चेलीबेटी पुज्दै सकराती

काठमाडौँ — कोही मादलको तालमा नाच्दै थिए त कोही स्टलहरूमा विभिन्न परिकार चाख्दै थिए । कोही भने विभिन्न भाषाका पुस्तकहरू बेच्दै थिए । मञ्चतिर सांस्कृतिक अधिकारकर्मीहरू संस्कृति बचाउनुपर्ने भन्दै भाषण दिँदै थिए ।

चेलीबेटी पुज्दै सकराती

राजधानीको टुँडिखेलमा मंगलबार मगर, थारू, राई लगायत विभिन्न समुदायले भिन्नभिन्न तरिकाले माघे संक्रान्ति मनाए । यो दिनलाई मगर समुदायले भने मौलिक पर्व ‘माघे सकराती’ का रूपमा मनाउँदै आएको छ र टुँडिखेलमा त्यसको भिन्न उल्लास देखिन्थ्यो ।


काठमाडौँको सामाखुसीका कमलबहादुर राना मगरसहित छ जनाको टोली चौरमै बसेर सेल र तरुल खाँदै थियो । ५९ वर्षीया कमलले यी परिकार घरैबाट ल्याएका रहेछन् । मगर संस्कृति नै अनुसरण गर्ने भए पनि उनी मासु खाँदा रहेनछन् ।


‘यहाँका स्टलमा माछामासुयुक्त खानेकुरा हुने भएकाले घरबाटै पकाएर ल्याएको,’ नरम सेल टोक्दै उनले भने, ‘पहिलेका मानिस र संन्यासीहरू यस्तै सादा खाएर बाँचेका थिए । सेल, तरुल र सख्खरले चिसोमा शरीरलाई तातो बनाउन सहयोग गर्छ । अनि यस्तो मेलाले आफन्तहरूलाई एकै ठाउँ भेला पारिदिन्छ, अनि रमाइलो हुन्छ ।’


उनकै टोलीमा रहेका गोरखाका चेतबहादुर आलेले राजधानीमा नै माघे सकराती मनाउन थालेको बीस वर्ष भइसक्यो । स्टलका खानाहरूले लोभ्याए पनि स्वास्थ्यका कारण तीबाट टाढै बस्ने गरेको उनले बताए । ‘यी खानेकुराहरू स्वास्थ्यवर्धक नहुन सक्छन् । घरबाटै ल्याए स्वस्थ पनि हुन्छ अनि मीठो पनि हुन्छ,’ उनले भने, ‘के खाने, के नखाने मनको इच्छा हो, तर स्वास्थ्यको हिसाबले खाने हो भने हामीले त्यसलाई महत्त्व दिनु हुन्न ।’


सोह्रखुट्टेबाट मेलामा आएकी रामेछापकी सुनीता मगरको टोली टँुडिखेलकै एकातिर गोलबद्ध थियो । उनको टोलीका चौध–पन्ध्र जना पनि घरबाटै ल्याएका पोका खोल्दै थिए । सुनीताका अनुसार, उनीहरूले दुई वर्षदेखि राजधानीमा माघे सकराती मनाउन थालेका हुन् । पढाइको सिलसिलामा राजधानी आएपछि गाउँ जान नपाएको उनले बताइन् ।

‘स्टलमा भएका खानेकुराहरू अलि महँगा छन्,’ घरबाटै पोका बोकेर आउनुको कारणबारे उनले भनिन्, ‘महँगो तिरेर थोरै खान पाइन्छ, पेट पनि भरिँदैन । घरबाटै जति खान मन लाग्छ पकाएर ल्याए टन्न खान पाइन्छ ।’


सुनीताहरूले ल्याएका पोकामा छोइला, अचार, पिँडालु, सेल रोटी, सुंगुरको मासु, तरुल लगायत थिए । ‘लोकल रक्सी र छयाङ पनि ल्याएका थियौँ,’ त्यही टोलीका वसन्त राईले भने, ‘पहिलो चोटि राजधानीमा सकराती मनाएको, रमाइलो लागिरहेको छ । तर यो चौरमा घाँस नभएर धुलैधुलो मात्र रहेछ । घरबाट ल्याएका खानेकुरा पनि धुलो पर्ला भनेर छिटछिटो खानुपरिरहेको छ ।’


राजधानीकै पकनाजोलबाट आएका इरुजा पाण्डे, सुनीता केसी, सविता केसी र सविना केसी टपरीमा सेल, बारा र अचार राखेर खाँदै थिए । उनीहरूले घरमा घ्यू, चाकु, तरुल, खिचडी, मासु खाएर आएका रहेछन् । मेलामा मगर साथीहरूले खाजाको अफर गरेपछि बारा, सेल खान मन लागेको इरुजाले बताइन् । ‘टपरीमा राखेर खाँदै गर्दा गाउँको फिल आएको छ,’ उनले भनिन् ।


फिल्मकर्मी एवं लेखक संजोग लाफा मगरका अनुसार, मगर जाति भित्रै पनि विविधता छ । मगरहरूले आफ्ना चेलीबेटी पुज्ने पर्वको रूपमा यो सकराती मनाउने गरेको उल्लेख गर्दै उनले भने, ‘मगरहरूको सकराती चेलीबेटी पुजेपछि सुरु हुन्छ । स्याङ्जाका केही भागमा भने मगरहरूले आफ्ना पितृपुर्खाको नाममा डिडाके (पानी चढाउने) काम गर्छन् ।’


टुँडिखेलमा पहिलो पटक मगरहरूले सकराती मनाएको उनले बताए । प्राय: मौलिक पोसाकमा सजिएर बालबालिकादेखि बूढापाकासम्म टुँडिखेल पुगेका थिए । ‘यसले मगरहरूले आफ्नो संस्कृति र संस्कारमाथि गौरव गर्न थालेको संकेत दिन्छ,’ उनले भने ।

टुँडिखेलमा फुड स्टलदेखि पुस्तक प्रदर्शनी, फेस पेन्टिङलगायत स्टल राखिएका थिए ।


प्रकाशित : माघ २, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?