कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘क्याप्टेन’ सँगै अब ‘द ब्रेकअप’

काठमाडौँ — यसअघि पुस २७ लाई रिलिज मिति घोषणा गरेको भए पनि फिल्म ‘द ब्रेकअप’ अब भने फागुन १७ मा आउने निश्चित भएको छ ।

‘क्याप्टेन’ सँगै अब ‘द ब्रेकअप’

सोही मितिमा अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ पनि लाग्दै छ भने ‘जात्रै जात्रा’ पनि फागुन १७ मै रिलिज गर्ने गरी सुटिङमा गएको थियो । तर उक्त फिल्मका मुख्य अभिनेता विपिन कार्कीको सवारी दुर्घटनामा परी केही समय आराम गर्नुपर्ने अवस्था आएपछि रिलिज अनिश्चित बनेको छ । यस्तोमा ‘क्याप्टेन’ सँगै अब आशिरमान देशराज जोशी अभिनीत ‘द ब्रेकअप’ आउने भएको हो ।


‘फिल्म राम्रो बनाउन मिहिनेतसँगै केही समय पनि लाग्ने देखियो । फिल्मको मुख्य पाटोको रूपमा २० प्रतिशत भीएफएक्सको काम छ । यसलाई सकाउन पनि समय लाग्ने भयो,’ फिल्म ‘द ब्रेकअप’ का निर्देशक हेमराज बिसीले कान्तिपुरसँग भने, ‘त्यसैले पनि यसअघि भनिएको पुस २७ मा फिल्म तयार पार्न नसकिने भयौं । अब फागुन १७ बाहेक रिलिज गर्ने उपयुक्त मिति देखेनौं ।’


उक्त मितिमा पर्याप्त बिदा भएको र बजारले दुई नेपाली फिल्म धान्ने ठानेरै ‘क्याप्टेन’ सँगै आउँदा समस्या नपर्ने उनले बताए । भने, ‘हामीले ‘क्याप्टेन’ सँग जुधाउन खोजेको हैन । बरु सँगसँगै आउँदा दुइटै फिल्मलाई राम्रो हुन सक्छ । एउटा फिल्म हेर्ने दर्शकले अर्को पनि हेर्न सक्छन् ।


पहिलेको मितिमा पनि हामीसँग ‘चौका दाउ’ थियो नै । यो मितिमा ‘क्याप्टेन’ हुने भयो । एक्लै आउँछु भन्नका लागि मिति पनि छैन ।’ ठूलो लगानीका कारण फिल्म धेरै पछाडि सार्न पनि नसकिने भएकाले फागुनभन्दा पछाडि जान नसकिएको बिसीले बताए ।


निर्देशक दिवाकर भट्टराईले स्पोर्टस् जानराको ‘क्याप्टेन’ मा अनमोललाई फुटबलरको रूपमा उतार्न खोजेका छन् । उनको अपोजिटमा दुई डेब्यु गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् भने हेमराजको लभस्टोरी जानराको ‘द ब्रेकअप’ मा आशिरमानको अपोजिटमा पनि डेब्यु गर्ल शिल्पा मास्के रहेकी छन् ।


हेमराजले ‘होस्टेल’ मार्फत अनमोललाई सफल डेब्यु गराएका हुन् भने ‘जेरी’ र ‘गाजलु’ मा पनि दोहोर्‍याएका थिए । रूपक थापा, रेणु राणा, दीपक खतिवडा र निर्देशक बिसीकै लगानी रहेको ‘द ब्रेकअप’ मा आशिरमान र शिल्पासहित रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको पनि

अभिनय रहेको छ । उक्त फिल्मको यसअघि नै ‘आज हाम्रो भेट भाको दिन...’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

प्रकाशित : पुस १, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?