कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाबाट भेष डान्स

काठमाडौँ — सेतो पहिरनमा सजिएका कलाकारले ‘भेष डान्स’ देखाए । यो श्रीलंकाको राष्ट्रिय नाच हो । यसमा भगवान् बुद्धको करुणा अभिव्यक्त गरिन्छ । शुद्धीकरण संस्कार ‘कोहोम्ब याकुमा’ का अवसरमा नाचिने भए पनि यो अचेल स्वागत नृत्यमा परिणत भएको छ । यही नाच शुक्रबार काठमाडौंमा प्रस्तुत गरियो । 

श्रीलंकाबाट भेष डान्स

सार्कस्तरीय परम्परागत नृत्य महोत्सवका अवसरमा श्रीलंकाली समूहको भेष डान्सलाई नेपाली र भारतीय कलाकारले पनि प्रस्तुत गरे । तीन देशका कलाकार एक–अर्काको गीतमा नाच्दाको क्षण आकर्षक थियो । नेपाल, भारत र श्रीलंकाको नृत्य समूहले टप्पा, कत्थक र भेष डान्स एकसाथ प्रस्तुत गर्दा दर्शक रमाए ।


‘हाम्रो संस्कृतिमा हाम्रो हृदय बसेको हुन्छ,’ कोलोम्बोस्थित सार्क सांस्कृतिक केन्द्रकी उपनिर्देशक किसानी जयसिंघे विजयसेकरले भनिन्, ‘एक–एर्काको हृदय बुझ्न एकअर्काको संस्कृति बुझ्नुपर्छ । सांस्कृतिक आदनप्रदानका लागि यो महोत्सव गरेका हौं ।’ मंसिर २५ देखि चार दिन चलेको महोत्सवमा बंगलादेश पनि सहभागी थियो । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार चार सार्क राष्ट्रका ४१ कलाकारले आ–आफ्ना परम्परागत नाच देखाए ।


नेपालले टप्पासँगै सोरठी, झागड र तामाङ सेलो प्रस्तुत गर्‍यो । संस्कृति मन्त्रालय र सार्क सांस्कृतिक केन्द्रले गरेको महोत्सवमा भारतको टोलीले कत्थकलगायत अन्य लोक तथा शास्त्रीय नाच देखायो । सहभागी कलाकारहरूबीच अन्तरक्रिया गराइएको थियो ।


उनीहरूलाई नेवारी नृत्य देखाउनुका साथै सुकुल भोजमा समेत सरिक गराइएको थियो । संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालित चार दिने महोत्सवको उद्घाटन गरेका थिए ।समारोहमा बंगलादेश लगायत सार्क राष्ट्रका राजदूत उपस्थित थिए ।

प्रकाशित : पुस १, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?