कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उहिलेको पनौती अहिलेको पनौती

‘पहिले पनौतीमा मन्दिर बढी घर कम थिए, ती घर पनि मन्दिर जस्तै देखिन्थे । बिस्तारै मन्दिर मासिँदै गए, घरहरू पनि परिवर्तन भए ।’

काठमाडौँ — कुनै बेला पनौती मन्दिरैमन्दिरको सहरका रूपमा परिचित थियो । यहाँका मन्दिर मात्रै नभई घरका छाना पनि मन्दिरका जस्तै देखिन्थे । यही सहरको मुटुमा रहेको इन्द्रेश्वर महादेवको मन्दिरवरिपरि टायलले छाएका घरहरू ससाना मन्दिरभन्दा कम थिएनन् ।

उहिलेको पनौती अहिलेको पनौती

चार दशकअघि घरहरूमा पनि प्यागोडा शैलीका छाना थिए । तर अहिले यहाँको दृश्य फेरिएको छ । टायल छोडेर कंक्रिटको सहरमा परिणत हुँदै गएको छ पनौती । यो सहरको यस्तो परिवर्तनलाई लामो समयदेखि क्यामेरामा कैद गर्दै आएका थिए, फोटोग्राफर प्रशान्त श्रेष्ठले । यति बेला ‘पनौतीमा परिवर्तन’ शीर्षक तस्बिर प्रदर्शनी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा जारी छ, जहाँ चार दशकअघिको र अहिलेको पनौती हेर्न पाइन्छ ।


‘पहिले पनौतीमा मन्दिर बढी घर कम थिए, तर ती घर पनि मन्दिर जस्तै देखिन्थे । बिस्तारै मन्दिर मासिँदै गए, घरहरू पनि परिवर्तन भए,’ प्रशान्तले भने, ‘अहिले यो कंक्रिटको सहरमा परिणत हुन गइरहेको छ । यही चिन्तालाई प्रदर्शनीमार्फत दर्साउन खोजेको छु ।’

उनका अनुसार नेपाल भाषामा पहिले पनौतीलाई ‘पलाँती’ भनिन्थ्यो । यसको अर्थ हुन्छ, पाइला टेक । मानिसले यहाँ एक पटक भए पनि पाइला टेक्नुपर्छ भन्ने मान्यता अहिले पनि बूढापाकामा छ । तर, समय त्यही रहेन । अहिले मानिसलाई नयाँ बस्तु, नयाँ संस्कृति मन पर्दै गएको छ । खानपिन, पहिरनमा पनि परिवर्तन आइरहेको छ । साथै घरको बनावटमै बदलाव देखिइरहेको छ ।


‘अहिले पुरानो शैलीप्रति बेवास्ता बढदो छ,’ प्रशान्तलाई लाग्छ, ‘तीव्र रूपमा सम्पदाहरू मासिने क्रम बढेको छ, जुन राम्रो हैन ।’ समयक्रमको परिवर्तनलाई रोक्न नसकिए पनि पुराना शैलीको घरलाई संरक्षण गर्नुपर्छ भन्ने उनको मान्यता छ । भित्र आधुनिकता अँगाले पनि बाहिर पुरानै शैली अपनाउन प्रोत्साहित गर्नुपर्ने उनले सुझाए ।


प्रदर्शनीमा उनले आफैले खिचेका नयाँ पनौतीका तस्बिर पनि छन् । फ्रान्सेली टोलीले खिचेका पचास वटा तस्बिर पनि हेर्न सकिन्छ । सन् १९७० को दशकमा फ्रान्सेली दूतावासको सहयोगमा जेरार्ड टोफिनसहित तीन जनाको टोली वास्तुकला अध्ययन गर्न नेपाल आएको थियो । टोलीले सन् १९७६ मा पनौती पुगेर त्यहाँका सम्पदाहरूमाथि अध्ययन थाल्यो, जुन १९८१ मा गएर टुंगिएको थियो । टोलीले त्यति बेला खिचेका तस्बिर समेटेर मोटो पुस्तक निकालेको थियो । तिनैलाई प्रशान्तले मागेर राखेका हुन् ।


पुरानो तस्बिरमा पनौतीको बीचमा दुईतले इन्द्रेश्वरको मन्दिर देखिन्छ । हाल यो मन्दिर तीन तलाको भएको छ । अन्य तस्बिरमा चोकमा धान सुकाइरहेको देख्न सकिन्छ । त्यस्तै कुसुले बाजा, जुगी बाजा बजाउँदै गरेका र जात्रा पर्व मनाउँदै गरेका तस्बिर पनि छन् । टायलले छाएका घर अहिले जस्ता वा ढलानले ढाकिएका छन् ।


काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा जारी ‘पनौतीमा परिवर्तन’ शीर्षक प्रदर्शनीमा फोटोग्राफर प्रशान्त श्रेष्ठका तस्बिर । तस्बिर : सुनीता साखकर्मी/कान्तिपुर


‘पहिले नेवार शैलीका घरहरू एउटाको वाल अर्काेमा जोडदै बनाउने परम्परा थियो,’ प्रशान्तले सुनाए, ‘समान तलाका घरहरू बन्थे । हेर्दा उस्तै देखिन्थे । भक्तपुरबाट प्रोत्साहित भएर पनौतीमा नौवटा चोक पनि तयार भएका थिए । तर अहिले दूरीदूरीमा सिंगल घर बनाउने चलन आएको छ । मानिसले चोकै मिचेर घर ठडयाउन थालेका छन् । मान्छेको रूपअनुसारको घर बन्न थालेका छन् । रंगीबिरंगी घरका कारण सहरै फोहोर बनेको जस्तो लाग्छ ।’


प्रशान्तको घर पनि पुरानो पनौती बजारमै छ । उनले आफ्नो घरलाई अध्ययन केन्द्रमा परिणत गरेका छन् । प्रशान्तहरूकै सल्लाहमा केहीले आफ्ना घरलाई पुरानै शैलीमा ढालेका पनि छन्, तर ९० प्रतिशत घर आफूखुसी ठड्याइएका छन् ।


पनौतीमा २०५२ यता नाटकीय रूपमा परिवर्तन आएको प्रशान्तले बताए । उनका अनुसार २०५२ मा पनौती नगरपालिकाले सम्पदा संरक्षणका लागि पुरानो संरचना भत्काएर नयाँ बनाउन नदिने नीति ल्याएको थियो । तर २०५३ नसकिँदै पुराना घर भत्काउँदै रातारात नयाँ बनाउने, छाना फेर्ने काम भयो ।


‘अब घर बिग्रे पनि मर्मत गर्न नपाइने भयो भन्ने डरले मानिस आत्तिए । ऋण लिएर भए पनि घर बनाउन थाले । रातारात ज्यामी–कामदारहरू खोज्दै नयाँ घर बनाउन थाले,’ उनले भने, ‘म त्यति बेला फोटोग्राफीमा इन्टर्न गर्न काठमाडौंमा थिएँ । महिना महिनामा घर जाँदा झनझन परिवर्तन भइरहेको थियो । सपनाजस्तै भयो । दुई वर्षमा पनौतीको लायकु क्षेत्रमा मात्रै सयभन्दा बढी नयाँ घर बने ।’


२०४६ प्रजातन्त्रपछि बोल्न मात्रै नभई सम्पदा बनाउन पनि स्वतन्त्रता पाएको मानिसले ठानेको प्रशान्तलाई लाग्छ । ‘अब तपाईंले जे पनि गर्न सक्नुहुन्छ भन्ने सन्देश मासमा गयो । अनि स्वतन्त्रता अर्कै चिजमा प्रयोग गरियो,’ उनले भने । प्रदर्शनी बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : पुस २४, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?