कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्लो स्पिडमा बक्सअफिस

‘बक्सअफिसले दिएको कलेक्सन रिपोर्ट र हल, वितरकले दिने रिपोर्टबीच एकरूपता नदेखिएको, बोर्डले नै उल्टै निर्मातालाई फिल्म व्यापारको तथ्यांक माग्दै पत्राचार गर्न थालेपछि बक्सअफिसमाथि नै संशय उत्पन्न भएको छ ।’ 
सुशील पौडेल

काठमाडौँ — लामो प्रतीक्षाको विषय बनिरहेको सेन्ट्रल बक्सअफिस सिस्टमलाई यसको अवधारणाअनुकूल पारदर्शी रूपमा लागू गर्न चलचित्र विकास बोर्ड लागिपरेको छ ।

स्लो स्पिडमा बक्सअफिस

त्यसो त बोर्डले साउनदेखि नै काठमाडौं उपत्यकाका हलमा बक्सअफिस लागू भइसकेको बताए पनि व्यवहारत: कार्यान्वयनमा आउन सकिरहेको छैन ।


यसअघि नै माघ १ देखि उपत्यकाबाहिरका हललाई पनि बक्सअफिसको नेटवर्कभित्र समेटिने बोर्डले बताएको थियो । अझै पनि बोर्डले प्रत्येक हलबाट हुने टिकट बिक्रीको तथ्यांकलाई रियल टाइममा केन्द्रीकृत गर्न सकिरहेको छैन ।


कतिपय फिल्म निर्माताले बक्सअफिसले दिएको कलेक्सन रिपोर्ट र हल, वितरकले दिने रिपोर्टबीच एकरूपता नदेखिएको, बोर्डले नै उल्टै निर्मातालाई फिल्म व्यापारको तथ्यांक माग्दै पत्राचार गर्न थालेपछि बक्सअफिसमाथि नै संशय उत्पन्न भएको हो ।


‘यो शंका धेरै समय रहँदैन,’ चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले कान्तिपुरसँग भनिन्, ‘बक्सअफिसको काम भित्रभित्रै भइरहेको छ । हामीले बाहिर सूचना नफालेको मात्रै हो ।’ त्यसो त बोर्डले बक्सअफिसको प्रगति विवरणबारे जानकारी दिन यसै साता गर्न लागेको पत्रकार सम्मेलन दुईदुई पटक स्थगित गरिसकेको छ । अध्यक्ष पौडेलले अहिले नै पत्रकार सम्मेलन गरेर फाइदा नरहेको बताइन् ।


उनका अनुसार बोर्ड यति बेला उपत्यकाबाहिरका हलहरूमा ई(टिकेटिङका लागि आवश्यक कम्प्युटर जडान र बक्सअफिस सर्भरको स्तरोन्नतिमा लागिपरेको छ । ‘अहिलेको अवस्थामा देशभरका हलबाट रियल टाइम डाटा आउँदा हाम्रो बक्सअफिसको सर्भर डाउन हुन सक्ने वा स्लो हुने देखियो ।


सर्भर अपग्रेड गरेपछि देशभरका हलबाट टिकट बिक्रीकै समय (रियल टाइम) मा तथ्यांक संकलन गरेर एकद्वार प्रणालीबाट बक्सअफिस रिपोर्ट दिनेछौं,’ बोर्डमा टेक्निकल कन्सल्टयान्टका रूपमा नियुक्त मनीष पण्डितले भने । उनका अनुसार, सोचेअनुरूप काम हुँदै गएमा चैत मसान्तसम्ममा मल्टिप्लेक्स हलको रियल टाइममा बक्सअफिस सञ्चालन हुनेछ ।


बोर्डले सदस्यद्वय दयाराम दाहाल र नरेन्द्र महर्जनको संयुक्त संयोजन रहने गरी नौ सदस्यीय बक्सअफिस कार्यान्वयन तथा अनुगमन समिति निर्माण गरेपछि काम केही अघि बढेको छ । ‘बक्सअफिस कार्यान्वयन कार्यविधि छिटै पास हुँदै छ । त्यसपछि समिति हलहलमा पारदर्शी टिकट विक्री(वितरण भए/नभएको बारे कडाइसाथ अनुगमन गर्नेछ,’ समितिका संयोजक दाहालले भने, ‘ठाउँठाउँमा चुहावट छ । त्यसको पत्तो लागिसकेको छ । अर्थ मन्त्रालयसँगको सहकार्यमा बक्सअफिस प्रणालीले गति लिन्छ । अटो जेनेरेट इमेलमार्फत फिल्म टिकट बिक्रीको तथ्यांक एउटै बाटोबाट सम्बन्धित पक्षलाई जानेछ ।’


मोफसलमा एक सय २१ फिल्म हलमध्ये २७ मल्टिप्लेक्स हलमा ई–टिकेटिङको व्यवस्था छ । जसलाई बोर्डले सेन्ट्रल सर्भरको अपग्रेड गर्नेबित्तिकै बक्सअफिस प्रणालीसँग जोड्नेछ भने हाते टिकटबाट सञ्चालित सिंगल स्क्रिन हलमा भने यति बेला बोर्डले अनुदान दिएर पूर्वाधार जडानका लागि जोडतोडले लागिपरेको छ ।


‘अझै पनि धेरै फिल्मकर्मीमा बक्सअफिसलाई लिएर अन्योल छ । पहिले त बक्सअफिसलाई लिएर निर्माता, हलवाला, वितरकको नियत ठीक हुनु जरुरी छ । दोस्रो, प्रविधिलाई आत्मसात् नगरेर सुखै छैन । बक्सअफिसको अवधारणालाई पछयाउनै पर्छ,’ संयोजक दाहालले कान्तिपुरसँग भने, ‘अब देशभित्रको मात्रै हैन, संसारभर नेपाली फिल्मले गर्ने व्यापारको सही तथ्यांक प्रत्यक्ष रूपमा आउँछ ।’

प्रकाशित : माघ ७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?