अभिनय कुण्डमा नि:शब्द शमशेर

‘रंगमञ्च अनुशासित र परिष्कृत भएछ । अब दर्शकलाई ढाँट्न सकिन्न ।’

काठमाडौँ — दर्जनौं नाटक र तीन सयभन्दा बढी फिल्म खेलिसक्दा अभिनेता नीर शाहको ‘सिग्नेचर छवि’ बनिसकेको छ । उनीबारे ‘मिथक’ झैं लाग्ने थुप्रै किस्सा नेपाली फिल्म दुनियाँका निर्देशक, कलाकारदेखि प्राविधिकसम्मले सुनाइरहेका हुन्छन् । ३२ वर्षपछि यी अभिनेता भने रंगमञ्च फर्केका छन् ।

अभिनय कुण्डमा नि:शब्द शमशेर

कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको नाटक ‘बाथटब’ मा उनी मुख्य भूमिकामा देखिँदै छन् । सोमबार साँझ नाटकको पूर्वाभ्यासबाट निस्किँदै गर्दा उनी गम्भीर मुद्रामा थिए । शिल्पी थिएटरको ढोकामा झुन्डिएको काला पर्दा हटाएर उनी बिस्तारै निस्के, केही समय मौन बसे ।


‘हरेक चरित्र गर्दा कलाकारले पहिले आफूलाई शून्य स्थितिमा पुर्‍याउनुपर्छ,’ ‘मसान’, ‘सेतो बाघ’, ‘बसन्ती’ जस्ता चर्चित फिल्मका निर्देशकसमेत रहेका शाहले कुर्सीमा बस्दै भने, ‘अहिलेचाहिँ क्यारेक्टरबाट बाहिर निस्किन नसकेर म मौन भएको हुँ ।’


यो क्रम चलेको भन्डै डेढ महिना भएको छ । उनी घरबाट आफंै गाडी हाँकेर थिएटर जान्छन्, ६ घण्टा पूर्वाभ्यासमा बस्छन् । पूर्वाभ्यास सकिएपछि केही समय मौन हुन्छन् । क्यारेक्टरको मनोविज्ञानबाट अलग्गिएपछि बल्ल घर फर्किन्छन् । यस्तो प्रकारको मौनता उनी स्वाभाविक मान्छन् ।


‘जब कोही आफूलाई भुलेर अर्को चरित्रमा पस्छ, निस्कन अवश्य समय लाग्छ । यति पनि भएन भने उसले चरित्रमाथि न्याय गरिरहेको हुँदैन,’ तिलचामले पातलो जुँगा मुसार्दै उनले भने, ‘फिल्म र नाटकमा यही त छ भिन्नता !’ फिल्ममा भए एक सट खिचेर, त्यो हेरेर, नभएपछि रिटेक लिएर फेरि हेरेर काम गरिन्छ । यस्तोमा निरन्तरता नबिग्रे भयो । ‘नाटकमा त अहिलेसम्म के भइरहेको छ, त्यो पनि निर्देशकलाई मात्रै थाहा छ †,’ उनले भने, ‘मञ्चनपछि दर्शकलाई पनि थाहा होला । तर, आफैंले हेर्ने मौकाचाहिँ कहिल्यै... ।’


उनका अनुसार, रंगमञ्च अभिनयको गहिराइ हो । गहिराइभित्र पसेर अभिनयको मोती टिप्न रंगमञ्च बुझ्नुपर्छ । त्यतिका फिल्ममा काम गरेर रंगमञ्चमा पुन: आएका उनी यति बेला आफूलाई ‘अभिनयको कुण्ड’ मा पसेको महसुस गर्छन् । ‘एकै पटक पुरानोजस्तो पनि नौलोजस्तो पनि महसुस भइरहेको छ,’ उनले कालो चिया सुरुप्प पारे, ‘लाग्दै छ, म अभिनयको गहिरो कुण्डभित्र पसेको छु । यहाँभित्र पसेपछि एउटै कुरालाई पनि कसरी फरकफरक रूपमा देखाउन सकिँदो रहेछ भन्ने बोध हुँदै छ ।’


उनी एक छिन फेरि मौन बसे । ‘बाथटब’ मा उनको मौनताको पनि अर्थ छ । उनको चरित्रको नामै छ, नि:शब्द शमशेर राणा । कुनै समय अनुदार रूपमा चलायमान राणाहरू अहिले नेपाली राजनीतिमा नि:शब्द छन् । उनी भने नाटकभित्रको एक लेखक हुन्, जो आफैंले जन्माएका पात्रहरूको अन्तरद्वन्द्वबीच फसेको छ । ‘मलाई लाग्छ, म एक डिप्रेस्ड लेखकको चरित्र गर्दै छु,’ बिहीबारदेखि नियमित मञ्चनमा आउने नाटकबारे उनले भने, ‘आफ्नै पात्रले प्रश्न उठाउने एक लाचार लेखक । आफ्नो स्वपहिचानका लागि पात्रहरूसित लडिबस्ने लेखक ।’


खासमा उनलाई नाटकको विषयले नै छोएको रहेछ । नगरकोटीका एकदुई पुस्तक पढेका पनि थिए उनले । प्रयोगवादी र अमूर्त संरचनाबीच पनि पात्रहरूको कुशल संयोजन र प्रस्तुतिले शाहलाई ‘बाथटब’ तिर तान्यो । क्यारेक्टर नै राणाको, उस्तै ओजपूर्ण व्यक्तित्व बोकेका शाहले केही दिनअघि पूर्वाभ्यासका क्रममा कथाले मागेबमोजिम सिगार पिए ।


‘एक दशक भइसकेको थियो, सिगार तान्न छोडेको,’ शाहले सुनाए, ‘मलाई त फनफनी लागेछ । डायलग बोल्दै अघि बढ्दै थिएँ, चिहानको लागि बनाएको खाल्डोमा झन्डै खसेको ! भूषिता र ब्रजेशले तानेपछि म बचें ।’


शाहले यो सुनाउँदै गर्दा छेवैकी भूषिता वशिष्ठ हाँसिन् । लामो समय पत्रकारितापछि रंगमञ्चतिर पाइला चालेकी भूषिता नाटकमा अनिद्रा नामक चरित्रमा छिन् । ब्रजेश खनालचाहिँ सिरियल किलरको चरित्रमा । नाटकभित्र यी दुबै चरित्र शाह (नि:शब्द शमशेर) कै कथाका पात्र हुन् । कुनै समय अभिनयकै भोक बोकेर फिल्म क्षेत्र पसेका र पटकथाकारको छविमा देखिएका ब्रजेशले बीचमा एकाध रंगमञ्चीय काम गरे पनि ‘गम्भीर रूपमा उनको पनि यो रंगमञ्चीय पुनरागमन’ हो । ‘यो नाटकको कथ्यशैली नै अद्भुत छ,’ शाह बोले, ‘फिल्म गर्नुपर्‍यो भने अब म नगरकोटीजीकै जस्तो कथामा गर्छु । नयाँपन त हुनुपर्‍यो नि !’


नेपाली फिल्ममा नयाँपन नभएकैले अहिले भद्रगोलको स्थितितिर अघि बढेको शाहको ठम्याइ छ । ‘फिल्म त यहाँ मजाकका लागि बनाएको जस्तो भइरहेको छ, गम्भीरता नै छैन,’ चलचित्र विकास बोर्डदेखि नेपाल टेलिभिजनसम्ममा अध्यक्ष भइसकेका शाहले भने, ‘हाम्रा फिल्मकर्मीहरूले रंगमञ्चबाट सिक्नुपर्ने देखिन्छ ।’


हुन त बालकृष्ण समको नाटक ‘मुटुको व्यथा’ पछि शाहको यो नै पहिलो नाटक हो । बीचमा उनले एक्टर्स स्टुडियोको ‘शकुन्तलाको औंठी’ हेर्ने मौका पाए । ‘मुटुको व्यथा’ देखि ‘शकुन्तलाको औंठी’ सम्म आइपुग्दा उनले नेपाली रंगमञ्चको प्रस्तुति शैलीमा ठूलो भिन्नता भेट्टाएका छन् । काम गर्ने तरिका पनि अनुशासित पाएका छन् । नाटक लेखनको शैली/संरचना बदलिएको छ । हुन त त्यति बेला पनि रंगमञ्चमा लीलालेखन र मनोवैज्ञानिक धार भित्रिएकै थिए । मनोवैज्ञानिक धारका विजय मल्लकै नाटक ‘स्मृतिको पर्खालभित्र’ खेलेका थिए शाहले, ४० वर्षअघि ।


‘‘मुटुको व्यथा’ नै पनि मञ्चीय हिसाबले प्रयोगवादी थियो,’ तीन दशकअघि हरिहर शर्माले निर्देशन गरेको नाटकबारे शाहले सुनाए, ‘थुप्रै दृश्य जोडेर एउटै बनाएका थियौं, संवादहरू मिसाएर नयाँ प्रयोग गरेका थियौं ।’


यति भनेर उनी फेरि एक छिन मौन बने । पुरानो समय सम्झे । २०२२ मा ‘परिवर्तन’ बाट फिल्ममा पस्नुअघि पहिलो पटक उनले दीपक अधिकारीको नाटक ‘गरिबको आँसु’ बाट अभिनय थालेका थिए । पछि जर्नादन समले ‘परिवर्तन’ फिल्मलाई नाटकमा ढाले, ‘चेतना’ शीर्षकमा । त्यसमा पनि शाहकै भूमिका थियो । भारतको दार्जिलिङमै पनि नीरले ‘मसान’, ‘एक चिहान’, ‘किसान’ जस्ता नाटक गरेका थिए । पछि ‘मसान’ माथि आफैंले फिल्म बनाए ।


‘मुख्य कुरा अहिले दर्शकको चेतना बढेको छ,’ उनले पुरानो र नयाँ समय दाँजे, ‘अब दर्शकलाई ढाँट्न सकिन्न ।’

प्रकाशित : माघ ८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?