कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पदा र संस्कृति बचाउन कुची र क्यानभास

‘हेर्नेले यसमा सौन्दर्य देख्छ होला, तर मैले हेर्दा यी टुटेफुटेका, धमिराले खाएका र नासिँदै गएको देखेँ । यस्तै पुराना सम्पदाहरू मासिँदै गएकामा पेन्टिङमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजेको हुँ ।’
सुनीता साखकर्मी

ललितपुर — टुँडाल अर्थात् घरको छाना अडयाउने काठ । काठमाडौँ उपत्यकाका केही पुराना मन्दिर, दरबारदेखि सर्वसाधारणका घरसम्म विभिन्न बुट्टेदार टुँडालहरू देख्न सकिन्छ । टुँडाल उपत्यकाको कला इतिहासका आँखीझ्याल पनि हुन् ।

सम्पदा र संस्कृति बचाउन कुची र क्यानभास

चित्रकार रुपक राई यस पालि यिनै टुँडालमा खेलेका छन् । उनको एउटा पेन्टिङको टुँडालमा देवीको एउटा हात छैन, दुइटा केही चोइटिएका छन् । पेन्टिङको माथिपट्टि रुपकले ‘असुरक्षित’ टयाग पनि भिराइदिएका छन् ।


ललितपुरको चाकुपाटस्थित क्लासिक ग्यालरीमा रुपकले शुक्रबारदेखि थालेको ‘हेरिटेज एन्ड अनेस्ट पिपल’ एकल कला प्रदर्शनीमा यस्तै पेन्टिङहरू राखेका छन् ।


‘हेर्नेले यसमा सौन्दर्य देख्छ होला, तर मैले हेर्दा यी टुटेफुटेका, धमिराले खाएका र नासिँदै गएको देखेँ,’ उनले भने, ‘यस्तै पुराना सम्पदाहरू मासिँदै गएकामा पेन्टिङमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजेको हुँ ।’


सरकारले भूकम्पपछि घरहरूमा ‘असुरक्षित’ कै टयाग लगाएको देखेपछि उनले यो कन्सेप्ट आफ्ना पेन्टिङमा पनि प्रयोग गरे । उनले देवीदेवताका मूर्तिहरू, मन्दिरको मूलढोकामा राखिने विभिन्न देवीदेवताका तोरणहरूलाई पनि उनले यस्तै टयाग दिएका छन् ।


‘अब बनेका संरचनामा यस्ता सम्पदा देखिँदैनन्, पूरै आधुनिक भइसके,’ उनले भने, ‘त्यसैले पुराना सम्पदा जोगिनुपर्छ । यसमाथि आवश्यक बहस हुनुपर्छ ।’


उनको अर्काे पेन्टिङ ‘वेटिङ फर द बस’ मा उनले परम्परागत बाजा बजाउने दुई जनालाई उतारेका छन् । पेन्टिङमा टुक्रुक्क बसिरहेका दुई वृद्धको हातमा कर्नाल छ । यो पञ्चेबाजाको एउटा महत्त्वपूर्ण अंग हो ।


भूकम्पपछि सैलुङ जाने क्रममा बस छुटेपछि हिँडदै जाँदा रूपकका सहयात्री तिनै थिए । बाटैभरि दु:खसुखका कुरा चले । अरू बेला उनीहरू लुगा सिलाउँछन्, अनि सिजनका बेला बिहेमा बाजा बजाउने । गफगाफका क्रममा ती मानिसले आफ्ना छोराले यो काम गर्न नमानेको बताउँदा रुपकको मन नराम्रोसित कुँडियो ।


‘उनीहरूपछि यो पेसा र बाजा बजाउन नमान्नु र यी मौलिक कुराहरू बिस्तारै हराउनुमा यो समाजको पनि उत्तिकै दोष छ,’ उनले भने, ‘यो पेसामा लाग्नेलाई यो समाजले कहिल्यै सम्मान दिन जानेन । कथित तल्लो जात र बाजा बजाउने भनेर हेपी मात्रै रहयो । यसले गर्दा देशले नोक्सानी भोग्नुपरिरहेको छ ।’ कलाकारको नाताले अर्काे कलाकारको सम्मानका लागि यो पेन्टिङमा उनीहरूलाई उतारेको उल्लेख गर्दै उनले थपे, ‘साधारण मानिसलाई नै महत्त्व दिएर मैले पेन्टिङमा उतार्न चाहेको हुँ ।’


तीन वर्षअघि चाबहिलदेखि बौद्धसम्म यात्रा गर्ने क्रममा रुपकले फरक अस्पताल भेट्टाए । त्यहाँ ठूलो बोर्डमा लेखिएको थियो– ‘कैँची अस्पताल’ । अस्पतालका भित्ताभरि विभिन्न साइजका कैँची थिए । बोर्डकै मुन्तिर ‘डा. कबिर’ पनि लेखिएको थियो ।


अस्पतालमा बिरामी मानिसको नभई बिरामी कैँचीहरूको उपचार हुने रहेछ । त्यस बेला देखेको उक्त दृश्य रुपकका लागि नौलो थियो । लगत्तै उनले उक्त कैँची अस्पताललाई आफ्नो क्यानभासमा उतारे । यो अस्पतालले आफ्नो सोचाइमै परिवर्तन ल्याइदिएको रुपकले बताए ।


‘जब मानिस बिरामी हुन्छ, तब ऊ अस्पताल जान्छ, चेकअप गराउँछ र तंग्रिएर आएपछि पुन: आफ्नै दैनिकीमा फर्कन्छ,’ उनले भने, ‘त्यस्तै गरी यो अस्पतालमा भाँचिएका, धार नभएका कैँचीहरू ल्याइन्छन् र मर्मत गरेर फेरि प्रयोगमा ल्याइन्छन् । मानिसलाई ठीक पार्ने डाक्टर भएजस्तै कैँचीलाई मर्मत गर्ने पनि डाक्टर नै हुन्छ ।’


प्रदर्शनीमा रुपकका तीन दर्जनभन्दा बढी पेन्टिङ, काठ खोपेर बनाएका कलाहरू राखिएका छन् । उनको जोड पुराना सम्पदामा परेको छर्लंग हुन्छ । गत वर्ष प्रदेशअन्तर्गत प्रथम पुरस्कारबाट पुरस्कृत ‘द फेडिङ सिंगर’ पेन्टिङ पनि प्रदर्शनीमा छ । त्यसमा उनले परम्परागत गाइनेलाई अगाडि राखेर चर्चित कलाकारका एल्बमलाई ब्याकग्राउन्डमा राखेका छन् ।


यसबारे उनले भने, ‘अहिले पनि गाइने भन्नेबित्तिकै मान्छेले झलकमान गन्धर्वलाई मात्रै चिन्छन्, अरूलाई चिन्दैनन् । अगाडि गाउने गायक प्यारो हुन्छ, पछाडि संगीतको लागि मिहिनेत गर्ने वाद्यवादक र गाइनेहरूलाई कसैले चिन्दैन । उनीहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचले यो पेन्टिङ बनाएको हुँ ।’


क्लासिक ग्यालरीले प्रोत्साहनस्वरूप वर्षको एक पटक युवा कलाकारलाई एक महिना एकल कला प्रदर्शनीको लागि स्थान दिने गरेको ग्यालरीकी सरिता डंगोलले बताइन् । सरिताले पनि २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय रूपमा लागिरहेकी छन् । ‘पहिले हामी युवा हुँदा यस्ता स्थानको चाहना हुन्थ्यो, तर कसैले दिँदैनथ्यो,’ उनले भने, ‘चिनजानका आधारमा चित्रकारहरू अगाडि ल्याइन्थे । अहिलेका युवालाई त्यस्तो अभाव नहोस् भनेर हामीले यो अवधारणा ल्याएका हौँ ।’


प्रदर्शनी एक महिना चल्नेछ ।

प्रकाशित : पुस १०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?