कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

छुइया पकन्दी...

‘उकालो चढ्दै जाँदा डाँडामा पुगेपछि सरर हावा आउने आशले सुइय्य गरेर सुस्केरा हालिन्छ नि, च्याब्रुङ नाच यस्तै हो ।’
आनन्द गौतम

ताप्लेजुङ — लिम्बू समुदायमा च्याब्रुङ निकै बजाइने बाजा हो । विवाह, उत्सव, महोत्सवजस्ता शुभकार्यमा त च्याब्रुङ नबजी यी पर्व सफल भएको मानिँदैन । 

छुइया पकन्दी...

च्याब्रुङ बजाइरहँदा यसको आवाजले त आकर्षित गर्छ नै, बाजाको तालमा हालिने लय ‘छुइया पकन्दी...’ ले झनै मोहित गर्ने गरेको छ । दाहिने खुट्टो उचालेर यो भाका हाल्न थालेपछि सहभागीहरू एक पटक बाजाको छेउमा केन्द्रीकृत हुने गरेका छन् । च्याब्रुङका जानकार ज्ञानु फुरुम्बू ‘चरपे’ का अनुसार यो लय डाँडामा पुग्दा हावालाई सुस्केरा हालेजस्तै हो ।


‘उकालो चढ्दै जाँदा डाँडामा पुगेपछि सरर हावा आउने आशले सुइय्य गरेर सुस्केरा हालिन्छ नि, यो यस्तै हो,’ चरपेले भने, ‘वाद्यवादन नभएको समयमा हावाको सुस्केराबाट आएको लय मानिन्छ यसलाई ।’


च्याब्रुङमा नाच्दा वन्यजन्तुको नचाइलाई आधार मान्ने गरिएको चरपेले सुनाए । यस्तो नचाइ १ सय ८ प्रकारको हुन्छ । ताल र लय पनि त्यहीअनुसारले मिलाइन्छ । खुट्टाको ताल र चाल मिलाएर नाचिन्छ । स्टेप चलाउनुलाई परेवालाङ भनिन्छ ।


लाम्दाङकेलाङ (हात्ती नाच), केदालाङ (गैंडा नाच), पेवा लाङ (मृग नाच), पुटुकेलाङ (ढुकुर नाच), पेलावालाङ (हाँस नाच) यसका अन्य किसिम हुन् ।


ताप्लेजुङमा नाचिने नाचलाई लाम्दाङकेलाङ भनिन्छ । यो हात्तीले जस्तो अघिपछि सर्दै नाचिने चरपेले बताए । अगाडि तीन पाइला बढिन्छ र पछाडि तीन पाइला सरिन्छ । तीन स्टेप सरेपछि फरक्क फर्किइन्छ । हात्ती अगाडि बढेर पछाडि फर्किएजस्तै भएको उनले बताए ।


च्याब्रुङको आफ्नै नियम छ । नाच्ने स्थलमा प्रवेश गर्दा देब्रे हातले ताल हानिन्छ र दाहिनेले सलाम गरिन्छ । सभा, विवाहजस्ता कार्यमा भेला भएकालाई सम्बोधन गरिएको हो ।


‘भद्रभलादमीहरू हामी भेला भयौं है भनेर सम्बोधन गरिएको हो,’ अर्का जानकार लेखबहादुर पालुङवाले भने, ‘यो सलाम मञ्चमा बस्ने ठूलाबडालाई मात्रै गरिएको होइन, उपस्थित सबैलाई सम्बोधन गरिएको हो ।’


च्याब्रुङ बजाउनेले ठूलोसानो नभनी सबैलाई एउटै कोटिमा राखेर सम्बोधन गर्ने उनले बताए । सहभागीलाई अभिनन्दन गरेपछि लय हालेर सबैको ध्यान आकृष्ट गरिन्छ । च्याब्रुङ नाच्नेले नृत्यकै क्रममा अरू भाका पनि हालिन्छ । मुख्य लय भनेको चाहिँ ‘छुइया पकन्दी..’ नै हो । तुक्काको अन्तमा यही लय हालिन्छ । पालामको तालमा अरू भाका हालिने कर्ण पालुङवा बताउँछन् ।


पुरुषले च्याब्रुङ र महिलाले झयाम्टा बजाउने च्याब्रुङमा पुरुष अधिकांशले टोपी र महिलाले चौबन्दी फरिया लगाएका हुन्छन् । बजाउनेहरूको आफ्नै सांस्कृतिक पोसाक रहेको हुन्छ । महिलाहरूले कण्ठलगायतका गहना लगाएका हुन्छन् ।

प्रकाशित : पुस १३, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?