३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपथ्यसँगै झुम्यो फिदिम

ताप्लेजुङ — प्राचीन समयमा लिम्बूहरूको केन्द्रबिन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम । कुनै समय दस लिम्बू क्षेत्रका राजाहरू फेदेन अर्थात् यसै फिदिममा जम्मा भई आपसी समस्याहरूको निर्णय लिने गरेको ऐतिहासिक महत्त्व यस सहरसँग ।

नेपथ्यसँगै झुम्यो फिदिम

यही सहरमा पहिलो पटक बुधबार साँझ नेपाली लोक रक ब्यान्ड नेपथ्यले जोडदार प्रस्तुति दियो ।


६ हजार बढी दर्शकको साथ पाएका नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीति प्रस्तुतिहरूसँगै विभिन्न सामाजिक मुद्दाहरू पनि उठाए । यस क्रममा अनसनरत गोविन्द केसीको पटकपटक समर्थन गरे । पूर्वी नेपालको पहाडी जिल्लामा आफ्नो ब्यान्डको वार्षिक उत्सव मनाउन आएका गुरुङको टिमले पहिलो पटक लाइभ कन्सर्ट गरेको हो ।


फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता सिद्धिएको दुई दिनपछि त्यही मैदानमा भरिभराउ दर्शकलाई उनको टिमले उचालेको थियो । खेलमैदान र प्याराफिटमा खचाखच भरिएका दर्शकहरूलाई ‘चरी मर्‍यो सिसैको गोलीले...’, ‘छेक्यो छेक्यो देउराली डाँडा...’, ‘शिरफूल शिरैमा...’, ‘जोगले हुन्छ भेट...’ लगायत २० गीत गाए । दर्शकको वान्स मोर जारी नै रह्यो । दर्शकको साथले नेपथ्य टिमलाई फेरिका लागि पनि लोभ्याएको उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले वताए ।


पूर्वी नेपालका पाँचथर र ताप्लेजुङमा कन्सर्ट गर्ने योजना बनेको १४ वर्षपछि नेपथ्यको टिम फिदिमसम्म आएको हो । यसअघि यहाँका सामुदायिक भवन पर्याप्त र उपयुक्त नभएको भन्दै कार्यक्रम स्थगित गरिएको थियो । फाल्गुनन्द युवा क्लबको अगुवाइमा भएको कन्सर्टमा छिमेकी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, इलामदेखि झापासम्मका दर्शक आएका थिए ।


अमृतलाई ड्रममा ध्रुव लामा, किर्बोडमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

प्रकाशित : माघ ४, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?