१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कमेडीको काँधमा नेपाली फिल्म

समीक्षात्मक दृष्टिकोणले मिश्रित प्रतिक्रिया बटुले पनि दीपकराज गिरी समूहका फिल्मले लगातार गतिलो व्यापार गरिरहेका छन् । सानो पर्दामा कमेडी सिरियल ‘तीतो सत्य’ चलाएर खारिएको उक्त समूहले ठूलो पर्दामा पनि कमेडी नै बिकाइरहेको छ ।

काठमाडौँ — फिल्म निर्माण जति कठिन छ, त्यति नै कठिन दर्शकको रुचिको फिल्म बनाउनु र चलाउनुमा छ । करोडौं लगानीको जोखिम लिएर सातापिच्छे फिल्महरू रिलिज भइरहेका हुन्छन् । दर्शकका लागि सार्वजनिक भएपछि अधिकांश फिल्मको ‘जमानत जफत’ हुन्छ ।

कमेडीको काँधमा नेपाली फिल्म

समीक्षात्मक दृष्टिकोणले मिश्रित प्रतिक्रिया बटुले पनि दीपकराज गिरी समूहका फिल्मले लगातार गतिलो व्यापार गरिरहेका छन् । टेलिभिजनमा कमेडी सिरियल ‘तीतोसत्य’ चलाएर खारिएको उक्त टिमले फिल्मको ठूलो पर्दामा पनि कमेडी नै बिकायो ।


‘छ एकान छ’ हुँदै पछिल्लो समय ‘छक्कापन्जा’ सिरिजमा लागिरहेको गिरी समूहले कमेडीलाई मेनस्ट्रिममा ल्याएन मात्रै, दर्शकलाई पनि उत्तिकै रिझायो । यसअघि फिल्ममा सहायक पात्र वा सहायक कथाका रूपमा मात्रै कमेडियन वा कमेडी राख्ने गरिन्थ्यो । कमेडी फिल्म चल्दैन भन्ने डर निर्माता, निर्देशकमा व्याप्त थियो ।


हुन पनि, नेपाली हास्यव्यंग्यका ‘बादशाह’ मानिने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मुख्य भूमिकामा लिएर बनाएको फिल्म ‘हाँसिदेऊ एकफेर’ होस् वा दीपकराज गिरीलाई मुख्य भूमिकामा राखेर बनाइएको ‘सुन्दर मेरो नाम’, कुनै चलेनन् । हुन त यी फिल्ममा कमेडियन भए पनि कमेडी नभएको गुनासो पनि छ ।


‘छक्कापन्जा’ हुँदै ‘छक्कापन्जा २’ र ‘छक्कापन्जा ३’ को अत्यधिक सफलताले यति बेला नेपाली फिल्मकर्मीमा कमेडी नै बिक्ने विश्वास बढ्न थालेको छ । यसको उपज, अधिकांश फिल्म कमेडीको चास्नी हालेर निर्माण हुन थालेका छन् । गत वर्ष असोज ११ मा ‘छक्कापन्जा २’ यता रिलिज भएका बहुसंख्यक फिल्म कमेडीबाट प्रभावित रहे ।


‘फाटेको जुत्ता’, ‘झ्यानाकुटी’ होस् वा ‘लालपुर्जा’, ‘मिस्टर झोले’, ‘मिस्टर भर्जिन’ आदि फिल्मले पनि कथा कमेडी नभए पनि प्रस्तुतीकरण कमेडी नै रोजे । संवाद हास्यरसयुक्त राख्दा फिल्म चल्छ भन्ने मान्यताले यी सबै फिल्मलाई गाँज्यो । तर कम्तीमा अरू विधाका फिल्मभन्दा बरु कमेडी मिसाइएका फिल्मले नै धेरथोर व्यापार बढी गरे । गत वर्षको चैत ९ मा निर्देशक प्रदीप भट्टराईको फिल्म ‘शत्रुगते’ बाट मह जोडी फिल्ममा कमब्याक भयो । यस पटक भने यो जोडीले असफलता बेहोर्नु परेन । कमेडी जानरामा बनाइएको उक्त फिल्मले पनि उल्लेख्य व्यापार गर्‍यो ।


लभस्टोरी फिल्ममा आफ्नो अलग पहिचान बनाइसकेका निर्देशक सुदर्शन थापा पनि पछिल्लो फिल्म ‘रामकहानी’ मा कमेडीतिर ढल्किए । लभस्टोरीलाई त उनले छोडेनन्, तर फिल्ममा यसपटक केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको टिम नै भित्र्याएर फिल्मको प्रस्तुतिमा पनि कमेडीको चास्नी हाले । आखिर फिल्म जति चल्यो, त्यसमा कमेडी फ्याक्टर मुख्य रह्यो ।


दीपकराज समूहले जसरी कमेडी सिरिज बनाउने अर्का फिल्मकर्मी हुन्, जयकिशन बस्नेत । ‘धुम’ सिरिजका कमेडी फिल्म बनाएरै बस्नेतले एकखाले दर्शकको राम्रै सर्कल बनाइरहेका छन् । जयकिशन कम बजेटका आफ्ना फिल्मलाई कमेडीकै दममा नाफामूलक बनाइरहेका छन् । यस वर्षको घटस्थापनामा फेरि दीपकराज समूहको ‘छक्कापन्जा ३’ रिलिज हुँदा भने कमेडी जानराकै अर्को फिल्म ‘जय भोले’ सँग व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्ने भयो ।


कुनै बेला कमेडी फिल्मका दर्शक छैनन् भन्नेलाई ‘छक्कापन्जा’ बनाएर गलत साबित गरिदिएका दीपकराज नै यसपटक कमेडी फिल्मकै भिडन्तमा परे । अशोक शर्माले १२ वर्षपछि निर्देशनमा सफल कमब्याक जनाउन कमेडी फिल्मकै सहारा लिए । ‘जय भोले’ मा उनले कमेडी शैलीका साथै कलाकार खगेन्द्र लामिछाने, सौगात मल्लबाहेक अधिकांश कमेडियनकै डफ्फा राखे । शर्माले आखिर कमेडीकै बलमा कमब्याकलाई सफलता दिलाए ।


‘पशुपति प्रसाद’ पछि दीपेन्द्र के खनालको छवि गम्भीर प्रकृतिका फिल्म बनाउने निर्देशकका रूपमा चुलियो । तर त्यसपछिका उनका फिल्म ‘धनपति’ र ‘चपली हाइट २’ ले खनालको बनेको कद पनि घटाइदिए । आफ्नो असफलतालाई चिर्न यसपटक उनले ‘चंगा चेट’ ल्याए । खनालले पनि यसपटक कमेडीकै सहारा लिए । त्यसो त ‘झोले’ बाटै पनि उनले डार्क कमेडीको प्रयोग नगरेका हैनन् । तर ‘चंगा चेट’ मा भने उनले लाउड कमेडीको सहारामा दर्शकलाई जबरजस्ती हँसाएरै भए पनि एक तहको सफलता हत्याए । कमेडीको प्रयोग गरेर सफलता खोज्ने फिल्मको लर्को अझै सकिएको छैन, बरु बढिरहेको छ ।


शुक्रबार रिलिज हुने फिल्म ‘चौका दाउ’ पनि कमेडी जानरामै बनेको बताइएको छ । पूर्णेन्दु झाको निर्देशन रहेको उक्त फिल्मको ट्रेलर पनि पूर्णत: कमेडी शैलीमा नै प्रस्तुत गरिएको छ । सन्तोष पन्तदेखि विल्सनविक्रम राई, रवीन्द्र झा, तैयव शाह, निर्मल शर्मालगायतका पाका उमेरका कलाकारलाई नायिका वर्षा राउतको पछि लगाइएको छ । निर्माता रहेका छन् सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारी ।


यसअघि पोलिटिकल थ्रीलर फिल्म ‘संरक्षण’ निर्देशन गरेका झा पहिलो फिल्मबाट खासै नोटिस नभए पनि यसपटक फिल्म ‘चौका दाउ’ मार्फत स्थापित हुनेमा आशावादी हुनुको मुख्य कारण पनि कमेडीलाई नै ठानेका छन् । त्यसबाहेक ‘गरुड पुराण’, ‘न यता न उता’ जस्ता रिलिजका क्रममा रहेका फिल्मका ट्रेलर हेर्दा पनि तिनले कमेडीकै सहारा लिएको बुझ्न सकिन्छ ।

प्रकाशित : पुस २७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?