२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘सजिलो छैन स्टार हुन’

काठमाडौँ — मिडिया कलाकारहरूलाई उपाधि दिन बढी नै उदार हुने गर्छ । एकदुई फिल्म चल्न नपाउँदै कलाकारले स्टार, सुपरस्टार वा मेगास्टारको उपाधि पाइहाल्छन् । काजोललाई चर्चित हुनु भनेको ‘स्टार हुनु’ होइन भन्ने लाग्छ ।

‘सजिलो छैन स्टार हुन’

‘अचेल चर्चित त जोकोही हुन सक्छन्, तर स्टार हुन त्यति सजिलो भने छैन,’ उत्कृष्ट अभिनेत्रीको अवार्ड बलिउडमै सर्वाधिक पाँच पटक जितिसकेकी काजोलले भनेकी छन्, ‘स्टार र चर्चा यी दुई शब्दलाई एक ठाउँमा राखेर हेर्न सकिँदैन । यहाँ धेरै व्यक्ति चर्चित हुन सक्छन् तर साह्रै कम मात्र स्टार छन् । त्यसैले यी दुई अचेल त झन् एउटै हुनै सक्दैनन् !’


काजोल २५ वर्षयता बलिउडमा सक्रिय छिन् । न्यु मिडियाको आगमनपछि पछिल्लो समय जोकोही पनि रातारात भाइरल हुने क्रम बढिरहेको र सामाजिक सञ्जालको पहुँचले लुकेका प्रतिभालाई उजागर गर्न थालिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

यसै वर्ष ‘हेलिकप्टर इला’ मा देखिएकी काजोल शाहरूख खान अभिनीत ‘जिरो’ मा केमियो गरेकी थिइन् ।


४४ वर्षको उमेरमा पुरानै उत्साहका साथ काम गरिरहेकी उनले फिल्ममा उनको प्रासंगिकता सकिएको छैन भन्ने प्रश्न गर्नेहरूलाई दह्रो जवाफ पनि दिएकी छन् । ‘मलाई त्यस्तो लाग्दैन । यो भनेको समयको खेल रहेछ । अझै प्रासंगिक नै छु भन्नेमा मलाई विश्वास लाग्छ । अझै पनि धेरै काम गर्न सक्छु । स्क्रिन भित्र र बाहिरको मेरो व्यक्तित्व पनि उमेरसँगै विकास भइरहेको छ । १६ वर्षकी छँदाभन्दा अहिले आफूलाई बढी स्मार्ट अनुभव गर्छु । झन् राम्री भएकी छु । म धेरै दृष्टिकोणले प्रासंगिक छु ।’


खास गरी बलिउड विवाहित नायिकाहरूप्रति अनुदार मानिन्छ । अर्कातिर, विवाह गर्नु नायिकाका लागि करिअरलाई तिलाञ्जली दिनुसरह हो भन्ने मान्यतालाई खण्डित गर्न काजोल, ऐश्वर्या राय, करिना कपुर हुँदै पछिल्लो छिमलका नायिकाहरू सफल पनि भइरहेका छन् ।


शाखरुखसँगको उनको अनस्क्रिन केमेस्ट्री बलिउडमा हालसम्मकै सर्वाधिक रुचाइनेमा पर्छ । काजोल भने आफूलाई झुक्किएर बनेकी नायिका भन्न रुचाउँछिन् । ‘मेरो करिअरको सुरुआत त्यस्तो गतिलो भएको थिएन,’ उनले भनेकी छन्, ‘पहिलो फिल्म नै फ्लप भएको थियो । यस्तो अवस्थामा मैले अभिनय नै मेरो करिअर बन्ला भनेर त सोचेकै थिइनँ । तर भइदियो र त्यही धारमा म बगिरहेकी छु । म सधैं फिल्मलाई लिएर सधैं चुजी रहें । जति पनि फिल्म खेलें, सबैमा मेरो अनुभव उल्लेखनीय रह्यो ।’


–एजेन्सी

प्रकाशित : माघ ८, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?