कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ललितकला जोगाउँदै

‘किरण मानन्धर कुलपति हुँदा शाखाको जमिन संरक्षणका लागि काँडे तार लगाउन १० लाख रुपैयाँ दिने निर्णय भएको थियो । तर, चार आना पनि आएन ।’
मधु शाही

बाँके — झोलामा पुरानो लालपुर्जा । त्यो आफ्नो होइन । त्यसमा जग्गाधनीको नाम ‘नेपाल ललित कला संस्था’ उल्लेख छ । पुर्जा बोकेर चित्रकारविष्णु कुमाल दौडधुप गरिरहेका भेटिन्छन् ।

नेपालगन्जस्थित कारकादोमा संस्थाको तीन कट्ठा जमिन छ । बेवारिसे जमिन कब्जा गर्न धेरै आए । त्यहाँ केही स्थानीय बासिन्दाले खेतीपाती गर्दै आएका छन् । ललित कला प्रज्ञा प्रतिष्ठान शाखाको जग्गाबारे बेखबर छ । २०४७ सालदेखि कलाकारले नै जमिन जोगाइरहेका छन् ।


विष्णु कुमाल, हरि तिमल्सिना, आशाराम मौर्या, श्यामानन्दसिंह ठकुरीलगायत स्थानीय कलासर्जक चिया गफमा पुर्जामा सीमित ललितकलाको शाखाबारे चिन्ता पोख्छन् । ‘अरू के गर्न सक्छाैं र !’ कुमालले भने, ‘यो जमिनमा कसैलाई चलखेल गर्न दिएका छैनौं, त्यही ठूलो कुरा हो । मैले नै २०७१ सालसम्मको तिरो तिरिदिएको छु ।’


केन्द्रमा अल्झेको प्रतिष्ठान शाखा कार्यालयको व्यथा सुन्ने फर्सदमा छैन । किरण मानन्धर कुलपति हुँदा शाखाको जमिनमा संरक्षणका लागि काँडे तार लगाउन १० लाख रुपैयाँ दिने निर्णय भएको थियो । मानन्धरले व्यक्तिगत हिसाबले ५ लाख रुपैयाँ थपेर दिने वचनसमेत दिएका थिए । ‘तर, चार आना पनि आएन,’ कुमालले भने, ‘हामी कलाकारले कहिलेसम्म लालपुर्जा बोक्दै हिँड्ने ?’

प्रतिष्ठानका प्राज्ञसभा सदस्य रहेका हरि तिमल्सिनाले जग्गामा चौकीदारको काम गर्दै आएको बताए ।


त्यही जग्गाछेउ उनको घर छ । ‘यहाँ धेरैले जमिन कब्जा गर्न खोजे,’ उनले भने, ‘खेती गर्ने, घर बनाउनेसमेत गर्न थाले । हामीले विद्रोह गरेर रोक्दै आएका छौँ । अबचाहिँ चुप लाग्न हुन्न । ललितकला प्रज्ञा प्रतिष्ठानमा पहल गरेर जग्गाको संरक्षण गराउन लाग्नु पर्छ ।’ विगतदेखि प्रयास गरेको भए पनि ललितकला प्रज्ञा प्रतिष्ठानको आन्तरिक कलहले सुनुवाइ नभएको उनले बताए ।


५० वर्षे इतिहास

नेपालगन्जमा डा. कृष्णजंग राणाको अध्यक्षतामा २०२६ माघ २४ गते भेरी आर्ट्स एसोसिएसन खोलिएको थियो । त्यसताका एसोसिएसनले कलासम्बन्धी विभिन्न गतिविधि गर्दै आएको थियो ।


आशाराम मौर्या कोषाध्यक्ष थिए भने विष्णु कुमाल सदस्य । २०३५ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति लैनसिंह वाङदेल नेपालगन्जमा कला गोष्ठी लिएर आए । भेरी आर्ट एसोसिएसनको कला लगाव देखेर यसलाई प्रतिष्ठानको शाखा बनाउने निर्णय गरे ।


ठूलो छहारी पाएपछि कला अझै फस्टाउने आशाका साथ एसोसिएसनलाई प्रतिष्ठान शाखा बनाउन राजी भएको कुमालले बताए । २०३५ सालमा अन्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेको उपस्थितिमा विक्रमप्रसाद शर्माको अध्यक्षतामा भेरी आर्ट एसोसिएसन प्रज्ञा प्रतिष्ठानको शाखा बनेको माइन्युट कुमालसँग सुरक्षित छ ।


नेपालगन्ज अवधी, थारु संस्कृति लगायत कला र साहित्यले भरिएको क्षेत्र हो । यहाँ कलाकारले कला प्रदर्शन गर्ने गतिलो थलो नपाइरहेका बेला प्रतिष्ठान केन्द्रमै सीमित हुनु दु:खद रहेको कलाकारहरू बताउने गर्छन् । कला प्रदर्शनी ठाउँ नहुँदा घरमै खुम्चाउनु पर्ने स्थिति छ । युवा कलाकार विक्रम शिशिरले भने, ‘चित्र प्रदर्शनी गर्ने थलो छैन, प्रतिष्ठानको जमिनमा अर्काको खेती छ !’

प्रकाशित : पुस २७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?