातासम्म चल्नेछ ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?