कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निफमा ५९ फिल्म

काठमाडौँ — ‘कथ्यहरूको उत्सव’ सन्देशसहित दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) फागुन ९ देखि राजधानीमा हुने भएको छ ।

पाँचदिने महोत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३१ राष्ट्रका ५९ फिल्महरू प्रदर्शनका लागि अन्तिम छनोटमा परेको बताए ।


तीमध्ये नेपालका १६ फिल्म समावेश छन् । मुलुकबाहिरबाट ३१ छोटा फिल्म छन् भने ६ फिचर फिल्म । नेपाली फिल्महरूमा ६ वटा फिचर र १० वटा छोटा फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा फिल्म पनि महोत्सवमा समावेश गरिएको छ । पाठकले महोत्सवमा छनोटमा परेका फिल्महरूको प्रदर्शनका साथै नेपालका चर्चित फिल्मकर्मी र अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका विशेषज्ञहरूको सहभागितामा बृहत् छलफल पनि हुने बताए ।


अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका फिल्महरूमध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई ट्रफी र एक हजार डलरसहितको गौतम बुद्ध अवार्ड र एक सर्वोत्कृष्ट छोटो फिल्मलाई पाँच सय डलर र ट्रफीसहितको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । नेपाल पानोरामाअन्तर्गतको प्रतिस्पर्धामा सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई ५० हजार रुपैयाँ र ट्रफीसहित पुरस्कार, सर्वोत्कृष्ट छोटो फिल्मलाई २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।


यस्तैगरी नेपाली पानोरामाअन्तर्गत नै फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखकको पनि पुरस्कार प्रदान गरिनेछ । सर्ट फिल्मतर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कार मात्र प्रदान गरिनेछ । निर्माता, निर्देशक नीर शाहको संयोजकत्वमा स्विट्जरल्यान्डका एन्नी डेल्सेथ, नेपालका निर्देशक नवीन सुब्बा, चीनका निर्देशक, पटकथा लेखक लिआङ किआवो र भारतका प्रेमेन्दर मजुमदारको निर्णायक समूहले उत्कृष्ट फिल्म छनोट गर्नेछ ।

प्रकाशित : माघ ४, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?