लालबाबुले रुचाए ‘सयकडा दस’

काठमाडौँ — संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित शनिबार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा देखिए । उनी त्यहाँ फिल्म ‘सयकडा दस’ हेर्न पुगेका थिए ।

लालबाबुले रुचाए ‘सयकडा दस’

भ्रष्टाचारलाई केन्द्रीय विषय बनाएको भन्ने सुनेर पनि मन्त्री पण्डित फिल्म हेर्न उत्सुक भएका रहेछन् । फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।


‘फिल्मले बोकेको विषयवस्तु, त्यसको प्रस्तुतीकरण र दर्शकमा दिने सन्देश तथा मौलिकपना हेर्दा यसलाई राष्ट्रिय फिल्म नै मान्दा फरक नपर्ने रहेछ,’ भ्रष्टाचार विरोधी मन्त्रीको रुपमा चर्चा पाएका मन्त्री पण्डितले फिल्म हेरिसकेपछि भने, ‘भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएकोले पनि फिल्म राम्रो बनेको छ ।’


उनले फिल्म हेर्ने क्रममा आफूलाई पटकपटक भावुक बनाएको उल्लेख गर्दै फिल्मले सरकारलाई समेत भ्रष्टाचारविरुद्ध लाग्न घचघचाउने काम गरेको बताए । भने, ‘भ्रष्टाचार रोक्नका लागि फिल्मले भनेजस्तै सरकार कटिबद्ध छ ।’ त्यसो त उक्त सोमा फिल्म हेर्न मुख्यसचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीको पनि उपस्थिति थियो । फिल्म निर्माण पक्षले भ्रष्टाचारविरुद्धको अभियानमा लागेकालाई फिल्म हेराएको हो ।


फिल्ममा भ्रष्ट सरकारी अधिकृतको भूमिका निर्वाह गरेका कलाकार राजाराम पौडेलले भने अभिनयमा प्रशंसा पाए । खासगरी मन्त्री पण्डितले उनको कामको खुलेर तारिफ गरेका थिए ।


मुख्यसचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमूलक रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए भने अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताउँदै ‘सयकडा दस’ यसका लागि एउटा आदर्श फिल्म भएको तर्क गरे । उनले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकसमेत चेतनशील हुनु जरुरी रहेको बताए ।


फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको अभिनय रहेको छ । रज्जु प्रधानको निर्माण रहेको फिल्मलाई गतसाता थाइल्यान्ड र म्यान्मारमा प्रदर्शन गरिएको थियो 

प्रकाशित : माघ २०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?