माई मेउरी र कमर छठ

क्यानभासमा अवधी कला
मधु शाही

बाँके — घरको सानो कोठामा चित्रकला स्टुडियो छ । त्यहाँ अवधी लोककला र संस्कृतिसम्बन्धी अध्ययन सामग्री छन् । आफैंले खोलेको अवधी कला अनुसन्धान केन्द्रको कार्यालय त्यहीं रहेको छ ।

माई मेउरी र कमर छठ

विष्णुलाल कुमाल नयाँ अवधी लोकचित्र बनाइरहेका छन् । ‘माई मेउरी’, ‘कमर छठ’, ‘कर्वाचौध’, ‘साँप झार्ने’ उनले बनाउँदै आएका केही लोकचित्रका शीर्षक हुन् । यी सबैबारे रमाइला मिथक छन् । “जस्तो ‘माई मेउरी’ कै कुरा गरूँ,’ उनले भने, ‘यो चित्र गाईको गोबरले ढोकाको बाहिर दायाँ र बायाँ भागमा लेख्ने गरिन्छ । बिहेमा लेखिने यो चित्र घरका चेलीबेटीले बनाउनुपर्छ ।’


बिहेमा पाकेका परिकार भित्ताका तिनै चित्रलाई खुवाएपछि भोज सुरु हुने परम्परा रहेको उनले बताए । ‘कतैकतै यो परम्परा

अहिले पनि छ,’ उनले भने, ‘महिलाले अवधी संस्कृति जोगाउँदै आएका छन् ।’ माई मेउरीको चित्रमा कालो रंग प्रयोग गर्न पाइँदैन । अवधी कलामा रंगको छनोट गर्दा पनि संस्कृति अध्ययन गर्न जरुरी रहेको उनले बताए ।


‘कमर छठ’ अवधी संस्कृति बोकेको अर्को सुन्दर चित्र हो । छोराछोरीको दीर्घायुको कामना गर्दै महिलाले भित्तामा पुज्ने कला यसअन्तर्गत पर्छ । कोठामा चाङ पारेर राखिएका अवधी कला देखाउने क्रममा कुमालले ‘साँप झार्ने’ ठूलो चित्र निकाले । त्यसमा सर्पले डसेको बिरामीवरिपरि मान्छे झुम्मिएका छन् । कानको छेउमै थाल बजाइरहेको आकृति छ ।


यो चित्रमा कुमालको पुख्र्यौली सम्झना जोडिएको छ । उनका बाबुले साँप (विष) झार्ने काम गर्थे रे † बिरामी निदायो भने सर्पको विष झर्दैन भनेर कानमा थाल बजाउने चलन थियो । ‘अहिले डाक्टर विधि आइसक्यो,’ उनले भने, ‘चित्र र परम्परा सम्झनामा रहे ।’

आफ्नो कला र संस्कृति अरूले जोगाउलान् भन्ने भ्रममा उनी छैनन् । उमेरले सात दशक पार गर्दा पनि क्यानभासमा अवधी लोककला निरन्तर उतारिरहेका छन् ।


नेपालगन्ज उपमहानगर– पालिकामा बसोबास गरिरहेका दुई/चार जना चित्रकार यस्ता सिर्जनाका लागि चिनिन्छन् । तिनमा श्यामानन्दसिंह ठकुरी र आशाराम मौर्या पनि पर्छन् ।


पछिल्लो समय मौर्याले चित्रकारिता छाडेका छन्, बुढयौलीका कारण । उनले आफ्ना केही चित्र यत्तिकै राखेका थिए । तिनलाई संकलन गरेर कुमालले पुस्तकाकार रूपमा निकालिदिए ।


‘भावी पुस्तालाई अध्ययन गर्न काम लाग्छ भनेरमैले उहाँका चित्र सँगालेर पुस्तकको रूप दिएको हुँ,’ कुमालले भने । कुमाल जानेदेखि अवधी लोककला र संस्कृतिमा हुर्किए । भित्ता र भुइँमा बनाउँदै आएका चित्रलाई क्यानभासमा सजाउन थाले । तर, बिक्री कहिल्यै गरेनन् । आफूले बनाएका चित्र अहिले पनि बेच्न मान्दैनन् । कलाकार व्यापारी हुनु हुँदैन भन्ने उनको मान्यता छ । कसैले मागिहाले भने, सम्मानका साथ उपहार दिन्छन् । उनले बनाएका चित्र कुनै बेला सरकारी कार्यालयमा पनि सजिएका थिए । ‘अचेल आधुनिक कलाले सबै बिर्साइदियो,’ उनले भने, ‘तैपनि, म लोककला कोरिरहेको छु ।’


चित्रकार श्यामानन्दसिंह ठकुरी आ–आफ्ना सिर्जनासाथ । तस्बिर : मधु/कान्तिपुर



ठकुरीले सिक्ने भएदेखि अवधी कला कोर्दै आएका छन् । खाटमुनि थन्काएका अवधी लोककला देखाउँदै उनले भने, ‘प्रदर्शनी गर्ने रहर छ । खर्च लाग्छ, कहाँबाट ल्याउनु ?’उनले अवधी जीवनशैली झल्किएका छन् । २५ वर्ष सरकारी सेवामा सक्रिय भई अवकाश पाएका उनले कहिल्यै चित्र कोर्न छोडेनन् । बेलाबखत आधुनिक कलासमेत बनाउने उनलाई अवधी कला विशेष लाग्छ । उनले एक वर्षमा ४० वटा अवधी लोक चित्रकला बनाएका छन् । तिनको न प्रदर्शनी हुन सकेको छ, न त राख्ने ठाउँ छ । स्थान नभएपछि

उनले खाटमुनि फाइलिङ गरेर राखेका छन् ।


ठकुरीका अनुसार, अवधी लोककलामा सूर्य र चन्द्रमा प्रतीक छुटाउनै हुन्न । उनका सबै चित्रमा यिनै आकृति पाउन सकिन्छ ।

कुमालका अनुसार, लोककला प्राचीन परम्परादेखि चलिआएको कला हो । भगवान् राम वनबासबाट फर्केपछि अयोध्यावासी खुसी भए । त्यही खुसी साट्न उनीहरूले घरका भित्ता, भुइँ सिंगार्न थाले । खुसी साट्ने माध्यमकै रूपमा अवधी लोककला सिर्जना भएको हो ।


‘प्रशन्नताको अभिव्यक्ति हो अवधी लोककला,’ कुमालले भने । उनका अनुसार अझै पनि गाउँघरमा महिलाले घर र भित्तामा अवधी कलाकृति बनाउँछन् । तर, क्यानभासमा उतार्ने कम छन् ।

प्रकाशित : पुस २६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?