कम्मरमा ऐना र मयूरको प्वाँख

नेपालगन्जमा बर्दिया बेलाउरीका युवतीले यस्तो नाच देखाउँदा हेर्नेको भीड 
ठाकुरसिंह थारू

नेपालगन्ज — कम्मरमा ऐना र मयूरको प्वाँख । रंगीबिरंगी कपडाका फुन्ना (झालर) । हातमा लठ्ठी । मादलको धुनमै खुट्टाको पैयाँ (ताल) । परम्परागत वेशभूषामा यसरी मयूर बनेर नाच्छन्, थारू युवती ।

कम्मरमा ऐना र मयूरको प्वाँख

सँगै नाच्ने साथीको हातको लठ्ठीलाई विभिन्न कोणमा घुमाउँदै ठोक्काउँछन् । एकनास खुट्टाको पैयाँ मिलाउनु नाचको अनिवार्य सर्त हो । हातको लठ्ठी खुट्टामुनिबाट घुमाउँदै नाच्दै गरेको दृश्य जति रोमान्चक देखिन्छ, त्यत्तिकै जोखिम पनि छ ।


‘नाच्ने कलाकारबीच क्षणक्षणमा तालमेल मिल्नुपर्छ । होइन भने चोटपटक लाग्न सक्छ,’ नाचको संरक्षणमा जुटेका बर्दिया बाँसगढी, बेलाउरीका बालचरण चौधरीले भने, ‘लठ्ठी नाच हेर्दा जति रोचक देखिन्छ, त्यत्ति नै जोखिमपूर्ण पनि छ । खासमा यो नाचमा तालमेल मुख्य हो ।’


पश्चिम तराईमा लोपोन्मुख उक्त नाचको सरंक्षणका लागि यहाँका युवतीलाई प्रशिक्षण दिएको उनले बताए । अहिले गाउँका दुई दर्जनभन्दा बढी थारू युवती यस नृत्यमा सिपालु भइसकेका छन् । गाउँमा आउने पाहुनाको स्वागतदेखि सांस्कृतिक कार्यक्रममा आकर्षक नृत्य पस्किने गरेका छन् ।


नेपालगन्जमा बर्दिया, बेलाउरीका युवतीले यस्तो नाच देखाइरहँदा हेर्नको भीड लाग्छ । उक्त नृत्यका लागि उनीहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिएर ल्याइएको थियो । ‘एक दिनका लागि २० हजार रुपैयाँसम्म लिन्छाैं,’ बालचरणले भने । पहिले पश्चिम तराईका थारू समुदायमा लठ्ठी नाच विरलै देखिन्थ्यो । तर, हाल महोत्सव, मेला र विभिन्न सम्मेलनमा अनिवार्यजस्तै भइसकेको छ ।


महोत्सव तथा मेलाको मुख्य आकर्षण लठ्ठी नाच भइसक्यो । यसले करिब लोप भइसकेको संस्कृति जोगाएको छ । रमाइलोका लागि नाचिने लठ्ठी नाच व्यावसायिक बन्दै गएको छ । नयाँ पुस्ताका युवाहरू पनि यस नाचतर्फ आकर्षित भइरहेका छन् ।


बाँके, बर्दियाका थारू होमस्टेमा पाहुनाको स्वागतका लागि यो नृत्य देखाउने गरिएको छ । यो नृत्यका लागि थारू युवाहरूले प्रशिक्षण लिने गरेका छन् । ‘प्रशिक्षण नलिएरै लठ्ठी नृत्य नाच्नै सकिँदैन । त्यसका लागि बर्दियाका कालाकारबाट प्रशिक्षण दिलाएका छौं,’ लठ्ठी नाचको अगुवाइ गरिरहेका बालचरणले भने, ‘पछिल्लो समय यो नाचको माग बढेको छ ।’


माग अनुसारको नाच टोली विभिन्न जिल्लामा पठाउने गरिएको उनले जनाए । बाँसगढीकै मनीषा चौधरी उक्त नृत्य देखाउन पाएकामा खुसी लागेको बताउँछिन् । ‘तालिम पाएपछि मात्रै लठ्ठी घुमाउन सिकियो । पैयाँ लगाउन सिक्न पनि समय लाग्यो,’ उनले भनिन् । लठ्ठी नाचमा सामूहिक नृत्य गरिन्छ । ८ देखि ३२ जना कलाकारसम्म एकसाथ नाच्छन् ।


नृत्य देखाउन जति धेरै कलाकार भए, उति नै राम्रो मानिन्छ । युवतीहरू चोलिया र गोनियामा सजिएका हुन्छन् । मिरडगियाले विभिन्न तालमा मादल बजाउँछन् ।

प्रकाशित : पुस ९, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?