१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डस् २०७५ : माणिकरत्नलाई लाइफ टाइम

काठमाडौँ — रेडियो कान्तिपुरको २० औं वार्षिकोत्सव अवसर पारेर शनिबार राजधानीमा आयोजित नेसनल म्युजिक अवार्डस्मा शिव परियार र दुर्गा परियारले सर्वोत्कृष्ट आधुनिक गायनको अवार्ड थापेका छन् ।

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डस् २०७५ : माणिकरत्नलाई लाइफ टाइम

शिवले ‘आँसुको अर्थ...’ बोलको गीतका लागि अवार्ड जित्दा दुर्गाले ‘वन फूल...’ बाट जितेकी हुन् । ‘वन फूल...’ बाटै रमेश बिजीले गीतकारको अवार्ड पनि थापे ।


राजधानीको होटल सोल्टीमा झन्डै तीन घण्टा सांगीतिक कार्यक्रमसहित चलेको अवार्ड समारोहमा गायक तथा संगीतकार माणिकरत्नलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरियो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले माणिकरत्नलाई दोसल्ला ओढाउँदै ताम्रपत्रसहित एक लाख रुपैयाँ प्रदान गरी सम्मान अर्पण गरेका थिए ।


सम्मानलगत्तै भविन ढुंगाना र विश्व नेपालीले माणिकरत्नका कालजयी गीत गाएर सांगीतिक सम्मान व्यक्त गरेका थिए । पहिलो नेपाली रंगीन फिल्म ‘कुमारी’ मा पाश्र्व गायन दिएका माणिकरत्नले ६ दशक अवधिमा तीन दर्जन बढी गीतमा संगीत तथा स्वर दिएका छन् ।


अवार्डमा रोहित जोन क्षेत्री, निखिता थापा, प्रविशा अधिकारी, कुलेन्द्र विक, सन्ध्या बुढा, सुगम पोखरेललगायतले सांगीतिक प्रस्तुति दिएर समारोहलाई भव्य बनाएका थिए भने मनोज गजुरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो बनेर कमेडी पस्केका थिए ।


त्यसैगरी, सुगम पोखरेलले फिल्म ‘ब्ल्याक’ को ‘पल पल...’ बोलका लागि सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड उचाल्दा बानिका प्रधानले पाश्र्व गायिकातर्फ फिल्म ‘ब्लाइन्ड रक्स’ को ‘उड्यो मन...’ बोलको गीतका लागि अवार्ड जितिन् । सन्तोष केसीले ‘दाइकी साली...’ का लागि र शान्तिश्री परियारले ‘बोल माया...’ बाट सर्वोत्कृष्ट लोक गायक/गायिका बने ।


पपतर्फ भने ‘हाँस्न सिकें...’ का गायक कमल खत्री र ‘माया लुकीलुकी...’ की टीका प्रसाईं प्रतिस्पर्धीलाई पछि पार्दै सर्वोत्कृष्ट गायक, गायिकामा दरिए । यस वर्ष ‘मन मगन...’ बाट चर्चामा रहेको सांगीतिक समूह ‘रिदम’ सर्वोत्कृष्ट ब्यान्ड बन्यो भने, ‘तिमी राजी म राजी...’ गीतबाट राजेश केसी र सुजाता उपाध्यायले युगल गायनको अवार्ड जिते ।


१६ विधामा अवार्ड प्रदान गरिएको नेसनल म्युजिक अवार्डस्मा सर्वोत्कृष्ट राष्ट्रगीत ‘पूर्व तिम्रो...’ चयन हुँदा निशान भट्टराई र शीतल पाण्डेले अवार्ड जिते भने पिपुल्स च्वाइस अवार्ड नितेशजंग कुँवरले ‘हाम्रो नेपालमा...’ का लागि प्रतिस्पर्धीलाई उछिने । पहिलो संस्करणका नेपाल आइडल बुद्ध लामा भने ‘तिमी साथ भएपछि...’ का लागि सर्वोत्कृष्ट नवगायक घोषित भए । त्यसैगरी, हरि लम्सालले ‘उड्यो मन...’ बाट संगीतकारको अवार्ड थापे ।


रेडियो कान्तिपुरको वार्षिकोत्सव तथा अवार्ड कार्यक्रममा बोल्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिरोहियाले रेडियोले गीत, संगीतबापत् दिइने रोयल्टीलाई निरन्तरता दिने बताउँदै श्रोतासँग रेडियोलाई अझ नजिक बनाउन राष्ट्रियस्तरका विभिन्न रियालिटी रेडियो सोहरू थप्दै लैजाने उल्लेख गरे । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले सर्जकहरूलाई पिठयूँमा धाप मार्ने र ऊर्जा प्रदान गर्ने खालका कार्यक्रम रेडियोले दिँदै जानेमा विश्वास दिलाए ।


सर्वोत्कृष्ट

नवगायक : बुद्ध लामा (तिमी साथ भएपछि...)

गीतकार : रमेश बिजी (वन फूल...)

संगीतकार : हरि लम्साल (उड्यो मन...)

लोक गायक : सन्तोष केसी (दाइकी साली...)

लोक गायिक : शान्तिश्री परियार (बोल माया...)

पाश्र्व गायक : सुगम पोखरेल (पल पल...)

पाश्र्व गायिका : बानिका प्रधान (उड्यो मन...)

राष्ट्रगीत : निशान भट्टराई र शीतल मोक्तान (पूर्व तिम्रो...)

पप गायक : कमल खत्री (हाँस्न सिकें...)

पप गायिका : टीका प्रसाईं (माया लुकी लुकी...)

सांगीतिक समूह : रिदम (मन मगन...)

आधुनिक गायक : शिव परियार (आँसुको अर्थ...)

आधुनिक गायिका : दुर्गा परियार (वन फूल...)

युगल गायन : राजेश केसी र सुजाता उपाध्याय (तिमी राजी म राजी...)

पिपुल्स च्वाइस : नितेषजंग कुँवर (हाम्रो नेपालमा...)

उत्कृष्ट तीन एड एजेन्सी : थम्सन नेपाल, म्याक्स मिडिया र अवानी

प्रकाशित : माघ ६, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?