१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सार्थक बाटो, धरमर यात्रा

फिल्म समीक्षा
सुशील पौडेल

काठमाडौँ — अभिनेता खगेन्द्र लामिछाने फिल्म छायांकनमा जानु तीन दिनअघि अप्रत्याशित रूपमा ‘गोपी’ बाट हात झिकेका थिए । फिल्म युनिटले खगेन्द्र बाहिरिनुमा ‘रचनात्मक मतभेद’ को कारण दिँदै विपिन कार्कीलाई रातारात अनुबन्ध गरेको थियो ।

सार्थक बाटो, धरमर यात्रा

शुक्रबारदेखि दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ प्रदर्शनमा आएको त छ तर खगेन्द्र बाहिरिनुलाई गलत सावित गर्नबाट चुकेको छ । अथवा, फिल्म रचनात्मक हिसाबले असफल देखिन्छ ।


पढाइमा अब्बल सुधीर (विपिन) स्वदेशमै गौपालन गरी स्वावलम्बी बन्न खोज्दै छ । बैंकबाट ऋण लिएर साझेदारीमा गाईपालन सुरु गर्छ । तर घरका मान्छे सुधीर विदेश नगई स्वदेशमै काम गर्न खोजिरहेकोमा सन्तुष्ट छैनन् । तर ठूलो व्यवधान पनि खडा गरेका छैनन् । लागतअनुरूपको दूधको मूल्य नपाउनु, दानाको भाउ बढ्नु र बैंकले ब्याजदर बढाउँदै लग्नुजस्ता कारणले सुधीर गौपालनलाई अघि बढाउन सक्दैन । सबै गाई बेच्छ ।


परिवार र प्रेमिका सुजाता (सुरक्षा) कै इच्छा मुताविक अमेरिका पढ्न जान तयार हुन्छ । तर फेरि रोकिन्छ । दोस्रोपटक गौपालनका लागि प्रयास गर्छ । यसपटक घर धितोमा नै राखेर झन् ठूलो फार्म खोल्छ । यसपटक सुधीर सफल होला वा नहोला ? प्रेमिका र घरकासँगको सम्बन्ध कहाँ पुग्ला ? यसैको छिपछिपे उत्तर दिँंदै ‘गोपी’ ले बिट मार्छ ।


फिल्म मनोरञ्जन मात्रै हैन । यसले दर्शकमा सकारात्मक ऊर्जा र केही गर्न उत्प्रेरणा पनि जगाउनुपर्छ भन्ने एकथरी ‘स्कुल अफ थट’ छ । यसैको स्कुलिङमा सामीप्यराज तिमल्सेनाले ‘गोपी’ को पटकथा तयार पारेका हुन् । फिल्म मसलेदार फिल्मअनुरूप सूत्रबद्ध छैन । पात्रहरू समाजबाटै टिपिएका स्वाभाविक छन् भने उनीहरूका दिनचर्या पनि आम छ । स्वदेशमा नै केही गर्नुपर्छ, स्वावलम्बी बन्नुपर्छ भन्ने ‘सन्देश’ का हिसाबले कथा प्रशंसायोग्य छ । तर पटकथा त्यसअनुरूप ढल्न नसक्दा फिल्म प्रशंसनीय बन्न सकेको छैन । दृश्यभाषामा ‘गोपी’ कमजोर लाग्छ ।


अघिल्लो दृश्यमा अति सामान्य चिनजानका सुधीर र सुजाताको सम्बन्ध लगत्तैको दृश्यमा कपडा खोल्नेसम्ममा पुग्छ । म्वाइँ खानेसम्म पुग्छ । दर्शक नै अचम्भित हुने गरी प्रेमसम्बन्ध क्षणभरमै गँठिलो भइसक्छ । तर त्यही सम्बन्धको गाँठो फुक्न पनि बेर लाग्दैन । सुधीरको गाईप्रतिको लगाव र विदेशप्रतिको वितृष्णाका कारण सुजाता सुधीरको पछि लाग्न छोड्छे । हरेक पुरुषको सफलतामा एउटी महिलाको हात हुन्छ, भनिन्छ ।


फिल्ममा पनि सुजाताले छोडेपछि सुधीरको जीवनमा उषाको प्रवेश हुन्छ । पशु चिकित्सक उषाले सुधीरका गाईको मात्रै स्याहार गर्दिन, सुधीरको पनि ख्याल गर्न थाल्छे । परिआए आर्थिक सहयोग पनि गर्न तम्सिन्छे । र, यो सम्बन्धले पनि प्रेमको बाटो तय गर्न खासै ठूलो परिश्रम गर्नु पर्दैन । व्यावसायिक दुई, चार भेटघाट नै त्यसका लागि पर्याप्त बनिदिन्छ ।


यसअघि ‘घामपानी’ बनाएर निर्देशनमा पहिलो पाइला चालेका लामा ‘गोपी’ को कमजोर पटकथाको धरातलमा हिँडदा धर्मराएका छन् । धेरै दृश्यहरू समान प्रकृतिका र एउटै कोणबाट खिचिँदा पटयार लाग्ने जोखिम बढी हुन्छ । फिल्ममा अर्को प्लट छ, सुधीरको मामा (अंकित) र घरमा काम गर्ने युवतीबीचको । जुन प्लटको मूलकथासँग कुनै अन्तरसम्बन्ध छैन, केवल मामाको भूमिका बढाउनुबाहेक । कुनै ठूलो आरोहअवरोह र मोडबिना एकसरो रूपमा अघि बढ्ने फिल्ममा पात्रहरू निरस लाग्छन् ।


सुधीर सुरुवातदेखि नै थकित देखिन्छ । केही गर्ने जोस भएको युवाको आवाज गलेको सुनिन्छ । सुजाताको चरित्रले कथामा कुनै ठूलो परिवर्तन ल्याएको छैन भने उषाको चिकित्सकीय पेसा केवल मूल पात्रसँग भेट्टाउनुमा नै सीमित छ । कलाकारका अभिनयमा खोट नभए पनि भूमिका बलियो नबन्दा पात्रहरू सशक्त बन्न सकेका छैनन् । प्राविधिक रूपमा पनि फिल्म अब्बल बन्न सकेको छैन । कथा अघि बढाउन प्रयुक्त गीतले केही राहत भने दिएको छ ।


पहिले बैंकको चर्को ब्याजदरका कारण असफल भएको सुधीर पछिल्लो पटक घर नै धितोमा राखे पनि उक्त समस्यामा परेको देखिन्न । न त त्यसका लागि कुनै बाटो नै उसले खोजेको देखिन्छ । गाई हराउनुलाई बरु नयाँ समस्याका रूपमा देखाइएको छ । यसले फिल्म विषयान्तर हुँदै कथालाई बिट मार्नुमा उद्यत रहेको लाग्छ ।


नेपाल कृषिप्रधान देश भने पनि यहाँ किसान नै चर्को मारमा छन् । उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने तर किसानले बजार भाउ नपाउनु, बिचौलिया धनी हुँदै जानु कृषिमा आश्रित देशका लागि लाजमर्दो विषय पक्कै हो । ‘गोपी’ यी विषयमा प्रवेश गर्न त खोजेको छ, तर भित्रै घुस्न सकेको छैन । दर्शकलाई विषयसँग र पात्रको मनोभावनासँग एकाकार गराउनबाट चुकेको छ । यसमा निर्देशकको गृहकार्य फितलो देखिन्छ ।


एउटा असल विचार लिएर थालिएको भए पनि ‘गोपी’ को यात्रा सार्थक बन्नबाट चुकेको छ । पात्रको लक्ष्य गाई पालेर स्वरोजगार हुने भए पनि त्यसका लागि आउने अवरोध, भोग्नुपर्ने समस्या र समाधानको उचित र चित्तबुझ्दो ग्राफ पटकथामा नदेखिनु फिल्मको सबैभन्दा ठूलो कमजोरी हो ।


गोपी

निर्देशक : दीपेन्द्र लामा

कलाकार : विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा, सरोज अर्याल, प्रकाश घिमिरे आदि

प्रकाशित : माघ १९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?