कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शैली पुरानै, सन्देश नयाँ

काठमाडौंको ठमेलस्थित दलाई ला आर्ट स्पेसमा प्रदर्शनीमा रहेका चित्रकार आशा डंगोलका सिर्जना । 

काठमाडौँ — शरीर एउटा छ, जसमा महिला र पुरुषदेखि बाघ, हात्ती, गैँडालगायत फरक–फरक बाह्र टाउका जोडिएका छन् । अनि अक्सिजन माक्सले ती सबैको प्राण धानिरहेको छ ।

शैली पुरानै, सन्देश नयाँ

झट्ट हेर्दा चित्रकार आशा डंगोलको यो सिर्जनाले रावणका दस टाउकाकै झल्को दिन्छ । तर कलाको आकृतिहरूमा घोत्लिने हो भने त्यहाँ परम्परागत पौभा कलाको अंशका साथसाथै भविष्यप्रतिको चिन्ता भेटिन्छ ।


चित्रकार आशाले पुरानो पौभा कला शैलीको प्रयोग गर्दै त्यसलाई कन्टेम्पोररी आर्टसित मिसाएर बनाएका यस्तै पेन्टिङहरूलाई ‘न्यु बिगिनिङ’ शीर्षकमा ठमेलस्थित दलाई ला आर्ट स्पेसमा प्रदर्शनीमा राखिएका छन् । उनले पुरानो शैली अपनाउँदै उनले नयाँ सन्देश दिन खोजेका छन् । आशाले चित्रमा विश्वभरिमा बढदै गरेको अव्यवस्थित सहरीकरण र त्यसले निम्त्याएको प्रदूषणलाई संकेत गरेका छन् । बढदो विकास परियोजना र उद्योगहरूले वातावरणलाई विनाश गर्दै मानिसको स्वास्थ्यमै प्रतिकूल असर पार्न थालेको चिन्ता उनले पेन्टिङमा खुलाइएको छ ।


‘पहिले मानिस खोलाको पानी राजकुलोबाट घरघरमा पुर्‍याएर पिउँथे, तर अहिले बोतल, जारका पानी खान पुगिसक्यौँ,’ उनले भने, ‘अहिले खुला रूपमा हामीले अक्सिजनको उपभोग गर्दै सास फेरिरहेका छौँ, भविष्यमा कतै हामीले सिलिन्डरको अक्सिजन प्रयोग गर्नुपर्ने बाध्यता पो आउँछ कि ?’ समाजमा बढ्दै गएको विकृति र विसंगतिप्रतिको असन्तुष्टि चित्रमार्फत देखाउन चाहेको आशा बताउँछन् ।


उनले सन् २०१० देखि यही थिममा पेन्टिङ बनाउँदै आएका छन् । २०१२ देखि अहिलेसम्म बनाएका ११ थान ठूला साइजका पेन्टिङहरू प्रदर्शनीमा राखेका हुन् । ‘हेर इज माई सिटी ?’ र ‘हेर इज माई भिलेज ?’ शीर्षकमा उनले बढदो सहरीकरणले पुराना मौलिक सम्पदाहरूका संरचना मास्दै गएको देखाउन खोजेका छन् ।


उनका कतिपय चित्रमा टयाक्सीमाथि ग्यास मास्क लगाएको मानिस बनाएका छन् । अनि उसको हातमा सानो हरियो बोट बनाएर नयाँ जीवनको संकेत दिन खोजेका छन् । उनका केही चित्रमा भैरवको क्यारेक्टरलाई पनि देख्न सकिन्छ । देवताहरूमध्ये भैरवलाई केही आक्रोशित देवताको रूपमा हेर्ने गरिन्छ । बढ्दो सहरीकरण र प्रदूषणका बाबजुद केही राम्रा कामप्रति आशावादी देखिन खोजेको उनले सुनाए । ‘यो समाजलाई सुसूचित गर्नु कलाकारको कर्तव्य हो,’ उनले भने ।


प्रदर्शनीमा ३५ हजारदेखि ६ लाख रुपैयाँसम्मका पेन्टिङ छन् । प्रदर्शनी एक महिना चल्नेछ ।

प्रकाशित : माघ ३, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?