रैथाने स्वरमा हाक्पारे

काठमाडौँ — झुमा लिम्बूको सांगीतिक पहिचान भिन्न छ । उनी अनेक स्वरको खोजीमा लागिपरेकी छन् । नेपाली लोकजीवन र सांस्कृतिक मौलिकता बोकेको त्यस्ता रैथाने स्वरहरू खोज्दै पूर्वदेखि पश्चिम भौंतारिएकी उनको नेतृत्वमा नयाँ सांगीतिक अभियान सुरु भएको छ— रैथाने संगीत शृंखला ।

रैथाने स्वरमा हाक्पारे

राजधानीमा मंगलबार आयोजित शृंखलाको पहिलो संस्करणमा उनले लिम्बू समुदायमा प्रचलित लोकभाका हाक्पारे प्रस्तुत गरिन् ।


वनमा हावाले हल्लाएका पातहरूको सुसेली अनि चराका चिरबिर । खोलामा बग्दै गरेको पानीको कलकल ध्वनि । यहीबीच सारंगी, बाँसुरी अनि कोरसलाई वरिपरि राखेर झुमाले आफ्नै मातृभाषामा हाक्पारे गाइरहँदा श्रोतादीर्घामा फरक जाति र भाषाका संगीतपारखीहरू थिए । भाषा नबुझे पनि दर्शकश्रोताले हाक्पारे आनन्दसित सुने र सांगीतिक मिठासको प्रशंसा गरे ।


रैथाने संगीत समूहले गरेको शृंखलामा झुमाले हाक्पारेलाई फयुजन गर्दै गाइन् । उनलाई गायिकाद्वय मनु नेम्बाङ र दीपा सोनामले कोरसमा साथ दिए भने परम्परा ब्यान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले वाद्यवादनबाट साथ दिए ।


झुमाका अनुसार, हाक्पारे गाउने शैली ठाउँअनुसार फरक–फरक छ । त्यस्तै फरकपन पनि प्रस्तुतिमा समेटिएको थियो । मनुले पाँचथरको हाक्पारे शैली प्रस्तुत गरिन् । गायक लोकमान वनेमले ताप्लेजुङको स्थानीय हाक्पारे प्रस्तुत गरे ।


सांगीतिक प्रस्तुतिपछि कार्यक्रममा मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारे गीतसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गरे । काइँलाका अनुसार, हाक्पारे पूर्वी नेपालको लिम्बू सुमदायमा प्रचलित गीति परम्परा हो ।


लिम्बूको लोक गीतसंगीतमा शैली र बाजाहरू धेरै नभए पनि जति छन् ती सबै गहकिला र गहिरा रहेको उनले सुनाए । खासमा गाउँमा हाक्पारे गाउँदा बाजागाजासित गाउने चलन नरहेको उल्लेख गर्दै उनले भने, ‘यो अरूलाई सुनाउन गाउने गीत हैन । आफ्नै मनको बह आफूसँगैका साथी र जनसमुदायलाई सुनाउन गाउने हो । टिकट काटेर स्टेजमा गाउनेजस्तो हैन यो हाक्पारे ।’


लिम्बूका देवतालाई सिन्दुर, फलफूल नभई रातभरि गीत मात्रै गाएर खुसी पार्नुपर्ने जनविश्वास रहेको बताउँदै बैरागीले थपे, ‘तर हाक्पारेमा मानिसका विरह व्यथा सुनिन्छ । लिम्बू जातिको जीवन र जगत् हेर्ने दृष्टिकोण फरक छ भन्ने पनि गीतले पुष्टि गर्छ । मुन्धुमसित सम्बन्धित भएकाले खुसीमा गाएको गीतमा पनि विरह र व्यथाको रंग र चिमोटयाइ मिसिएको हुन सक्छ ।’


अहिलेको समय जति ‘ग्लोबलाइज्ड’ हुन थाल्यो, त्यति नै मानिसले ‘लोकजाइजेसन’ को कुरा गर्न थालेको बैरागीले बताए । उनका अनुसार रैथाने संगीतले जातिको जीवनशैली, परम्परा, रीतिथितिको एउटा प्रतिविम्बित गर्छ । यसको सट्टा अरू मनोरञ्जनका साधन त उपलब्ध हुन सक्छन्, तर रैथानेपनचाहिँ पाउन मुस्किल हुन्छ ।


कुनै समय परम्पराविरुद्ध कविता लेखेको सम्झिँदै उनले भने, ‘जतिसुकै क्रान्तिको कुरा गरे पनि हाम्रो परम्पराभित्र हामी सम्मिलित भएनौं भने र त्यसलाई नयाँपन दिन सकेनौं भने हामी बिलाउँछौँ । त्यसैले हाम्रो परम्पराको राम्रो गुण समेटेर जीवन जिउनुपर्छ ।’


समाजशास्त्री सुब्बाका अनुसार, हाक्पारे गीत मात्रै नभई ज्ञान प्रसार र सञ्चारको माध्यम हो । यसले ठट्टा, रमाइलो, व्यंग्य, प्रेम, सुख, दु:ख, धर्म, पाप, देवीदेवतालगायत ऐतिहासिक, सामाजिक, आध्यात्मिक, दार्शनिक विषयवस्तुको निरुपण गर्छ । ‘यो मनोरञ्जनको साधन त हो नै, यसबाहेक ज्ञान उत्पादन र प्रसारको माध्यम पनि हो,’ उनले भने, ‘अन्तर्पुस्ता ज्ञान हस्तान्तरणका लागि हाक्पारे प्रभावकारी माध्यम हो ।’


अनेक कारणले यो परम्परा क्षयीकरण हुँदै आएकाले सुदूर लिम्बूवान् क्षेत्रमा ज्ञान र मनोरञ्जनको लागि रोचक, मार्मिक विधि र प्रक्रियाको रुपमा चल्दै आएको यो गीतको संरक्षण गर्नु जरुरी रहेको उनले सुनाए ।


लोकलय संरक्षण र प्रवद्र्धनका लागि रैथाने संगीत समूह नै बनाएर अघि बढेको झुमाले बताइन् । हाक्पारेबाट थालिएको शृंखलामा बिस्तारै अन्य समुदायको लोकलय पनि प्रस्तुत गर्दै जाने उनले जनाइन् ।

प्रकाशित : पुस २५, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?