१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपिन भन्छन्–पछि गाई पालेर बस्न सक्छु

काठमाडौँ — गाईपालन र दुध बिक्री काँठ क्षेत्रको पुरानो पेशा नै हो । अचेल बाहिरबाट शहर भित्रिएकाहरूले पनि व्यवस्थित रुपमा फार्म बनाएरै गाइपालन थालेका छन् ।

विपिन भन्छन्–पछि गाई पालेर बस्न सक्छु

काँठको यस्तै एउटा परिवारमाथि केन्द्रित रहेर बनाइएको फिल्म ‘गोपी’ मा ग्रीनकार्ड सपना त्यागेर गाईपालक बन्ने एक युवकको चरित्रमा छन् अभिनेता विपिन कार्की । फिल्मबारे जानकारी दिन राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विपिनले आफू खेतीकिसानीबाटै आएको र भविष्यमा गाइपालक भएर बस्ने सक्ने समेत बताए ।


‘फिल्ममा गाइपालकको चरित्र गर्दैगर्दा मलाई खासै अप्ठ्यारो लागेन’, उनले भने, ‘बरु मलाई जीवनको नजिक पुगेको महसुस भयो । भविष्यमा गाईपालक बनेर बस्न पनि सक्छु ।’


विपिनले कुनै समय आफूले घाँस काटेको, कुँडो पकाएको र स्कुल जाँदा दूध बोकेर डेरीसम्म पुगेको क्षण सम्झे । ‘एक हिसाबले त यो फिल्म मेरो आफ्नै कथा जस्तै लाग्छ’, उनले भने, ‘यद्यपि मुलुकमै केही गर्छु भन्ने आम युवाको कथा हो यो ।’


विपिनको तर्कलाई समर्थन गर्दै फिल्मका निर्देशक दीपेन्द्र लामाले युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा मुलुकमै केही गर्छु भन्ने दृष्टिकोणलाई प्रवद्र्धन गर्न फिल्म बनाइएको बताए । ‘यो फिल्मले युवाहरूलाई सकारात्मक मनोविज्ञान दिन्छ । मुलुकमै केही गरौं भन्ने उत्प्रेरणा दिलाउँछ’, उनले भने, ‘विपिनले गरेको कामप्रति सन्तुष्ट छु । एउटा शिक्षित युवाको गाईपालन र उनका बुवाको ग्रीनकार्डको सपनाबीचको द्वन्द्वलाई फिल्ममा देखाउने प्रयास गरेको छु ।’


दीपेन्द्रको यो दोस्रो फिल्म हो । यसअघि उनले अन्तरजातीय विवाहको कथामाथि ‘घामपानी’ बनाएका थिए । दोस्रो फिल्म ‘गोपी’ मा उनले राष्ट्रिय पुँजी निर्माणमा घरेलु उद्योगको महत्त्व र त्यसमा युवा सहभागिताको अपरिहार्यतालाई उठाएका छन् । फिल्ममा गाईपालन व्यावसाय, त्योसँग सम्बन्धित अनेक पात्रका उतारचढाव र मानवीय भावनासँगै गाईसँगको मानवीय संवेदना र दैनिकी प्रस्तुत गरिएको छ ।


‘गाईलाई नै पात्रको रुपमा फिल्ममा पाउनुहुन्छ’, फिल्मका पटकथाकार सामीप्यराज तिमल्सिनाले भने, ‘मूलधारको फिल्ममा यो आफैँमा अग्र्यानिक कथा हो ।’


फिल्ममा अभिनेता विपिनसँग अभिनेत्रीहरू वर्षा राउत र सुरक्षा पन्तको रोमान्स समेत छ । पत्रकार सम्मेलनमा वर्षा र सुरक्षाले आफूहरूले ‘गोपी’ मा फरक भूमिका गरेको दाबी गरे । फिल्ममा सुरक्षा विपिनकी प्रेमिकाका रूपमा छिन् । उनले ‘गोपी’ जस्तो फरक विषयवस्तुमा बनेको फिल्मका लागि आफू सधैँ तयार रहेको बताइन् ।


आउँदो माघ १८ मा रिलिज हुने भनिएको फिल्ममा भोलाराज सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमको पनि अभिनय हेर्न सकिन्छ ।

प्रकाशित : पुस २७, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?