कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छहारीमुनि आलुम र भोल्टो 

हाम्रो खानपान

काठमाडौँ — पीपल, अम्बा र सुन्तला बोटको छहारीमुनि मौलिक खानाको स्टल । तामाङ परम्परागत गहना र परिधानमा सजिएकी ब्राह्मण युवतीहरू तामाङ मौलिक आइराक (रक्सी), बाफ (जाँड) र छ्याङसँगै रोटी बाँडिरहेका छन् ।

छहारीमुनि आलुम र भोल्टो 

भित्र सानो हलमा कुलिनरी आर्ट (पाककला) सम्बन्धी बहस हुँदै गर्दा भाषाविद् अमृत योञ्जन फुत्त निस्के । छेवैमा चलिरहेको ‘तामाङ मौलिक खाना चाख्ने उत्सव’ मा पंक्तिबद्ध भए । ‘आलुम र भोल्टो चाख्नुपर्ला’, उनले भने, ‘गाउँको खाना नचाखेको

वर्षौं भयो ।’


योञ्जनसँगै खानपिनमा संलग्न थिए साइकलयात्री पुष्कर शाह, पूर्वराजदूत गणेश योञ्जन, मानवशास्त्री मुक्तसिंह तामाङ, गीतकार भरत बम्जन, काठमाडौंका पूर्वमेयर केशव स्थापित, पुराना लेखक एवं चलचित्रकर्मी सुमन रिमाललगायत ।


शाहले १ सय ५० भन्दा बढी मुलुकको साइकलयात्रा क्रममा आफूले फरक–फरक मुलुक र समुदायको खानपान चाखे पनि पहिलोपटक मुलुकभित्रकै भिन्न मौलिक स्वाद चाख्दै गरेको दाबी पेस गर्दैगर्दा भाषाविद् योञ्जनले भने भोल्टो र आलुमसम्बन्धी दोलखातिर प्रचलित मान्यता सुनाए । उनका थालमा थिए लाम्चो आकारको गहुँको आलुम (पानी रोटी) र कोदोको अन्डाकारको भोल्टो । ‘गौरीशंकरको प्रतीक मानिन्छ यसलाई दोलखातिर’, उनले भने, ‘त्यही भएर यसको आकार यौनको सिम्बोल छ । पुरुष र महिला दुवैको ।’


यो परिकार बनाउँदै गर्दा तामाङ महिलाहरूबीच छेडखानी र हँसीमजाक चल्ने पनि उनले बताए ।


खाना चाख्नुअघि भने उनी भित्र हलमा प्रेमलाल तामाङले लेखेको पुस्तक ‘ओरिजिनल कुलिनरी आर्ट अफ तामाङ कास्ट’ (तामाङ जातिको मौलिक खानपान) माथि बोल्दै थिए । हरेक समुदायको खानासँग उनीहरूको सभ्यता, मौलिक कला, सांस्कृतिक मान्यता र भाषा पनि जोडिएर आउने बताउँदै आधुनिक बजारमा यसको प्रवद्र्धन गर्नुपर्ने उनको राय थियो ।


यही ध्येयले नयाँबानेश्वर चोककै छेउ प्रेमलालले ‘शीतल चौतारी’ नामक मौलिक खानपानको थलो निर्माण गरेका छन्, जहाँ आइतबार ‘तामाङ फुड टेस्टिङ’ हुँदै थियो । पाककला पढाउँदै आएका प्रेमलालसँग दशक लामो सेफको अनुभव पनि छ । कन्टिनेन्टलदेखि नेपाली मौलिक खानासम्म बनाउँदै र पढाउँदै गर्ने क्रममा उनले तामाङ मौलिक परिकारसम्बन्धी अनुसन्धान गरेका हुन् ।


‘पाककलासम्बन्धी नेपाली पुस्तक एकदमै कम छ, त्यसमाथि एउटा समुदायभित्र मात्रै पसेर उनीहरूको मौलिक खानपान खोतल्नु प्रशंसनीय छ’, ६ वर्ष लगाएर प्रेमले अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारेको पुस्तक सार्वजनिक गर्दै पूर्वराजदूत गणेश योञ्जन भन्दै थिए, ‘खाना पकाउने विधिसहितको यो पुस्तक निकै उपयोगी छ ।’


मानवशास्त्री मुक्तसिंहले खानपान र तामाङ सभ्यताको सम्बन्धबारे प्रकाश पार्दै गर्दा बाहिर सिस्नुको झोलको स्वाद लिँदै थिए सेफ लक्ष्मणप्रसाद भण्डारी । उनी सेफहरूकै संस्था ग्लोबल फेडेरेसन अफ नेपालका अध्यक्षसमेत हुन् । ‘कोरियाले लोकल रक्सीलाई सोजुका रूपमा ब्रान्डिङ गर्‍यो र जापानले शाकेको रूपमा’, आइराकको चुस्की लिँदै उनले भने, ‘हाम्रामा प्रहरीले ठाउँठाउँमा समातेर फालिरहेका छन् ।’


सेफ भण्डारीलाई साथ दिँदै पूर्वराजदूत योञ्जनले तर्क गरे, ‘लोकल रक्सीलाई बरु लेभलिङ र टयाक्सको दायरामा ल्याऔं तर पूरै नष्ट गर्नु भनेको मौलिक फुड कल्चरलाई नबुझ्नु हो ।’ पूर्वमेयर स्थापितले कीर्तिपुरे नेवार समुदायको उदाहरण पेस गरे । ‘कीर्तिपुरेहरूले बनाएको तीनपाने रक्सी बीबीसीको फुड सर्भेमा उत्कृष्ट लोकल रक्सीमध्येमा सूचीकृत छ,’ उनले भने, ‘सरकारले पनि विधि बनाएर सूचीकृत गर्नुपर्छ ।’


उत्सवमा ढिँडो, गेङ (रोटी), गुन्द्रुक, सिन्की, छोप, आलुम (पानीरोटी), कुखुरा र सुँगुरको मासुका परिकारदेखि तीन प्रकारका तामाङ पेयपदार्थ राखिएका थिए । केही खानेकुरा भने आधुनिकीकरण गर्नुपर्ने तर्क गरे भाषाविद् योञ्जनले । ‘तामाङ समुदायमा चिनी र सक्खरको पहुँच उतिबेलै भएको भए कोदोको भोल्टो सुक्खा नभई गुलियो हुन्थ्यो होला’, उनले भने, ‘यसलाई नेवार समुदायको योमरीजस्तै मोडिफाइ गर्न सकिन्छ ।’

प्रकाशित : माघ २१, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?