कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

“प्रसाद” बेलायतमा

नवीन पोखरेल

लन्डन — छोटो तर धेरै दौडधुपले अभिनेत्री नम्रता श्रेष्ठ पहिलो बेलायत भ्रमणमा अस्वस्थ नै भइन् । लामो यात्रा, बेलायतको बढ्दो चिसो र छोटो अवधिबीच तय गरिएका धेरै कार्यक्रमका कारण उनलाई धपेडीमा परिन् ।

“प्रसाद” बेलायतमा

‘मलाई सन्चो छैन तर तपाईंहरूको माया र उपस्थिति देखेर म उत्साहित छु,’ बेलायतस्थित अल्डरसट प्रिन्सेस हलमा शनिबार आफ्नो पछिल्लो फिल्म ‘प्रसाद’ को प्रिमियरमा नम्रता भन्दै थिइन् । नेपाली फिल्म रुचाइदिने दर्शकश्रोताप्रति आभार व्यक्त गर्दै उनले आफूलाई माया गरिरहन आग्रह समेत गरिन् ।


त्यसको एक दिनअघि सोआस युनिभर्सिटीमा नेपाली फिल्म र आफ्नो जीवनका उतारचढावबारे खुलेर बोलेकी नम्रतासँग नेपाली सिनेमाप्रेमीले आइतबार अल्डरसटस्थित डि लाउन्जमा ‘मिट एन्ड ग्रिट’ पनि गरे ।


ब्लगर लेक्स लिम्बू, ह्याभ अ मोमेन्ट र जी ९ इन्टरटेन्मेन्टले ‘प्रसाद’ को बेलायतमा प्रिमियर सो गरेका हुन् । लेक्सले नेपाली फिल्म प्रवर्धन गर्न र दर्शकश्रोतालाई उत्कृष्ट फिल्म देखाउन कार्यक्रम गरिएको बताए । अचेल नेपाली फिल्म उत्कृष्ट बन्दै गएकाले नयाँ पुस्तासमेत यसतिर आकर्षित भएको उनको भनाइ थियो ।


फरक कोणबाट उठाएको सामाजिक विषयवस्तु, कलाकारहरूको सशक्त तथा मन छुने अभिनय, सरल तर दमदार प्रस्तुति, उत्कृष्ट गीत लगायतका कारणले फिल्म मन पराएको अधिकांश दर्शकश्रोताले बताएका थिए । ‘फिल्मले समाजभित्रको वास्तविकतालाई सरल र मन छुने ढंगले प्रस्तुत गरेको छ,’ नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले भने, ‘कलाकारहरूको सशक्त अभिनय फिल्मको बलियो पक्ष छ ।’


नम्रता, विपिन कार्की, निश्चल बस्नेतको अभिनय गरेको ‘प्रसाद’ दिनेश राउतले निर्देशन गरेका हुन् । अन्तर्जातीय प्रेम विवाहपश्चात् गाउँ र परिवार छोडेर सहर पसेको एउटा जोडीले नि:सन्तान भएपछि आइपरेको समस्या र आफैंसँग गरेको द्वन्द्व नै फिल्मको मुख्य प्लट हो । महिला पात्र केन्द्रमा रहेको फिल्मले उक्त पात्रले आफ्नो अधिकार प्राप्तिका लागि लडेको लडाइँलाई पनि आत्मसात् गरेको देखिन्छ । ‘प्रसाद’ बेलायतका अन्य सहरमा समेत प्रदर्शन हुनेछ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?