कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तेम्बाथाङको स्याब्रु

शेर्पा समुदायमा ग्याल्बो ल्होसारको दिन स्याब्रु नाच्ने चलन छ । जुगल गाउँपालिका–३ स्थित तेम्बाथाङमा भने यो नाचका लागि ल्होसार नै कुर्नुपर्छ भन्ने छैन ।

तेम्बाथान, सिन्धुपाल्चोक — शेर्पा समुदायमा ग्याल्बो ल्होसारको दिन प्राय: एकै ठाउँमा भेला भएर स्याब्रु नाच्ने चलन छ । नयाँ वर्षको पहिलो दिन उनीहरू पीडा बिर्सन्छन्, आपसमा आत्मीयता साटदै स्याब्रु नाच्छन् ।

तेम्बाथाङको स्याब्रु

जुगल गाउँपालिका–३ स्थित तेम्बाथाङमा भने स्याब्रुका लागि ल्होसार नै कुर्नुपर्छ भन्ने छैन । हालैको दिन पनि गाउँलेहरू भेला भएर स्याब्रु नाचिरहेका थिए ।

स्थानीय मिङमार शेर्पाका अनुसार, विवाह होस् वा चाडपर्व, तेम्बाथाङमा यो नृत्य अनिवार्य छ । सबै जना एकै ठाउँमा जम्मा हुन्छन्् । हातेमालो गर्दै गोलाकार भएर स्याब्रु नाच्छन् । नाचले सबै उमेर समुदायकालाई लोभ्याउँछ । सबै जना बक्खु (शेर्पा पोसाक) मा ठाँटिएर प्रतिस्पर्धात्मक रूपमा नृत्य गर्न व्यस्त हुन्छन् । अलि पाकाहरूले बाच्छे बाजा (माउथ अर्गन) बजाउँदै गीतमा संगीत भर्ने काम गर्छन् । गाउनेहरू शेर्पा भाषाकै भाका हाल्छन् ।

मिङमारका अनुसार, स्याब्रु गीतमा गाउँघरकै कुरा समेटिएको हुन्छ । हिमाल र पहाडका दु:खसँगै पाखापखेरामा पलाउने हरियो घाँसको सन्दर्भसमेत गीतमा आएको हुन्छ ।

‘गीतअनुसार नै खुट्टाको चाल हुन्छ,’ लाक्पा शेर्पाले भने, ‘फास्ट या स्लो जुनसुकै बिट भए पनि सबैले एउटै चालमा नाच्नुपर्ने हुन्छ ।’ उनका अनुसार, स्याब्रु नाच्ने क्रममा महिला/पुरुषले पालैपालो गाउँछन् । प्राय: २० मिनेटसम्ममा गीतको एउटा प्रक्रिया पूरा हुन्छ र नाच सकिन्छ ।

‘पुर्खौंदेखि यो नाच नाच्न थालिएको हो,’ जुगल हिमाल नेपेमासल तेम्बाथाङ ग्रामीण विकास समाजको सचिवसमेत रहेका मिङमारले भने, ‘यो शेर्पा समुदायको मौलिक सांस्कृतिक चिनारी हो । यो नाचले हाम्रो समुदायलाई चिनाएको छ ।’

मिङमारका अनुसार, घर/गाउँमा स्याब्रु नाचिने चाल पाए युवायुवती पहिल्यै त्यसको अभ्यासमा जुट्छन् । यो गाउँमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन जात्रा लाग्ने हुँदा रोजगारीका लागि मुलुकभित्रकै विभिन्न थलो वा भारत पुगेकाहरूसमेत स्याब्रु नाच्न आइपुग्छन् ।

संक्रान्तिको पूर्वसन्ध्यामा गाउँमा राम्रै चहलपहल हुन्छ ।

जात्रा आयोजना गर्ने पनि पालो हुन्छ । यो पटक दावाजाङ्बु शेर्पाले जात्राको आयोजना गरेका थिए । उनका अनुसार, जात्रा आयोजना गर्नेका घरमा अघिल्लो रात नै झाँक्रीहरू भेला हुन्छन् । घण्टमाला भिरेका झाँक्रीहरूले ढयांग्रो बजाउँदै ध्यान गर्छन् । बाहिर टाढाटाढाबाट आएकाहरूचाहिँ स्याब्रु नाच्नमै मस्त ।

‘झाँक्री र नाचगानमा जम्मा भएकाहरूले रमाइलोले रात छर्लंग पारेको पत्तै हुँदैन’ दावाले भने । जात्रा आयोजक भएकाले यस पटक उनले आफ्नो घरमा नाचगान गर्न आउने पाहुना र छरछिमेकलाई चिया र छयाङको व्यवस्था गरे । ‘खानपिनमा लागेको खर्चचाहिँ सबै गाउँलेले आपसमा जम्मा गरेर दिने चलन छ,’ उनले भने ।

संक्रान्तिको भोलिपल्ट बिहान नजिकैको देवीथानमा पुगेर जात्रा देखाइन्छ । झाँक्री नचाइन्छ । गाउँले भने स्याब्रु नाच्छन् ।

‘जात्राले बर्सेनि सबैलाई भेट गराउँछ,’ भारतको कुल्लु–मनालीबाट जात्राकै लागि आएका साइँला शेर्पाले भने, ‘प्रत्येक वर्ष आउने गरेको छु ।’ उनी छोराछोरीसहित जात्रामा सामेल भएका थिए ।

जात्राले शेर्पा समुदायको कला संस्कृतिलाई जीवन्त तुल्याउने काम गरेको खामसुङ शेर्पाले बताए । ‘पुर्खाले सुरु गरेको जात्रा हो,’ ७१ वर्षे उनले भने, ‘अहिलेसम्म यसले निरन्तरता पाउँदै आएको छ ।’

तेम्बाथाङमा शेर्पा समुदायको बाक्लो बसोबास छ । तेम्बाथाङ पुग्न सदरमुकाम चौताराबाट पैदल दुई दिन लाग्छ । जात्रा देखाउनकै लागि जुगल हिमाल नेपेमासल तेम्बाथाङ ग्रामीण विकास समितिले यस पटक प्रदेश सांसद सरेश नेपाल, गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठ लगायतलाई गाउँमा निम्त्याएको थियो ।

प्रकाशित : माघ ८, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?