१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फिल्म निर्माण : घोषणा गर्‍यो, हरायो

घोषणामा नै सीमित भएर फिल्म नबनाएको त बरु राम्रो मानेको छु, कतिपयलाई फिल्म नबनाउनुस्, डेढ करोड रुपैयाँ फाइदा हुन्छ भन्दिने गरेको छु । दीपकराज गिरी
घोषणा भइसकेर नबन्दा दबाब महसुस हुँदैन । दर्शकले पर्खेको त हुनसक्छ, तर बन्नैपर्छ जस्तो लाग्दैन । ऋचा शर्मा
सुशील पौडेल

काठमाडौँ — ‘चौका दाउ’ चल्दै गर्दा यसका निर्देशक पूर्णेन्दु झाले तीन वर्षअघि नै निर्माण इजाजत पाएर पनि अगाडि बढ्न नसकेको प्रोजेक्ट ‘अफेयर’ लाई फेरि अघि सारेका छन् ।

फिल्म निर्माण : घोषणा गर्‍यो, हरायो

फेसबुकमा झाले त्यसमा आफ्नै निर्माण/निर्देशन रहने बताए पनि सुटिङै सुरु नहुन्जेल पत्याइहाल्ने अवस्था छैन । फिल्मकर्मीप्रति यस्तो अविश्वास पैदा हुनुमा उनीहरू स्वयं जिम्मेवार छन् ।


नेपाली फिल्म क्षेत्रमा कामभन्दा कुरा बढी हुने गर्छ । ओझेलमा नपरियोस् भनेर पनि कतिपय फिल्मकर्मी ‘गफ’ दिएर मिडिया आकर्षित गरिरहेका हुन्छन् । धेरै निर्माता लगानीको जोहो गर्नुअगावै फिल्म निर्माणको डंका पिट्न हतारिन्छन् । निर्देशक पनि निर्माता तय नहुँदै फिल्म बनाउने उद्घोष गर्न लालायित हुन्छन् ।


कुनै बेला गोपीकृष्ण मुभिजले एकै वर्ष सात/सात फिल्म बनाउने घोषणा ठूलै चमकधमकसहितको कार्यक्रममा त गर्‍यो तर त्यसलाई पूरा गर्न सकेन । ‘गफ’ दिने मामिलामा फिल्मकर्मी माहिर छन् । चलचित्र विकास बोर्डमा फिल्म दर्तै नगरी सिक्वेल बनाउने हल्ला पिट्नु त अचेल स्वाभाविक नै जस्तो भइसक्यो ।


लगानी, पटकथा वा कलाकार निश्चित नहुँदै फिल्म निर्माणको घोषणा पछाडिको मोह किन हुन्छ ?


अभिनेता दीपकराज गिरीको बुझाइ केही फरक छ । भन्छन्, ‘घोषणामै सीमित भएर फिल्म नबनाएको त बरु राम्रो मानेको छु । कतिपय मलाई खेलाउने प्रस्तावसहित आउनेलाई प्रस्टै ‘यो फिल्म नबनाउनुस्, तपाईंलाई डेढ करोड रुपैयाँ फाइदा हुन्छ’ भन्दिन्छु ।’ दीपकराज कुनै निर्माता वा निर्देशकले गर्ने फिल्म निर्माणको घोषणासँग अचेल दर्शकको खासै चासो नहुने बताउँदै थप्छन्, ‘फिल्म बनिसकेपछि आउने ट्रेलरमा नै त दर्शकको खासै चासो देखिएको पाइँदैन भने फिल्म बनाउने घोषणामा झन् के होस् !’


२०७२ देखि २०७५ कात्तिकसम्म झन्डै ६ सय फिल्मका लागि चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ । रिलिजको तथ्यांक हेर्ने हो भने, २०७२ देखि माघ पहिलो सातासम्म झन्डै ३ सय फिल्म मात्र प्रदर्शनमा आएका छन् । तथ्यांक हेर्ने हो भने, झन्डै ५० प्रतिशत फिल्म घोषणामै सीमित रहेको देखिएको छ ।


वर्ष २०६७/६८ मा ५८ डिजिटल र २८ सेल्युलोइड गरी ८६ फिल्मले निर्माण इजाजत लिएकोमा एक वर्षमै बढेर १ सय ४८ फिल्म पुगेका थिए । तीमध्ये १ सय २९ डिजिटल फिल्म निर्माणका लागि इजाजत लिइएका थिए । यसको प्रत्यक्ष कारण, २०६८ पुसमा रिलिज ‘लुट’ लाई मान्न सकिन्छ । उक्त फिल्मको सफलताले धेरै लगानीकर्ता फिल्म निर्माणमा होमिए । यो दर अहिले पनि उत्तिकै छ । वर्ष २०७४/७५ मा मात्र झन्डै २ सय फिल्मले निर्माण इजाजत लिएका छन् ।


निर्माण इजाजत लिएर पनि नबन्ने अधिकांश फिल्म त्यत्तिकै हराउँछन् । तर कतिपय फिल्मकर्मी भने यस्तो घोषणालाई ‘क्यास’ गर्ने दाउमा रहन्छन् । खास गरी एउटा फिल्म रिलिजको संघारमा छँदा त्यसैको सिक्वेल निर्माणको घोषणा खुब चल्तीमा छ । तर जब रिलिज भएकै फिल्मले पोस्टर छपाइको पैसाधरि उठाउन सक्दैन, तब सिक्वेलको खबरसँगै निर्माता पनि हराउने गर्छन् ।


दुई वर्षअघि खासै अपेक्षा नगरिएको फिल्म ‘पुरानो पुस्ता’ की निर्मात्री सावित्री ओली र निर्देशक दीपसागरले उक्त फिल्म रिलिजको संघारमा बोलिदिए, ‘हामी यो फिल्मका अरु चार सिरिजको तयारीमा लागिरहेका छौँ ।’ ‘पुरानो पुस्ता’ त चलेन नै, बाँकी फिल्मको तयारी पनि कहाँ पुग्यो, दुई वर्ष बितिसक्दा पनि अत्तोपत्तो छैन ।


‘फाटेको जुत्ता २’ को घोषणामा निर्माता अर्जुनकुमार (दायाँ) र अभिनेता सौगात मल्ल ।


पहिलो पटक निर्माणमा होमिएको जोसमा अभिनेत्री केकी अधिकारीले ‘कोलहपुर एक्सप्रेस’ को रेस्पोन्स नबुझदै हौसिएर सिक्वेल निर्माणको घोषणा गरिदिइन् । तर पहिलो फिल्मलाई नै चोरीको आरोप लागेपछि केकीको भविष्यको प्रोजेक्ट पनि सेलायो । अर्की अभिनेत्री ऋचा शर्माले पनि ‘सुनकेशरी २’ बनाउने बताइन् ।


हरर जानराको ‘सुनकेशरी’ ले बरु केही पैसा उठाए पनि यसका निर्देशक अर्पण थापा यति बेला अर्को हरर जानराको फिल्म ‘घर’ बनाउन लागिपरेका छन् । निर्मात्री/अभिनेत्री ऋचासँग उनको पहिले जस्तो घनिष्ठ सम्बन्ध नहुनुले सिक्वेल बन्ने गुन्जाइस करिब नरहेको निकटस्थहरू बताउँछन् ।


ऋचा पनि ‘सुनकेशरी’ को कपीराइट मुख्य निर्माता भीम न्यौपानेसँग भएको तर निर्देशक अर्पण र निर्माता नै अहिले ‘पूर्व र पश्चिम’ भएकोले सिक्वेल बन्ने संभावना नरहेको बताउँछिन् । भन्छिन्, ‘त्यो बेला सबैको सहमतीमै सिक्वेल बनाउने घोषणा भएको हो । तर अर्पण ‘घर’ तिर लाग्नुभयो । खासमा त्यही कन्सेप्ट पनि ‘सुनकेशरी २’ हुन सक्थ्यो ।’


घोषणा भइसकेर नबन्दा दबाब कत्तिको अनुभव हुँदो हो ऋचालाई ? उनको जवाफ छ, ‘दबाब महसुस हुँदैन । दर्शकले पर्खेको त हुनसक्छ, तर बन्नैपर्छ जस्तो लाग्दैन । त्यसका लागि सबै कुरा मिल्नुपर्‍यो ।’


पल शाह र पूजा शर्मालाई लिएर बनाइएको ‘म यस्तो गीत गाउँछु’ ले व्यापारिक सफलता हात पारेपछि यसका निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर भनिदिए, ‘यही कलाकारलाई लिएर सिक्वेल बनाउँछु ।’ अझ उनी त सोही जोडीलाई लिएर सम्भवत: डान्सिङ थिमको प्रोजेक्ट ‘डी फर डान्स’ को तयारीमा पनि थिए ।


तर पछि सुदर्शन र पलबीच असमझदारी यति बढिदियो, ती दुइटै प्रोजेक्ट छोडेर सुदर्शन ‘सम्हालिन्छ कहिले मन’ मा लागिपरेका छन् । त्यसै गरी, निर्माता सन्तोष सेनले पनि तामझामसहित ‘दीपेन्द्र सरकार’ बनाउने घोषणा मात्रै गरेनन्, प्रदीप खड्कालाई मुख्य भूमिकामा लिने गरी पत्रकार सम्मेलनमा राजसी ठाँटबाटमा उतार्न भ्याए । तर उक्त प्रोजेक्टलाई थाती राख्दै ‘मेरी मामु’ बनाएका सेन यति बेला चुपचाप छन् ।


यस्तो अभ्यासबारे भर्खरै मात्र ‘प्रसाद’ निर्देशन गरेका दिनेश राउतको भनाइ भने अलि फरक छ । उनी सकभर सिक्वेल बनाउन खोज्दैनन् । ‘मलाई सबैभन्दा मजा नलाग्ने भनेकै सिक्वेल बनाउनु हो,’ राउत कान्तिपुरसँग भन्छन्, ‘हामीकहाँ नाममा दुई थपेपछि सिक्वेल भन्ने चलन छ । त्यसमा न विषयवस्तुको निरन्तरता हुन्छ, न त चरित्रको नै । केवल व्यापारिक फाइदाका लागि मात्रै सिक्वेल भन्नुको अर्थ छैन । बरु ती घोषणामै सीमित भएको राम्रो ।’


सिक्वेल घोषणाको हतारो गर्नुमा भने अभिनेता गिरी फिल्मकर्मीको इगोलाई कारक मान्छन् । ‘सफलताले सिक्वेल घोषणा गर्नु त स्वाभाविक नै हो, तर असफल फिल्मका पनि सिक्वेल घोषणा गर्नु इगो हर्ट भएर म अझै थाकेको छैन भन्नाका लागि मात्रै हो जस्तो लाग्छ,’ उनी भन्छन् ।


‘इगो हर्ट’ ले सिक्वेल घोषणा गर्नेको पंक्तिमा राजेश हमाल अभिनीत ‘वाग्मती’, दयाहाङ राई अभिनित ‘भैरे’, सौगात मल्ल अभिनीत ‘मुखौटा’ लगायत थुप्रै छन् । नेपालबाटै लगानी सुरक्षित गरेको एक्लो दाबी गर्दै ‘भैरे २’ को घोषणा गरेका निर्माता प्रेमप्रसाद पौडेल र साढे चार वर्षअघि ‘मुखौटा २’ घोषणा गरेका निर्माता रविन श्रेष्ठको तयारी कहाँ अडकियो भन्ने खुलेको छैन । त्यसैगरी, अर्जुन कुमारले ‘फाटेको जुत्ता २’ को निर्माण घोषणा कार्यक्रमै सीमित राखे भने निर्मात्री दुर्गिश थापाले लाइनअप तयार भइसकेको भन्दै ‘होस्टेल ३’ बनाउने बताए पनि बन्ने छेकछन्द देखिएको छैन ।


फिल्म घोषणा भएर नबन्नुमा मुख्य गरी दुई कारक देखिएका छन् । एक त, सिक्वेल घोषणा गर्दा चलिरहेको फिल्मको प्रचारमा बल पुग्छ भन्ने ठानिनु । अर्को, घोषणा गरिसकेपछि लगानीकर्ता खोज्न सहज हुने र कलाकारको चासो पनि आफूप्रति बढ्ने लोभ त्याग्न नसक्नु ।

प्रकाशित : माघ १०, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?