२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘अभिनयले यथार्थ बिगार्छ’

‘कुनै पनि पात्रलाई पर्सनल्ली धेरै सोचेर काम गर्नु हुन्न । तर केही समयका लागि त्यस्तै वास्तविक पात्रबारे सोचेर नाटक गर्दा प्राकृतिक देखिन्छ ।’

काठमाडौँ — केही महिनाअघि नेपाली रंगमञ्चमा एउटा नाटक प्रस्तुत गरियो– ‘साना वृत्तका कमिलाहरू’ । फरक शैलीको नाटकलाई नेपाली दर्शकले राम्रै रुचाए ।

‘अभिनयले यथार्थ बिगार्छ’

नाटक निर्देशन गरेकी थिइन् नेदरल्यान्डकी रंगकर्मी लिमा रुडले । यति बेला उनै लिमा नेपाली युवा रंगकर्मीहरूलाई अभिनयको भिन्न पाटो सिकाइरहेकी छन् ।


‘अभिनय नगरी केवल संवाद बोल्नुस्, किनकि बोलाइको शैलीले संवादको भाव झल्किनुपर्छ । अनि मात्रै त्यो भाव आँखा हुँदै दर्शकसम्म पुग्छ,’ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार उनी बारम्बार यही वाक्य दोहोर्‍याइरहेकी थिइन् । उनको जोड थियो, खुसी र पीडाको परिस्थितिमा पनि अभिनयबिनै संवाद बोल्ने अभ्यास गराउने ।


एक सातादेखि एक दर्जन युवा नाट्य कर्मीहरूलाई लिमाले कार्यशाला दिइरहेकी छन् । लिमाका अनुसार ‘कहिलेकाहीँ संवाद बोलिरहँदा अभिनय गर्नु जरुरी हुँदैन ।’


जसरी मानिसले वास्तविक जीवनका भोगाइ सुनाउँदा अभिनय नगरी नै बोल्छ, त्यो बोलाइको शैली भिन्न र यथार्थ हुन्छ । ठीक त्यसरी नै कलाकारले पनि कहिलेकाहीँ अभिनयभन्दा बढी संवादलाई खेलाउनुपर्ने हुन्छ परिस्थितिको यथार्थ प्रस्तुत गर्न । यसो भयो भने सामान्य मानिसको पनि मन छुने उनको ठहर छ ।


कतिपय नाटकहरू संवादप्रधान हुन्छन् । छोटा/लामा संवादको भाव फरकफरक हुन्छन् । अभिनय चक्करतिर लाग्दा कलाकारले बोलेको संवादको भाव दर्शकमाझ नखुल्ने गरेको लिमाको अनुभव छ । तर अभिनय नै गर्नुहुँदैन भन्ने चाहिँ लिमाको मत हैन । नाटकमा अभिनय त अनिवार्य छँदै छ ।


कार्यशालाको छैटौं दिन आइतबार लिमाले रिसाहा प्रकृतिको परिस्थिति दिएर कलाकारहरूलाई संवाद बोल्न लगाइन् । कलाकारलाई आफ्नो वास्तविक जीवनका शत्रु वा नराम्रा पात्रहरूलाई सम्झिँदै पालैपालो संवाद बोल्न थाले । फेरि उनले खुसीको परिस्थितिमा पनि आफ्नो कोही अनन्य मित्रलाई दिमागमा राखी त्यस्तै भूमिका निभाउन अह्राइन् । कलाकारहरू लिमालाई अनुसरण गर्दै संवाद बोल्दै गए ।


लिमाका अनुसार कुनै पात्रको भूमिका गर्दा समाजमा देखिरहेका वास्तविक पात्रहरूलाई दिमागमा सोच्यो भने अभिनय गर्न सहज हुन्छ । ‘कुनै पनि पात्रलाई पर्सनल्ली धेरै सोचेर काम गर्नु हुन्न,’ उनले भनिन्, ‘तर केही समयका लागि त्यस्तै वास्तविक पात्रबारे सोचेर नाटक गर्दा प्राकृतिक देखिन्छ ।’


उनका अनुसार राम्रो अभिनयका लागि सुरुमा कलाकारले संवादको भावलाई दिमागमा बलियोसित कैद गर्नुपर्छ । भाव प्रस्ट भएपछि त्यसलाई जुनसुकै तरिकाले भने पनि राम्रो देखिने तर्क लिमाको छ ।


‘सामान्य तरिकाले भन्दा हुन्छ भने एक्स्ट्रा अभिनय हालेर चटपटे बनाउनुहुन्न, भद्दा लाग्न सक्छ,’ उनले भनिन् । नाटकमा आफूले पाएको पात्रलाई निभाउनका लागि समाजमा त्यही पात्रसित मिल्दोजुल्दो पात्रको कल्पना गरी अभिनय गर्दा प्राकृतिक देखिने लिमाको टिप्स थियो । आफ्ना सहपाठीदेखि मञ्चमा हुने प्रप्स, फ्लोर लगायतसित कसरी कनेक्सन बढाउने भन्ने बढी महत्त्वका साथ सिकाइरहेकी छन् उनले ।


नाट्यकर्मी मानाङ लावतीले लिमाको तरिका फरक रहेको बताए । ‘अरू बेला शरीर बढी चलाएर संवाद भन्ने, अभिनय गर्ने गरिन्थ्यो,’ उनले भने, ‘लिमाले शरीर नचलाई पनि अभिनय गर्न, आफ्नो भाव बुझाउन सकिन्छ भन्ने सिकाउनुभयो ।’ कार्यशालामा आफ्ना सहकर्मीसित मञ्चमा कसरी सम्बन्ध स्थापित गर्ने भन्ने सिकेको उनले बताए ।


लिमा नेदरल्यान्डमा नाटक निर्देशन पढाउँछिन् । अहिले नेदरल्यान्डका थिएटरहरूमा नाटकमाथि विभिन्न प्रयोगात्मक शैलीहरू अपनाएर नाटक गरिन थालेको उनले बताइन् । जस्तो कि, अभिनेता–अभिनेत्री बिनाका नाटक, समाजले लगाएका सीमाहरूभन्दा माथिका नाटक । नेदरल्यान्डमा पछिल्लो समय प्राय: लैंगिक समानता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विषयमाथिको नाटक बढी रुचाउने गरिएको उनले बताइन् ।


कार्यशालामा असीम खनाल, अवतार पाठक, मोहन प्रकाश, सुमित भण्डारी, सुजन भण्डारी, रविन परियार, गोविन्द ओली, मञ्जु गिरी, पवित्रा खडका लगायतका रंगकर्मी सहभागी छन् । कार्यशाला सोमबारसम्म चल्ने शिल्पीका घिमिरे युवराजले जनाए ।

प्रकाशित : पुस २, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?