कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बर्बरिकको रहस्यमय कथा

काठमाडौँ — तराईको मध्य गर्मी । किसानहरू खेतमा छन् । यस्तैमा लुसुक्क एक जना मानिस आइपुग्छ । खेतको गरामा किसानहरूसँगै मिलेर काम गर्छ । साँझ जहाँ बास बस्छ, आफैं भाँडा माझ्छ । दिनभरि घरैमा बस्नुपरे अरू भाँडाकुँडा पनि माझिदिन्छ ।

बर्बरिकको रहस्यमय कथा

पञ्चायतविरुद्ध २०४६ मा जनआन्दोलन चलिरहेको अर्को समय । कांग्रेस नेता गणेमानसिंह वीर अस्पतालको शय्याबाट आन्दोलनलाई कमान्ड गरिरहेका छन् । यस्तैमा लुसुक्क आइपुग्छ त्यही मान्छे र गणेशमानसँग साउती मार्छ– ‘म बर्बरिक हुँ । वाममोर्चाको तर्फबाट तपाईंलाई भेट्न आएको ।’ आन्दोलनकै समय, बर्बरिक सुरक्षाकर्मीको सूचीमा छ । बर्बरिक भने साइकलमा सामान्य मानिसजस्तै फुत्तफुत्त सुरक्षाकर्मीको भीड चिर्दै अघि बढ्छ ।


को हो त्यो विस्मयकारी मान्छे ?

कुञ्ज थिएटरमा बुधबारदेखि मञ्चनमा आएको नाटक ‘बर्बरिक’ ले रहस्यको पर्दा उर्घार्दै जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गर्ने मदन भण्डारीको राजनीतिक जीवनीमाथि प्रदीप नेपालले लेखेको उपन्यास ‘बर्बरिक’ मा आधारित नाटकले नेपाली राजनीतिको एउटा अप्ठयारो र संक्रमणकालीन कालखण्डको कथा भन्छ ।


प्रजातन्त्रका लागि भूमिगत बस्नुपर्दाका अप्ठयाराहरू, पार्टीभित्रै पनि फरक मतसित जुध्नुपर्दा आइपर्ने अस्वस्थ प्रतिस्पर्धा, कांग्रेस र कम्युनिस्ट मिलेर गरेको २०४६ को आन्दोलन, त्यसपछिको दरबारिया मनोविज्ञानदेखि ‘रहस्यमय दासढंगा दुर्घटना’ सम्मका सन्दर्भ नाटकमा हेर्न सकिन्छ ।


झोराहाट नाटय समूह मोरङले विराटनगरस्थित आफ्नै नाटकघरमा नौ दिन मञ्चन गरेपछि यो नाटकलाई राजधानीमा ल्याएको हो । नाटय रूपान्तरण भरत गुरागाईंले गरेका हुन् भने निर्देशन जीवन बरालले । नाटक तत्कालीन एमाले महासचिव मदन भण्डारीको राजनीतिक जीवनमा आधारित रहे पनि यसले नेपाली राजनीतिको एउटा कालखण्डलाई प्रस्तुत गर्छ ।


मुख्य गरी नाटकले भूमिगत समयका कठिनाइहरू, सरल जीवनशैली, जनताप्रतिको इमानदारीलाई प्रस्तुत गरेको छ । अझै रहस्यमय रहेको दासढुंगा दुर्घटनाप्रति यसले पुन: चासो पनि जगाइदिन्छ । नाटकमा प्रस्तुत तीनै जना राजनेता इमानदारीको रेखामा उभिएका देखिन्छन् । मदन भण्डारी, गणेशमान सिंह र राजा वीरेन्द्र । गणेशमान अस्पतालकै शय्याबाट प्रजातन्त्रको पक्षमा लड्छन्, उनी आफ्नो भन्दा देशको बिमारको कुरा गर्छन् । उता राजा वीरेन्द्र पनि मदन भण्डारीलाई दरबारमा बोलाएर पृथ्वीनारायणकै दिव्य उपदेश सुनाउँछन्– ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ । विदेशीसामु घुँडा टेक्नुभन्दा आफ्नै जनतालाई अधिकार सुम्पेको हुँ ।’


कांग्रेस, कम्युनिस्ट र दरबार गरी तीन इमानदार चरित्रलाई अहिलेको राजनीतिसित अर्थपूर्ण रूपमा तुलना गर्न सकिन्छ ।

‘नेपाली राजनीतिमा थुपै रहस्यमय घटनाहरू छन्,’ नाटक हेरेपछि संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘तीमध्ये दासढुंगा काण्ड र दरबार हत्याकाण्ड पनि हुन् । रहस्यको पर्दा उघार्न यस्ता नाटकले पक्कै पनि दबाब सिर्जना गर्नेछन् ।’


लेखक प्रदीप नेपालले पनि नाटकको अभिनय र निर्देशन पक्षको प्रशंसा गर्दै आफूले सोचेभन्दा नाटक बढी राम्रो बनेको दाबी गरे । नाटकमा कथावाचकका रूपमा लेखकलाई उभ्याइएको छ । लेखकले भूमिगतकालमै भएको महाधिवेशनमा बर्बरिकको महासचिवमा चयनदेखि मृत्युसम्मको कथालाई टिपेका छन् । पुरानो ध्वनि, भाषण, गीत र संगीतको प्रयोगले नाटकलाई यथार्थपरक बनाउन सघाएको छ । सामान्य मञ्चमा पनि शरीर भाषालाई बढी प्रयोग गरेर दर्शकश्रोतालाई बाँधिराख्न नाटक सफल छ ।


बर्बरिकको भूमिका भरत गुरागाईंले गरेका छन् । नाटकमा सुदीप कार्की, विमल सम्बाहाङफे, नमस्ते दिवाकर घिमिरे, अनु श्रेष्ठ लगायतले अभिनय गरेका छन् । नाटक माघ १२ सम्म नियमित मञ्चन हुनेछ ।

प्रकाशित : माघ ३, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?