पहिले रोधीमा मादल अहिले मोबाइलमा गीत 

आश गुरुङ

लमजुङ — वर्ष फेरिएसँगै यति बेला गुरुङ समुदायमा भिन्न रौनक छ । कुकुर वर्ष बिदा गरेर मृग वर्ष स्वागत गरिरहँदा आफन्त भेटघाट, खानपिन र लामाबाट रुपा (मन्त्रिएको धागो) बाँध्ने क्रम जारी छ ।

ल्होसारकै रमरमबीच बेसींसहरमा भेटिए, भारतीय सेनाका भूपू, मस्र्याङदी गाउँपालिका २ घनपोखराका खड्गबहादुर गुरुङ । ल्होसारको तामझाम बढ्दै गए पनि मौलिकता हराउँदै गएकोप्रति उनले गुनासो गरे ।

‘पहिलेको र अहिलेको मान्ने तौरतरिका धेरै फेरियो,’ उनले भने, ‘हाम्रो चाडबाडलाई पनि सहरिया हावाले छोयो ।’


उनका अनुसार, पहिले पहिलेको ल्होसारमा युवतीहरूले घरघरै चामल, दूध, नुन, घिउ, बेसार उठाएर रोधीमा जम्मा भई खीर र रोटी पकाउँथे । युवकहरूले कुखुराको भाले खोजेर ल्याउँथे । कालिज, वनकुखुरा र तित्रा लगायत खान्कीमा व्यवस्थापन हुन्थ्यो । नाचगानसँगै मिठोमसिनो खाएर रमाइलो गरी ल्होसार मनाइन्थ्यो ।


‘मादल बजाएर झयाउरे नाच्दा, दोहोरी चल्दा खुब रमाइलो हुन्थ्यो,’ खड्गबहादुरले भने, ‘त्यति बेलाको समय अहिले कहाँ फर्किन्छ र ? वर्ग फेरिएको अवसरमा मध्यरातमा गीत गाउँदै नाचेर रमाइलो गर्ने तरिकामा अहिले निकै परिवर्तन आएको छ ।’


दोर्दी गाउँपालिका ९, लाँकुरीबोटका मोहनप्रसाद गुरुङका अनुसार, ल्होसारको दिन रोधीमा सँगै भएका युवायुवती दु:खसुखका गफ गर्थे, मायाप्रेमका कुरा सुनाउँथे । लाहुरबाट छुट्टीमा आएकाहरू लडाइँ र राइफलका कुरा छाँट्थे । भर्ती हुँदाका कुरा गर्थे । ‘हामी लाहुरबाट आएका र भेडीगोठबाट झरेका दाइहरूसँगै ल्होसार मनाउँथ्यौं । स्योकैं (सामूहिक भोज) खान्थ्यौं,’ उनले भने, ‘अहिले त्यस्तो ल्होसार कहाँ गयो, गयो !’


पहिले गाउँबाट सहर झरेकाले सामूहिक रूपमा सहरमा ल्होसार मनाउन थाल्यो । गाउँको सिको गरे । गाउँको चलन हराउँदै गयो । अहिले सहरमा गरिने ल्होसारको चालामाला गाउँमा फर्केको उनले बताए ।

ल्होसारका बेला मौलिक पोसाक लगाउने चलन भने पहिलेकै हो ।


तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङका अनुसार पहिले पहिले लगाउने र अहिलेको मौलिक भनिने पोसाक भिन्न छ । ‘पहिले ज्यान ढाकिने गरी चोलो लगाउँथे । अहिले त शरीर नै देखिने गरी खालीखाली ह्वाङ्गै लुगा लगाउन थालेका छन्,’ उनले भने । पहिले मादल बजाएर गीत गाएर नाचगान गर्ने गरिएकोमा पछिल्लो समय क्यासेट, ड्राइभ हुँदै मोबाइलमा गीत बजाएर नाच्ने गरिएको छ ।


‘मादल नै हराए जस्तो भएको अचेल गाउँमा,’ उनले भने, ‘ल्होसारसम्बन्धी गीत पनि सांस्कृतिक र मौलिकभन्दा बढी बजारिया भएका छन् ।’ यति हुँदा हुँदै पनि सामूहिक भोज खाने, डोरी तान्ने, छेलो हान्ने परम्परा पनि आफूहरूले जोगाएको उनले बताए । ‘तर, यसको पनि शैली पहिलेको भन्दा केही फरक हुन थालेको छ,’ उनले भने, ‘संस्कृति जोगाउनतिर भन्दा देखासिकी बढी हुन थालेको छ ।’


ल्होसारमा मौलिक स्वाद पनि हराउँदै गएको गुरुङ समुदायका अगुवाहरूको गुनासो छ । पहिले भिजाएको चामल ढिकीमा कुटेर पिठो बनाई सेलरोटी बनाइन्थ्यो । त्यसको स्वाद नै बेग्लै । अहिले मिल वा मेसिनमा कुटिएको चामलको पिठोबाट सेलरोटी बनाइन्छ । पहिले घिउमा पकाइने सेलरोटी अहिले तेलमा पकाइन्छ ।


क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ घर भइ बेंसीसहर बस्दै आएकी कृष्णकुमारी गुरुङका अनुसार, पहिले घरघरबाट अन्न उठाएर भोज खाइन्थ्यो । ल्होसार मनाइन्थ्यो । अहिले पैसा उठाएर वा जम्मा गरेर राखेको पैसा खर्च गरी कुनै पसलबाट रेडिमेड सामान किनेर भोज खाइन्छ । ‘अहिले त ब्रोइलर कुखुराको मासु, म:म र चाउमिन पो हुन्छ त हाम्रो ल्होसार खाना † उहिले त सबै घरघरकै मौलिक खान्की हुन्थ्यो,’ उनले भनिन् ।


जेजस्तो भए पनि चाडपर्वको मौलिकता जोगाउनुपर्ने तर्क गर्छन्, तमु हयुला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष ठाकुरप्रसाद गुरुङ ।


पूर्व सांसद जमिन्द्रमान घलेले पनि गुरुङ समुदाय सांस्कृतिक संक्रमणको अवस्थामा रहेको बताए । उनले भने, ‘हाम्रो चाडपर्व, रहनसहन, चालचलनमा मौलिकता गुम्दै छ । विदेशी प्रभाव बढेको छ । हामी भाषा, संस्कार र संस्कृतिप्रति एक हुन आवश्यक छ ।’

प्रकाशित : पुस १९, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?